सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने बताएका छन् । विद्युत् नियमन आयोगको चौथो वार्षिकोत्सव समारोहमा उनले स्वदेशमा विद्युत् खपत क्षमता अभिवृद्धि गरिने बताए ।
“पहिला हाम्रो आवश्यकता पूरा गर्न महत्व दिन्छौँ, घरायसी प्रयोजन, औद्योगिक क्षेत्र, यातायात क्षेत्रमा खपत बढाउन योजनाबद्ध ढङ्गले अगाडि बढ्छौँ”, उनले भने । शतप्रतिशत क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको नीति रहेको जनाउँदै विद्युतीकरणका लागि सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको सहयोग अपरिहार्य रहेको राससलाई बताए ।
विद्युत् क्षेत्रलाई व्यवस्थित बनाउन विद्युत् विधेयक सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कसरी उत्पादन वृद्धि गर्ने, वितरण र व्यापारका लागि पूर्वाधारको व्यवस्था गर्ने भन्ने विषय विधेयकमा समेटिएको जानकारी दिए ।
विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले नेपालको समृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नियामकले आफ्नो भूमिकालाई सबल बनाउँदै लैजानुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोगले नेपालको ऊर्जा क्षेत्रको नियमनमा ध्यान दिनुपर्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइनुपर्ने बताए । ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने दृष्टिकोणलाई पूरा गर्न निजी क्षेत्रका लागि विद्युत् व्यापारको अनुमति दिइनुपर्ने उनको भनाइ छ ।
आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले ऊर्जा क्षेत्रको नियमनका लागि आयोगले एक दर्जन नियामक उपकरण बनाएको जानकारी दिँदै आवश्यक अन्य उपकरण निर्माणको तयारीमा रहेको जानकारी दिए । उनले सञ्चालनमा रहेका आयोजना र प्राधिकरणबीचको विवाद समाधान गर्न आयोगले भूमिका निर्वाह गरिरहेको बताए ।
विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाइ विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्ने, विद्युत् महसुल नियमन गर्न, विद्युत् उपभोक्ताको हकहितलाई संरक्षण गर्न २०७६ सालमा आयोगको स्थापना भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया