Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च अधिकारीमाथि अनुसन्धान कसरी सुरु भयो ?

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च अधिकारीमाथि अनुसन्धान कसरी सुरु भयो ?


काठमाडौं,भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपाली नागरिकसँग ठूलो रकम उठाएर ठगी गरेको आरोपमा पूर्व एवं वर्तमान राजनीतिक तथा प्रशासनिक उच्च अधिकारीमाथि “थप अनुसन्धान र आवश्यक कारबाही” अघि बढिरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा हालसम्म उक्त मामिलामा जोडिएको भनिएका आठ जना पक्राउ परिसकेका छन् भने पक्राउ पुर्जी जारी भएका अन्य कतिपयको खोजी जारी छ।

सरकारले आरोप लागेकाहरूमाथि ‘ठगी तथा सङ्गठित अपराध’मा मुद्दा चलाउने गरी कारबाही अघि बढाएको अनुसन्धान अधिकारीहरूले  बताए।

शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रवक्ताले हालसम्म कैयौँ जाहेरी प्राप्त भएको र करोडौँ रकम ठगी भएको उजुरी आएको बताए।

उक्त घटनामा मुछिएका केही व्यक्तिले ‘आफ्नो संलग्नता नभएको’ प्रतिक्रिया दिएको कतिपय सञ्चारमाध्यमले जनाएका छन्।
यद्यपि बीबीसीले आरोप लागेका तर पक्राउ नपरेकाहरूसँग गरेको सम्पर्कको प्रयास सफल हुन सकेन।

उक्त घटनालाई लिएर गृहमन्त्रीसहित राजनीतिक दलका नेताहरूले पनि प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

शरणार्थी प्रकरणको पछिल्लो विवरण
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कठायतका अनुसार हालसम्म उक्त मामिलामा जोडिएका भनिएका आठ जना पक्राउ परिसकेका छन्।

त्यसमा बहालवाला सचिवसहित गृहमन्त्रीका सल्लाहकार रहिसकेका व्यक्तिसमेत छन्।

त्यस्तै पूर्वमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवं वर्तमान प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको खबर छ।

रायमाझीले भने सार्वजनिक रूपमै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरिसकेका छन्।यद्यपि उनी हालसम्म पक्राउ नपरेको कठायतले बताए।

 बिहीवार दिउँसो उनले भने, “उहाँ पक्राउ परेको हालसम्म जानकारी आएको छैन। उहाँको छोरालाई चाहिँ पक्राउ गरिएको हो। खोजी कार्य जारी छ।”

यसअघि बुधवार उक्त मामिलामा मुछिएका एक जना बहालवाला सचिव टेकनारायण पाण्डे गिरफ्तार भएका थिए।पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डे यसअघि गृह मन्त्रालयमा थिए।

त्यसअघि मङ्गलवार उक्त प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै बुधवारै प्रहरीले काठमाण्डू उपत्यका बाहिर रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको कठायतले जानकारी दिए।

उनलाई बिहीवार काठमाण्डू ल्याएर अदालतमा पेस गरिने उनको भनाइ छ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘गिरोह चलाएको’ आरोपमा सबैभन्दा पहिले प्रहरीले गत चैत दोस्रो साता तीन जनालाई पक्राउ गरेको थियो।

त्यस बेला मोरङका केशव दुलालसहित सानु भण्डारी र टेक गुरुङलाई प्रहरीले गिरफ्तार गरेको थियो।त्यसपछि प्रहरीले सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलाई पनि पक्राउ गरेको थियो।
कसरी सुरु भयो अनुसन्धान?
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ‘गिरोह’ले ठगी गरेको भन्दै केही मानिसहरू सबैभन्दा पहिले काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको प्रहरी अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा ठगीको गुनासो आएपछि प्रहरीले संलग्नहरूको विवरणसहितको उजुरी दिन उनीरूलाई आग्रह गरेको थियो।

त्यसपछि ठगीमा परेको भनिएका केहीले उक्त कार्यालयमा उजुरी दिएका थिए।काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौर भन्छन्, “सुरुमा उनीहरूले यहाँ आएर हामी ठगियौँ भनेर उजुरी दिनुभयो, त्यसका आधारमा हामीले अनुसन्धान अघि बढाएका थियौँ।”

“उजुरी आएपछि नै यो घटना र गिरोहबारे थाहा भएको हो। सुरुमा ८१ जनाको उजुरी परेको थियो। हामीले आवश्यक अनुसन्धान गरेर काठमाण्डू प्रहरी परिसरलाई बुझाएका हौँ।”

उक्त कार्यालयले टेकुस्थित काठमाण्डू परिसरलाई बुझाएपछि त्यहाँ थप व्यक्तिहरूले उजुरी दर्ता गराए।त्यसपछि प्रहरीले उक्त ‘सञ्जाल’बारे खोजी गर्न थाल्यो। खोजी गर्ने क्रममा उक्त प्रकरणमा बहालवाला र पूर्व उच्च अधिकारीहरूको संलग्नता रहेको कुरा बाहिर आएको हो।

प्रहरीमा उजुरी परेपछि उक्त विषयमा कान्तिपुर दैनिकले त्यसबारे निरन्तर समाचार प्रकाशित गरेको थियो।
हालसम्म कतिले दिए उजुरी?
उक्त प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालका अनुसार उक्त प्रकरणमा हालसम्म २० वटा उजुरी परेका छन्।

उनले भने, “अहिलेसम्म हामीकहाँ २० वटा उजुरी आएका छन्। त्यसमा १०६ जनाको नाम छ।”“सबैले बुझाएको भनी दाबी गरेको रकम २३ करोड २५ लाख देखिएको छ।”

यद्यपि उक्त प्रकरणमा ८ सयभन्दा बढी नेपालीसँग रकम उठाइएको कान्तिपुर दैनिकले लेखेको छ।बिहीवार उक्त पत्रिकाले लेखेको छ, “भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहसँग मिलेमतो गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्व कानुनी पकडमा तानिएको छ।“

रिजालले उक्त प्रकरणमा थप मानिसहरूले उजुरी दिन सक्ने र अनुसन्धान जारी रहेकाले आरोप लाग्ने एवं खोजी गर्नुपर्ने व्यक्तिहरू थपिन सक्ने बताए।

कसरी उठाइयो रकम?
प्रहरी अधिकारीले दिएको जानकारी अनुसार हालसम्मको अनुसन्धानबाट पहिले शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासन दिने समूहले कैयौँ मानिसहरूसँग पटक पटक रकम उठाएको देखिएको छ।

त्यसपछि उनीहरूलाई शरणार्थीको नक्कली परिचयपत्र पनि बनाइदिएको पाइएको छ।गृह मन्त्रालयका अधिकारी र उच्च राजनीतिक नेतृत्वसँग मिलेर उनीहरूले तेस्रो मुलुक पुनर्वासका लागि “छुटेका” शरणार्थीहरूलाई अमेरिका लैजाने भन्दै रकम उठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीहरूको भनाइ छ।

त्यसका लागि एउटा कार्यदल बनाएर उक्त कार्यदलले तयार पारेको प्रतिवेदनको सूचीमा नाम थपेर उनीहरूलाई पठाउने तयारी गरिएको पाइएको अधिकारीहरू बताउँछन्।

तर त्यस्ता छुटेका शरणार्थी लान नपाइने भएपछि तिनलाई रकम फिर्ता नगर्दा ठगीको विवरण बाहिर आएको बताइएको छ।
अब के हुन्छ?
प्रहरीका अनुसार ठगी र सङ्गठित अपराध अन्तर्गत उक्त प्रकरणको मुद्दा अघि बढाइएको छ।

अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ भने आरोप लागेका तर पक्राउ नपरेकाहरूमध्ये कतिपय विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा अदालतमा जानेछ।अदालतबाट दोषी प्रमाणित भएमा आरोप लागेकाहरूलाई ठगी र सङ्गठित अपराध अन्तर्गत कारबाही हुनसक्छ।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया