Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्युतको डिमान्ड शुल्क मिनाहा गर्न आग्रह

विद्युतको डिमान्ड शुल्क मिनाहा गर्न आग्रह


पोखरा, असार १०
पश्चिमाञ्चल होटल सङ्घ (हान) पोखराले लकडाउनले समस्यामा परेको भन्दै विद्युत्को डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को महामारीसँगै जारी लकडाउनका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै सङ्घले त्यस्तो आग्रह गरेको हो । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सोमबार नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय गण्डकी प्रादेशिक कार्यालय पोखरा पुगेको होटलकर्मीको टोलीले व्यवसाय ठप्प भएका कारण डिमान्ड शुल्क मिनाहा भए केही राहत हुने भन्दै निर्देशनालयका प्रमुख टेकनाथ तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अध्यक्ष तुलाचनले आगामी आर्थिक वर्षको बजेट आउनुअघि नै उल्लिखित आग्रहसहित केही मागहरु होटल क्षेत्रका तर्फबाट सरकारलाई बुझाएको भए पनि सम्बोधन हुन नसकेको भन्दै विद्युतको डिमान्ड शुल्क हटाउन प्राधिकरणको सम्बन्धित विभागको ध्यानाकर्षण गराएको बताए । होटल क्षेत्रलाई उद्योगको मान्यता दिइएको भनिए पनि सेवा सुविधा र सहुलियतमा भने सरकारका तर्फबाट सो अनुसारको व्यवहार नगरिएको उनको गुनासो थियो । यसैगरी खपत भएको विद्युत्को महसुल तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो शुल्क अवस्था सामान्य भएपछि तिरे हुने व्यवस्थाका लागि समेत व्यवसायीले प्राधिकरण समक्ष आग्रह गरेका थिए ।

गण्डकी अञ्चल प्रादेशिक प्रमुख तिवारीले व्यवसायीका आग्रह र मागहरु आफूले सम्बन्धित निकायमा सम्प्रेषण गर्ने प्रतिबद्धता जनाए । होटल र सिङ्गो पर्यटन क्षेत्र अहिले कठिन अवस्थाबाट गुज्रिएकोप्रति आफू जानकार रहेको भन्दै उनले व्यवसायीले सहुलियतको कुरा उठाउनु जायज भएको बताए । सो अवसरमा व्यवसायीले बैंकको ऋण, ब्याज र अन्य किस्ताहरु तिर्नुपर्दा होटल क्षेत्र घाटाको अवस्थामा रहेको, सरकारले सहुलियतको कुनै पनि कार्यक्रम ल्याउन नसकेको र सरकारका तर्फबाट शुल्क र करका सन्दर्भमा अन्य सामान्य अवस्थामा जस्तो व्यवहार गर्न खोजिएको भन्दै गुनासो गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया