Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखोटाङमा पुनः २६ करोड ५९ लाख बढी बजेट प्राप्त

खोटाङमा पुनः २६ करोड ५९ लाख बढी बजेट प्राप्त


खेमराज अधिकारी
खोटाङ, पुुस ७
राष्ट्रिय योजना आयोगले खोटाङका लागि २६ करोड बढी बजेट उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि समपूरक र विशेष अनुदानबापत १४ वटा योजनामा सञ्चालन गर्ने गरी २६ करोड ५९ लाख १२ हजार नौ सय २८ रूपैयाँ बजेट उपलब्ध गराएको हो । राष्ट्रिय योजना आयोगका अनुसार समपूरक अनुदानमार्फत पूर्वाधार क्षेत्रमा बाक्सिला सप्तेश्वर कादेल सडकका लागि एक करोड ३६ लाख, विद्युत् विस्तार बाहुनीडाँडा एक करोड ७७ लाख, बाटोफेदी मोटरेवल पुलका लागि एक करोड १२ लाख, विद्युत् सेवाबाट वञ्चित रहेका क्षेत्र र समुदायमा विद्युत् सेवा सुविधा उपलब्ध गराउने योजना तथा कार्यक्रममा ६८ लाख रूपैयाँ, बाराहा पोखरी तालको चारैतिर पदमार्ग निर्माणका लागि २७ लाख रूपैयाँ र पोखरी क्षेत्रभित्र भवन निर्माण शीर्षकमा २१ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र शीर्षकअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाअन्तर्गत वडा कार्यालय भवनहरू निर्माण आयोजनामा एक करोड २५ लाख रूपैयाँ र गाउँपालिका भवन निर्माणका लागि ७१ लाख रूपैयाँ छुट्याइएको छ भने समपूरक कोषअन्तर्गतकै आर्थिक क्षेत्र शीर्षकमा इन्द्रेणी पोखरी पर्यटन क्षेत्र विकासमा २२ लाख रूपैयाँ छुट्ट्याइएको छ । यस्तै आयोगले विशेष अनुदानअन्तर्गत शिक्षा शीर्षकमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्र न्यून साक्षरता भएका क्षेत्रको शैक्षिक विकासका लागि विद्यालय क्षेत्र पूर्वाधार सुधार आयोजनाअन्तर्गत दुई करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ । खानेपानी शीर्षकमा लिच्किराम्चे खानेपानी योजना खोटेहाङ ९ का लागि २५ लाख, जन्तेढुङगा खानेपानी योजना एक करोड, रावाबेशी गाउँपालिकामा ठाडोखोला हरमटार मुहान, खार्पा खानेपानी योजना, पालिकास्तरीय खेल मैदान शीर्षकमा ५० लाख, खोटेहाङ गाउँपालिकामा फोहोर मैला व्यवस्थापनका लागि २० लाख रूपैयाँ छुट्ट्याइएको योजना आयोगको आधिकारिक वेबसाइडमा उल्लेख गरिएको छ ।

राष्ट्रिय योजना आयोगबाट खोटाङमा थप बजेट विनियोजन भएपछि खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘बजेट प्राप्त हुनु सानो कुरा हुँदै हैन, तर अझ ठूलो कुराचाहिँ समयमै पारदर्शी र गुणस्तरीय काम हो । यसमा स्थानीय तहको यथोचित ध्यान जानुपर्छ ।’ भन्दै सचेतताको लागि आग्रह समेत गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया