Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशरणार्थी प्रकरणमा प्रहरीले किर्तेसम्बन्धी मुद्दा चलाउन किन सिफारिस गरेन ?

शरणार्थी प्रकरणमा प्रहरीले किर्तेसम्बन्धी मुद्दा चलाउन किन सिफारिस गरेन ?


काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि मुद्दा दायर गर्ने अन्तिम तयारीमा आफू पुगेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

तेत्तीस जनाविरुद्ध खासगरी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाउनुपर्ने सिफारिससहित प्रहरीले सोमवार अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

“मुद्दा दायर गर्ने हिसाबले आज [मङ्गवार] हामी निकै अगाडि बढिसक्छौँ,” जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बीबीसी न्यूज नेपालीसँग भने।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरी मुद्दाबारे निर्णय लिन सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको छ।
मुद्दा दायर गर्नका लागि बुधवार अन्तिम म्याद भएकोले सोहीअनुसार आफूहरू लागिपरेको उनले बताए।

कानुनी व्यवस्थाअनुसार सङ्गठित अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान थालेको ६० दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ।

किर्तेको मुद्दा चलाउन किन सिफारिस भएन?
आरोपितहरूद्वारा सरकारी प्रतिवेदनमै हेरफेर भएको विवरणबीच प्रहरीले किर्तेसम्बन्धी मुद्दा चलाउन सिफारिस नगरेकोमा कतिपयले प्रश्न गरिरहेका छन्।

तर नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान गरेको प्रहरीले उक्त मुद्दा चलाउन सिफारिस नगर्ने आफ्नो कदमको प्रतिरक्षा गरेको छ।

“किर्ते गरिएको भनिएको सरकारी प्रतिवेदनको डिजिटल कपी मात्रै पाउन सकियो, ओरिजिनल कपी [मूल प्रति] हामीले फेला पार्न सकेनौँ,” जिल्ला प्रहरी काठमाण्डूका प्रवक्ता सीताराम रिजालले भने।
“डिजिटल कपीलाई आधार मानेर किर्तेमा मुद्दा चलाउन सिफारिस गर्दा ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दा पनि कमजोर हुन सक्ने देखेर हामीले सिफारिस नगरेका हौँ,” उनले थपे।

आफूहरूले आरोपितहरूविरुद्ध किर्तेसम्बन्धी मुद्दा चलाउन सिफारिस नगरे पनि सरकारी वकिलको कार्यालयले चलाउन सक्ने रिजालको भनाइ छ।

सरकारी वकिलको कार्यालयले पनि त्यसो सम्भावनालाई नकार्न नसकिने सङ्केत गरेको छ।“हेर्नूस् मुद्दा चलाउनुअघि आज त हाम्रो मौन अवधि हो। तर केके मुद्दा चलाउने वा नचलाउने अधिकार सरकारी वकिलको कार्यालयसँग पनि हुने भएकोले त्यसलाई नकार्न सकिन्न,”हन्यायाधिवक्ता नेउपानेले भने।

सरकारी प्रतिवेदनको मूल प्रति नभेटिएकाले किर्तेसम्बन्धी मुद्दा चलाउने सम्भावना आधाआधा भएको कतिपयले तर्क गरेका छन्।

“डिजिटल कपीको आधारमा त त्यसमा मुद्दा चलाउन गाह्रो हुन्छ। तर प्रहरीले थप अनुसन्धानको लागि बाटो खुलेको बताइरहँदा भोलि गएर प्रमाण फेला पर्‍यो भने किर्तेमा पनि मुद्दा चल्न सक्छ,” फौजदारी कानुनका जानकार रजितभक्त प्रधानाङ्गले  भने।

प्रहरीको सिफारिसमा के छ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।

प्रवक्ता रिजालका अनुसार काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सिफारिस गरेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा दुई पूर्वमन्त्री र एक बहालवाला सचिवसहित अधिकारीहरू र उक्त ‘गिरोह’मा संलग्न भनिएका व्यक्तिहरू छन्।
उनीहरूविरुद्ध सोमवारसम्म ११३ जनाले २२ वटा उजुरी दिएको रिजालले बताएका छन्।

उक्त प्रकरणमा संलग्नताको आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना प्रहरी हिरासतमा छन्।

पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको जनाएको छ।

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो?
८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया