Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेशमा रहेका नागरिक स्वदेश फर्काउने विषयमा गृहकार्य सुरु मन्त्रीहरुलाई जिम्मेवारी

विदेशमा रहेका नागरिक स्वदेश फर्काउने विषयमा गृहकार्य सुरु मन्त्रीहरुलाई जिम्मेवारी


काठमाडौं, जेठ ८
विदेशमा रहेका नागरिकहरु फिर्ता ल्याउनको लागि निरन्तर दबाब परेपछि सरकार यसको गृहकार्यमा जुटेको छ । कोरनो भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले विदेशमा रहेका नागरिक स्वदेश ल्याउन विषयमा मंगलबारको बैठकमा पनि छलफल गरेको छ । यसअघि बसेका बैठकहरुमा पनि छलफल चले पनि कहिले विदेशमा रहेका नेपाली स्वदेश फर्किन पाउँछन् भन्ने विषयमा भने आजसम्म कुनै ठोस निर्णय हुनसकेको छैन ।

बैठकको बारेमा जानकारी दिँदै समितिका सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले विदेशमा रहेका नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने तथा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको बताए । ‘कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण विदेशमा रहेका नागरिकहरुलाई कसरी स्वदेशमा ल्याउने तथा स्वदेशमा ल्याएपछि कसरी व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो’, उनले भने, ‘फर्किन चाहने नेपालीको संख्या ठूलो हुदाँ वर्गीकरण गरी ल्याउन आवश्यक भएको विषयले बैठकमा प्राथमिकता पाएको थियो ।’

स्वदेश फिर्ता भएपछिको अवस्थामा उनीहरुको प्रदेशमा गरिने व्यवस्थापनको लागिभने संघीय मन्त्रीहरुलाई जिम्मेवारी दिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए । उनले प्रदेश १ का लागि भौतिकमन्त्री वसन्त नेम्वाङ, प्रदेश २ का लागि श्रममन्त्री रामेश्वर राय यादव, वाग्मती प्रदेशका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशका लागि भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ का लागि ऊर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेशका लागि वनमन्त्री शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशका लागि बिना मगरलाई जिम्मेवारी दिएको बताए ।

मन्त्री भट्टले विदेशबाट फर्काउने र फर्किसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताउँदै व्यवस्थापनको लागि जिम्मेवारी तोकिएको बताए । उनले व्यवस्थापनको विषयमा करिब एक महिना अघि बसेको बैठकले निर्णय गरे पनि स्वदेश ल्याउने योजनाको विषयमा भने मंगलबारको बैठकमा छलफल भएको समेत बताए । ‘जिम्मेवारी दिएसँगै उहाँहरुले व्यवस्थापन तथा सो प्रदेशबाट विदेशमा रहेका नागरिकको यथार्थ जानकारी लिन समेत सहज हुनेछ’, उनले भने, ‘यस्तै दूतावासहरुले समेत प्रक्रिया अघि बढाएका छन् ।’

मन्त्री भट्टले समितिले स्वदेश फर्काउने विषयमा सबै पक्षसँग सल्लाह सुझाव लिई कार्यविधि निर्माण गरी मन्त्रिपरिषद्मा पेश गर्ने तयारी समेत गरिएको बताए । ‘समिति विदेशमा भएका नागरिक फिर्ता ल्याउनको लागि विभिन्न मुलुकमा रहेका राजदूतावास तथा नियोगहरुसँग समन्वय गरी अघि बढेको छ’, उनले भने, ‘सबै पक्षको सरसल्लाह लिई अघि बढ्नेछौँ ।’ यसैबीच दूतावास तथा नियोगहरुले फर्किन चाहने नेपालीहरुको तथ्यांक संकलनलगायतको प्रक्रिया अघि बढाएका समितिले जनाएको छ ।

सरकारले विदेशमा रहेका सम्पूर्ण नागरिक तत्काल ल्याउन सम्भव नहुने बताउँदै आएको छ भने परराष्ट्र तथा श्रम मन्त्रालयले चरणबद्ध रुपमा वर्गीकरण गरेर आफ्ना नागरिक ल्याउने बताउँदै आएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट टिम (सीसीएमसी)ले तयार पारेको प्रस्तावित योजनामा १३ लाख तथा श्रम मन्त्रालयले झण्डै पाँच लाख नेपाली फर्किन चाहेको बताएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया