Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुल्न थाले स्कुल

खुल्न थाले स्कुल


सुबास बस्नेत 
दोलखा ।
करिब आठ महिनादेखि कोरोना भाइरसका कारण बन्द भएका दोलखाका निजी तथा सामुदायिक विद्यालय बिस्तारै खुल्न थालेका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न अनुमति दिएपछि दोलखाका विद्यालय सुचारु हुन थालेका हुन् ।

हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो । दोलखाका निजी तथा सामुदायिक विद्यालयले यतिबेला आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा ११ र १२ को परीक्षा लिने तर्खरमा जुटेका छन् । कोरोना भाइरसको कारण चैतदेखि सुनसान बनेका करिब चार सय सामुदायिक विद्यालय अहिले धमाधम परीक्षा तोक्न र परीक्षा सुरु गर्न थालेका छन् । सरकारले कोरोना भाइरसको सन्त्रासका कारण यो वर्ष कक्षा ११ र १२ को वार्षिक परीक्षा विद्यार्थीले अध्ययन गरेकै विद्यालय लिन पाउने जिम्मेवारी दिएको थियो ।

सोहीअनुसार दोलखाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयले परीक्षा सञ्चालनको तयारी थालेका हुन् । दोलखाका स्थानीय तहहरूले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनसम्बन्धी कार्यढाँचा र मापदण्ड तयार गरेर सबै विद्यालय सुचारु गर्न निर्देशन समेत दिएका छन् । जिल्लाभित्र आगामी मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै छ भने ११ कक्षाको परीक्षा धेरै विद्यालयले सम्पन्न गरिसकेको जनाएका छन् । कतिपय विद्यालयले ११ कक्षाको परीक्षा कक्षा १२ सँगै लिने तयारी गरेका छन् ।

जिल्लाको बैतेश्वर गाउँपालिका रहेका हनुमतेश्वर उच्चमाध्यमिक विद्यालय, कालढुङ्गा माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षा कात्तिक महिनाभित्र सम्पन्न गरेको र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । त्यसैगरी सदरमुकाम चरीकोटमा रहेका गौरीशंकर बहुमुखी क्याम्पस र कालिञ्चोक माध्यमिक विद्यालयले पनि कक्षा ११ तथा १२ को परीक्षा सञ्चालनको तयारी पूरा गरेको जनाएको छन् । जिल्लाका अन्य विद्यालयले पनि कक्षा र परीक्षा सञ्चालनको तयारी थालेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया