Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमाघे संक्रान्तिको रौनक, कन्दमूलले भरिए बजार

माघे संक्रान्तिको रौनक, कन्दमूलले भरिए बजार


दोलखा ।
माघे संक्रान्तिको रौनक सबैतिर लागेको छ । माघे संक्रान्तिमा विशेष परिकारको रूपमा खाइने कन्दमूलले यतिबेला बजार भरिएको छ भने किनबेच गर्ने मान्छेहरुको समेत घुइँचो लागेको छ । दोलखा सदरमुकाम चरीकोट बजारमा बुधबार बिहानदेखि नै तरुल तथा कन्दमूल किनबेच गर्ने मानिसले भरिभराउ छ । माघी पर्वको लागि चाहिने भएकोले वनतरुल, घरतरुल, स्कुसको जरा, सखरखण्ड, भार्लाङ, पिँडालु लगायत कन्दमूलको व्यापार बढेको स्थानीय व्यापारी तारा बस्नेत राउतले बताइन् ।

यतिबेला तरुलको माग बढेपछि जिल्लाको मात्रै उत्पादनले नधान्ने भएपछि काठमाडौंको कालीमाटी बजारको तरुल ल्याएर समेत बिक्री गरिएको व्यापारीहरुको भनाइ छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ३ की व्यापारी गोपी खड्काले बुधबार मात्रै तीन सय किलो तरुल बिक्री गरेको बताइन् ।

बिहीबार पनि सोही हाराहारीमा बिक्री हुने उनको अनुमान छ । सोही ठाउँकी तरकारी तथा फलफूल व्यापारी कमला बस्नेतले गत वर्षभन्दा यस वर्ष तरुलको माग बढेको बताइन् । बजारमा वनतरुल प्रतिकिलो तीन सय ५० रुपैयाँ, स्कुसको जरा प्रतिकिलो एक सय, घरतरुलको प्रतिकिलो एक सय ३० र पिँडालु र खाल्डे तरुलको प्रतिकिलो एक सय रुपैयाँ मूल्य रहेको छ । पछिल्लो वर्षहरुमा जङ्गलमा वनतरुल भने पाइन छाडेकाले किसानले गाउँघरमै तरुल खेती गर्न थालेको तरुल व्यापारी सर्मिला अधिकारीले बताइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया