Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदैजी बेल्डाँडी सडकको बल्मामा पुल नबन्दा यात्रुलाई सास्ती

दैजी बेल्डाँडी सडकको बल्मामा पुल नबन्दा यात्रुलाई सास्ती


धनबहादुर जप्रेल
कञ्चनपुर, साउन १८
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी जोड्ने दैजी बेल्डाँडी सडकमा पर्ने बल्मा नदीमा पुल नबन्दा वर्षायाममा आवतजावत गर्ने यात्रुहरुले सास्ती भोगिरहेका छन् । जिल्लाको वेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माण नहुँदा दक्षिणी क्षेत्रका तीन तहका बासिन्दाले सास्ती खेप्नुपरेको स्थानीयहरुको गुनासो रहेको छ ।

अहिले वर्षामा खोला बढेपछि उक्त क्षेत्रमा जोखिम मोलेर आउजाउ गरिरहेका छन् । पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा खोलामा दैनिक रुपमा आउजाउ गर्दै आइरहेका छन् । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जोड्ने यो बाटो छोटो दूरीको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का भए पनि हालसम्म उक्त पुलको निर्माणकार्य सकिएको छैन ।

ठेकेदारले पुल बनाउने क्रममा खोलामा बनाएको स्लेभ भत्किएपछि झन् समस्या उब्जिएको छ । हाल उक्त पुल अधूरो रहेको छ । हुलाकी राजमार्गमा पर्ने यो पुलको निर्माणमा ठेकेदारको गम्भीर लापरबाही देखिएको छ । ठेकेदारको लापरबाहीले पुल निर्माण ढिलो हुनपुगेको छ । खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला तर्नुपरेको छ ।

पुल क्षेत्रका बासिन्दाले मान्छे, सवारीसाधन र समान तार्न एक सयदेखि तीन सयसम्म लिने गरेका छन् । चार वर्षअघि एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । त्यसपछि दुई वर्ष म्याद थप गरिए पनि पूरा भएको छैन । पुल निर्माण सम्झौता भएपछि वेदकोट नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधि समेत पुल निर्माणमा अनविज्ञ छन् । वेदकोटका जनप्रतिनिधिले पुल निर्माणसम्बन्धी सोधपुछ समेत नगरेको सडक डिभिजन कार्यालयका एक अधिकारीले बताए ।

वेदकोट नगरपालिकाको भत्किएको स्लेभ मर्मतमा समेत ध्यान पुगेको छैन । स्लेभ भत्किएर बनेको खाल्डोमा दैनिक सवारीसाधन फस्ने गरेका छन् । महेन्द्रनगरबाट दक्षिण क्षेत्र जाने सवारीसाधन पनि बाढीको समयमा किनारमा बस्ने गरेका छन् । ती सवारी पानीको सतह घटेपछि मात्रै गन्तव्य जाने गरेका छन् । ९७ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि छ करोड ८० लाखमा ठेक्का दिइएको छ । बल्मा खोला खोलाले वेदकोट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई छ्टयाएको छ । खोला तर्ने बासिन्दा वेदकोट नगरपालिकासित आक्रोशित हुने गरेका छन् । ‘यस्तो समस्या छ, यतिका मान्छे आउँछन्, यो नगरपालिकालाई केही मतलब छैन’, बेलौरीका पुरन चौधरीले आक्रोश पोख्दै भने ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया