Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेँसीसहर खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा

बेँसीसहर खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा


लमजुङ ।
लमजुङ जिल्लाको बेँसीसहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण कार्य अघि बढाइएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ । आयोजनाको इन्जिनियर आशिष शर्माले बेँसीसहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र पूर्णरूपमा सम्पन्न हुने बताए ।

भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेँसीसहर बजारसम्म पाइपलाइनमार्फत वितरण गर्ने योजनाअनुसार उक्त आयोजनाको काम सुरु गरिएको हो । ‘आयोजनाका मुख्य–मुख्य कामहरू सबै सकिएको छ’, इन्जिनियर शर्माले भने– ‘बजारक्षेत्रमा पाइप लाइन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्रे हुने कार्य भइरहेको छ । पानीट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ ।’ यस आयोजनाबाट २७ सय घरधुरीमा २४सै घण्टा खानेपानी वितरण गर्ने तयारी भइरहेको उनले बताए ।

उक्त आयोजनाअन्तर्गत पाँच लाख लिटर, तीन लाख लिटर र एक लाख लिटर क्षमताका तीनवटा पानीट्यांकीको निर्माण सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । बेँसीसहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताए । बेँसीसहर नगरपालिका वडा नम्बर ७, ८, ९ र १० का जनतालाई खानेपानी पु¥याउने योजनासहित तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजना प्रमुख झाले जानकारी दिए ।

झाले खानेपानी मन्त्री बिना मगरबाट आयोजनाको उद्घाटन गर्ने योजना रहेको बताए । यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भइसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेँसीसहरवासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने उपभोक्ता समितिको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया