Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमजदुर र विपन्नलाई राहत वितरण

मजदुर र विपन्नलाई राहत वितरण


धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख २२
भीमदत्त नगरपालिकाले सात हजार मजदुर र विपन्न परिवारलाई राहत वितरण गरेको छ । विश्वभरमा महामारीका रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

भीमदत्त नगरपालिकाले संघीय सरकारले निर्देशन गरेअनुसार एकद्वार नीतिअनुरुप नै राहत वितरण गरिरहेको नगरपालिकाका कार्यकारी अधिकृत हरि सिंह धामीले बताए । सबै वडामा रहेका विपन्न, असहाय र दैनिक ज्याला मजदुरी गर्ने परिवारको तथ्यांक संकलन गरी एकद्वार प्रणालीमार्फत राहत प्रदान गरिएको उनको भनाइ छ ।

नगरपालिकाले राहतमा चामल, दाल, तेल, नुन, साबुन, लगायतका सामग्रीहरु वितरण गरेको छ भने यसका साथै विभिन्न स्वास्थ्य सामग्रीहरु समेत भीमदत्त नगरपालिकाले वितरण गरेको छ । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने मापदण्ड बनाएपछि गत चैत अन्तिम सातादेखि नगरपालिकाले राहत संकलन र वितरण सुरु गरिएको थियो । भीनपा ११ का वडा अध्यक्ष प्रेम प्रसाद जैसीको नेतृत्वमा राहत वितरणका लागि समिति गठन गरी कार्य सुरु गरिएको थियो ।

भीमदत्त नगरपालिकाका १९ ओटै वडाका ६ हजार ७ सय ७१ परिवारलाई राहत वितरण गरिएको छ । भीनपा कार्यालयका अनुसार राहत पाउनेमा वडा नं. १ मा ३ सय १० परिवार, वडा नं. २ मा एक सय ३५ परिवार, वडा नं. ३ मा ३ सय २५ परिवार, वडा नं. ४ मा ७ सय ७६ परिवार र वडा नं. ५ मा ३ सय ७६ परिवारले राहत पाएका छन् ।

यसैगरी वडा नं. ६ मा ३ सय २० परिवार, वडा नं. ७ मा ४ सय परिवार, वडा नं. ८ मा २ सय परिवार, वडा नं. ९ मा ४ सय ९० परिवार, वडा नं. १० मा ७ सय परिवार, वडा नं. ११ मा १ सय ८० परिवार, वडा नं. १२ मा १ सय ७५ परिवारले राहत पाएका छन् । यसैगरी भीनपा वडा नं. १३ मा १ सय ४४ परिवार, वडा नं. १४ मा १ सय ३४ परिवार, वडा नं. १५ मा १ सय ४५ परिवार, वडा नं. १६ मा एक सय परिवार, वडा नं. १७ मा एक सय परिवार, वडा नं. १८ मा १ हजार ६ सय परिवार र १९ मा १ सय ६१ परिवारलाई राहत वितरण गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले लकडाउनका कारण समस्यामा परेका विपन्न, मजदुर परिवारलाई राहत दिने नीतिअनुसार सबै वडाबाट तथ्यांक संकलन गरी राहत उपलब्ध गरिएको बताए । नगरपालिका कार्यालयले विभिन्न क्षेत्रबाट सहयोग स्वरुप आएको र खरिद गरी लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराएको हो ।

विभिन्न संघ/संस्थाले नगरपालिकालाई खाद्यान्नलगायतका राहत सामग्री सहयोग गरेका थिए । कोरोना रोकथामका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा विभिन्न क्षेत्रबाट नगद सहयोग समेत संकलन गरिएको छ । नगरपालिकाले पाँचौँ नगर सभाबाट विपद् व्यवस्थापनका लागि कोष स्थापना गर्ने निर्णयअनुसार विपद कोषमा नगरपालिकाबाट ६१ लाख जम्मा गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया