Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१९ परिवारका सपनासँगै बगे २० घर

१९ परिवारका सपनासँगै बगे २० घर


आशिष बहादुर सिंह
बझाड., असार २३
गत माघमा छोराछोरीको पढाइ खर्च र घरायसी खर्चको जोहो गर्ने सपना बोकेर केदारस्युँ गाउँपालिका–८ मल्लेसीका कटे जेठारा भारत गए । उनी अहिले पनि भारतमै छन् । गाउँघरमा आम्दानीको बाटो केही पनि नहुने र खेती किसानीले खान नपुग्ने भएपछि उनी घरखर्च चलाउन र छोराछोरीका लागि एकजोर नयाँ लुगाकपडा ल्याउने सपना बोकेर रोजगारीका लागि भारत पुगेका थिए । तर उनको सपना अधूरै रह्यो ।

गएको शुक्रबार बेलुकी पहिरोमा परेर कटेको परिवारका सबै सदस्यले ज्यान गुमाए । उनकी ४१ वर्षीया श्रीमती राममती देवी जेठारा, १६ र ७ वर्षीया छोरी शान्तिकुमारी र अश्मिता जेठारा र ११ वर्षीय छोरा प्रयाग जेठाराको एउटै चिहान भयो । राति सबै सुतिरहेको बेला घर माथिबाट आएको पहिरोबाट कोही पनि बच्न सकेनन् । राति १ बजेतिर गाउँमा कोलाहल मच्चियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । रातिको समय ढुङ्गा खसेको आवाज सुनेर स्थानीय जय जेठारा घरबाहिर निस्किए । हातमा टर्चलाइट बोकेर गाउँमाथि गए । पहिरो जाने संकेत पाएपछि उनले गाउँलेलाई जानकारी गराए । त्यसपछि सबै जना त्यहाँ बाट भागे । तर राममती भने भाग्न पाइनन् । उनी एक्लै भएको भए सायद भाग्न सफल हुन्थी होलिन् ।

गाउँलेहरु भन्छन्, ‘छोराछोरीलाई ब्युँझाएर सँगै बाहिर निस्किन खोज्दा सबैको एउटै चिहान भयो ।’ राममतीको पहिरोमा पुरिएको शव निकाल्दा उनको हातमा टर्चलाइट पनि भेटिएको थियो । उनकै घरमा सुत्न आएकी नवराज जेठाराकी १५ वर्षीया छोरी सन्तु जेठाराको समेत त्यहीँ पुरिएर ज्यान गयो । नवराज जेठारा र कटे जेठारा भाइ–भाइका छोरा हुन् । परिवारका सबै सदस्यको पहिरोमा परेर ज्यान गएपछि कटे अब एक्लो भए । यस्तै ८० वर्षीय दले जेठारा पनि भाग्न नसकेर पहिरोमा परे । उनकै घरका अरु सदस्यहरुले भने भागेर ज्यान बचाउन सफल भए ।

यस्तै २० वर्षीय गिरिजा जेठारा अहिलेसम्म बेपत्ता छन् । उनीसँगै रहेका राजेश जेठाराले भने आफू हाम फालेर ज्यान बचाउन सफल भएको बताए । ‘घर माथिबाट पानी आउनथालेपछि पानी आउने बाटो बन्द गर्न गिरिजा र म सँगै गएका थियौं, गाउँ जान थालेको पानीलाई यताउता सोझ्याउने काम गरिरहेका थियौँ’, राजेशले भने, ‘अचानक भूकम्प आएजस्तो भयो र हल्लिएर जमिन नै उठेपछि मैले नजिकैको एउटा बेरुको रुखतर्फ हाम फालेर त्यही रुखमा झुण्डिएर ज्यान बचाएँ तर गिरिजालाई भने पहिरोले कहाँ लग्यो पत्तै भएन ।’ पहिरोले २० घरमा क्षति गरेपछि ती परिवारका मान्छेलाई कहाँ बस्ने, के खाने भन्ने समेत ठेगान छैन ।

मल्लेसी जेठाराहरुको बाहुल्यता भएको गाउँ हो । पहिरोले चनि जेठारा, गम्भीरे जेठारा, सुरेश जेठारा, दमन जेठारा, जय जेठारा, कैले जेठारा, मान्या जेठारा, गजेन्द्र जेठारा, गणेश जेठारा, ओकील जेठारा, अम्मर जेठारा, इन्द्र जेठारा, लोक जेठारा, दिपक जेठारा, गोरे जेठारा, जय जेठारा, धनु जेठारा, सन्तोस जेठारा, कटे जेठाराको घर बगाएको छ । जय जेठाराका भने २ वटा घर रहेका थिए । १९ परिवारका २० घर बगाएपछि उनीहरुलाई अहिले नवादेव प्रावि मेल्लेसीमा राखिएको केदारस्युँ गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले बताए ।

यस्तै पहिरोमा परेर २२ वटा भैंसी, २४ वटा गाई–गोरु र ६५ वटा बाख्रा पहिरोमा पुरिएका छन् । आफूसँग भएको सम्पत्ति पहिरोमा पुरिएपछि गाउँलेहरुमा थप बिचल्लीमा छन् । ‘सम्पतिको नाममा जीवनभर आर्जन गरेको सानो घर थियो, त्यही पनि पहिरोले बगाएर लग्यो’, पीडित गम्भीरे जेठाराले भने ‘खाने खेत पनि पहिरोमा पुरियो, अब कसरी खुट्टा टेक्ने भन्ने चिन्ता छ ।’

पहिरोमा पुरिएका ६ जनाको सनाखत भइसकेपछि गाउँलेहरुले सामुहिक रुपमा दाह संस्कार गरेका छन् । श्रीमतीसहीत २ छोरी र १ छोरी गुमाएका कटे जेठारा भारतको बंलोरबाट टेलीफोन गर्दै आफु घर आउने तयारीमा रहेको जानकारी दिए । पहिरोमा घर पुरिएर बिचल्ली भएका परिवारहरुलाई वरपरका छिमेकीहरुले खानाको बस्नको बन्दोबस्त मिलाइरहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x