Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्थानीय तहले छाउगोठ भत्काइदियो घरभित्र बस्न परिवारले दिँदैनन्

स्थानीय तहले छाउगोठ भत्काइदियो घरभित्र बस्न परिवारले दिँदैनन्


बझाड. ।
साइपाल गाउँपालिकाले छाउगोठ भत्काइदिएपछि महिलालाई महिनावारी भएको बेला समस्या हुने गरेको छ । पालिकाले छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला खुला चौरमा बस्न बाध्य भएका छन् । यहाँका महिलाहरूलाई महिनावारी भएका बेला परिवारले कुलदेवता रिसाउँछन् भनेर घरभित्र बस्न नदिने, दही, दुध, फलफूल खान नदिनेजस्ता कार्य गर्दै आइरहेका छन् । स्थानीय उजली बोहोराले भनिन्, ‘छाउगोठमा बसे गाउँपालिकाले भत्काउँछ, घरपरिवारले देवता रिसाउँछन् भनेर घरभित्र बस्न दिँदैनन् । म छाउ भएका बेला कहिले ओढार त कहिले खाली आकाशमा रात बिताउने गर्छु ।’

यो साइपाल गाउँपालिकाको मात्रै पीडा हैन बझाङका अधिकांश ग्रामीण भेगमा महिलाले यस्तो समस्या भोग्दै आएका छन् । गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरेपछि महिलालाई झनै समस्या थपिँदै गएको स्थानीय महिला बताउँछन् । ‘छाउपडी प्रथा उन्मूलन गर्न पालिकाले छाउगोठ भत्काएर मात्रै हुँदैन, मानिसमा चेतना नहुँदासम्म छाउपडी प्रथा उन्मूलन हुन सक्दैन’, स्थानीय तिलक विकले भने । गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले छाउपडी प्रथामा केही सुधार आउँछ कि भनेर छाउगोठ भत्काइएको र केही ठाउँमा सुधार पनि भएको छ बताउँछन् ।

यद्यपि यहाँ छाउपडी प्रथा नमान्ने समुदाय पनि छ । यहाँका तामाङ समुदायले भने छाउ मान्दैन । यस समुदायका महिलाहरू महिनावारी भएका बेला घरभित्र नै बस्ने गरेका छन् । स्थानीय पूजा तामाङ भन्छिन्, ‘हामी महिनावारी भएका बेला घरभित्रै बस्छौँ, दही, दुध, मही, घिउ खान्छौँ त्यस्तो कुनै रोकतोक हुँदैन ।’ यस्तै डोल्मा तामाङ पनि छाउ भएका बेला खाना आफैंले पकाउने, परिवारसँगै बसेर खाने, बस्ने गरेको बताउँछिन् । महिनावारी भएको बेलामा मन्दिर तथा गम्वामा पूजा मात्रै नगर्ने उनले बताइन् । साइपाल गाउँपालिकामा बसोबास गर्ने समुदाय छाउ मान्ने र नमान्ने दुवै छन् । यहाँका लामा, तामाङ समुदाय महिनावारी भएका बेला घरभित्र बस्ने र अन्य जातिले छाउगोठ, ओढार, खुला आकाशमुनि बस्ने गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया