Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहराएको मोटरसाइकल खोजी ट्राफिक महाशाखाद्वारा सम्बन्धित धनीलाई फिर्ता

हराएको मोटरसाइकल खोजी ट्राफिक महाशाखाद्वारा सम्बन्धित धनीलाई फिर्ता


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगञ्ज, कलंकीलगायतका स्थानबाट फेला पारी मंगलबार २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेहरूको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको विशेष अपरेसन टोली परिचालन गरी चोरीमा संलग्न मानिससहित मोटरसाइकलहरू नियन्त्रणमा लिएको थियो । रविन्द्र परियार, मनिससिंह, विक्रम पण्डित, सुजन खड्का, सञ्जिव अर्याल, मिलन गुरुङ, बमबहादुर विक, आशिष पराजुली, पासाङ मोक्तान, दिनेश लामा, हरिहर बोगटी, गोपाल श्रेष्ठ, रूपेश पाण्डे, अच्यूत सिलवाल, श्यामबहादुर खाती, सुशील राणा, प्रकाश गुरुङ, सन्तोष बराल, राजेन्द्र श्रेष्ठ, निर्मलकुमार साह, अर्जुन तामाङ, वासुदेव पोख्रेल, चुडामणि सापकोटा, कुमार श्रेष्ठ र ङ्युडुप दोर्जे लामालाई हराएको मोटरसाइकल महाशाखाले जिम्मा लगाएको छ । साथै महाशाखाको सादा पोशाकको टोलीले गत असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सीसीको पल्सर मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका २६ वर्षीय विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ ।

मिजारले गितराज पाख्रीनको प्रदेश ३–०२–०११प७०१७ को पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी प्रदेश ३–०२–०११ प ५२३६ नम्बर राखी चलाएको अवस्थामा सोमबार बौद्धबाट पक्राउ गरेको हो । सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए । उनले जथाभाबी मोटरसाइकल पार्किङ गर्दा चोरी हुनेगरेकाले सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरूलाई सुझाव दिए ।

चोरी भएको थाहा पाउन साथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा लस्ट भेहिकल एप्लिकेसनमा लगइन गरेर निवेदन दिन र फेला परेको जानकारी समेत लिन सकिने व्यवस्था रहेको प्रमुख भट्टराईले बताए । महाशाखाले चालू आर्थिक वर्ष ०७७/७८ मा २ सय ३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । साथै एक सय ९६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाइसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सादा पोशाकमा खटिई चोरसहित हराएका मोटरसाइकल पक्राउ गरी चोरी नियन्त्रण कार्यमा उत्कृष्ट कार्य गर्ने पीडित सहायता इकाइमा कार्यरत प्रहरी हवल्दार जीवराज पछाई र प्रहरी जवान हस्तबहादुर मगरलाई पुरस्कृत समेत गरिएको उनले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया