Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘सबैका लागि पर्याप्त स्वच्छ खानेपानी र सरसफाइ’ योजना देशभर सञ्चालन गरिने

‘सबैका लागि पर्याप्त स्वच्छ खानेपानी र सरसफाइ’ योजना देशभर सञ्चालन गरिने


काठमाडौं ।
देशभरका सात सय ५३ वटै स्थानीय तहमा ‘सबैका लागि पर्याप्त स्वच्छ खानेपानी र सरसफाइ’ योजना सञ्चालन गरिने भएको छ । नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन यो योजना सञ्चालन गर्न लागिएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रजित ओझाले संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकासका लक्ष्यहरूलाई हासिल गर्ने राष्ट्रिय कार्यक्रमअनुरूप एनवासको कार्यक्रम तय गरेर देशभर कार्यान्वयनमा लगिएको बताए ।

उनले नेपालको संविधानले खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहहरूलाई अधिकार दिएको र आफ्नो पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यस क्षेत्रमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउने ढंगले कार्यक्रम तयार गरिएको जानकारी दिए ।

खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने स्मार्ट वास प्रालिले हालै राजधानी आयोजना गरेको एक कार्यक्रममा उनले खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउने कार्यमा स्थानीय सरकारहरूलाई सक्षम बनाउन खानेपानी मन्त्रालय, विभाग र खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको प्रयासमा कामको थालनी पनि गरिएको बताए । यसका लागि विभागले विभिन्न सूचना लिन एक दर्जन एप्स प्रयोगमा ल्याएको छ ।

यी एप्समार्फत स्थानीय सरकारले आफ्नो सीमानाभित्र खानेपानीको अवस्थाको सम्पूर्ण जानकारी वर्तमान अवस्था र सम्भावनाजस्ता विषयमा सूचना पठाउने छन् । तिनलाई संकलन गरी प्रशोधन गरेर विभागले हरेक पालिकाको खानेपानी तथा सरसफाइको प्रतिवेदन तयार पार्दछ । त्यसको आधारमा हरेक स्थानीय सरकारलाई एक दशकभित्र हरेक घरमा एक धारा पु-याउन, हरेक धाराबाट पर्याप्त शुद्ध पानी उपलब्ध गराउन र विश्वस्तरीय सरसफाइ कायम गराउन आवश्यक कार्यक्रम तर्जुमा गरी बजेटको अनुमानित लागत तयार पारिने विभागले जनाएको छ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले खानेपानी र सरसफाइ जीवनको आधार भएकोले आफ्नो पालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए । धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले आफ्नो क्षेत्रमा एक घर एक घाराअन्तर्गत १८ सय घरमा पानी पु-याइसकिएको तथा खानेपानीका क्षेत्रमा हाल विद्यमान र भविष्यमा आइपर्ने समस्या केलाउने र समाधान निकाल्ने काम गरिरहेको बताए । साथै उनले नेपाल नगरपालिका संघले पनि सबै नगरपालिकाहरूलाई खानेपानी तथा सरसफाइ ऐन निर्माणको लागि उत्प्रेरित गरिरहेको जानकारी दिए ।

सहलगानीमा सुरु हुने आयोजनाहरूमा २० करोडदेखि एक अर्बसम्म संघीय सरकारले अनुदान दिने व्यवस्था गराइएको, बिल एण्ड मिलिन्दा फाउन्डेसनको सहयोगमा देशका पाँच नगरमा सञ्चालित ढल प्रशोधन आयोजना अरु १० नगरमा लैजाने तयारी भइरहेको ग्रामीण खानेपानी आयोजनामा हाल सात/आठ अर्ब लगानी गरिरहेको विश्व बैंकलाई दोस्रो चरणमा थप १० अर्ब लगानी गर्न सहमत गराइएको बताए । उनले नेपाललाई सन् २०३० सम्म सबै नागरिकले शुद्ध खानेपानी खाएको देश बनाउने लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चितवनको इच्छामनकामना गाउँपालिकाकी प्रमुख गीताकुमारी गुरुडले आफ्नो पालिकाले आरआरएन र डब्लूएचएच नामक गैरसरकारी संस्थाहरूको सहयोगमा घरघुरी र जनसंख्याको गणना गरेर खानेपानीको आयोजनाहरू अगाडि बढाएको बताइन् । खानेपानीका मुहानहरूको पहिचान र तिनको संरक्षण गर्दै मुहानदेखि तल्लोभेगमा पानीको आपूर्तिका कार्यक्रमहरू सञ्चालन भएको जानकारी दिँदै उनले मुहानभन्दा माथिल्लो भेगमा रहेका बस्तीमा लिफ्टिङ पद्धतिबाट पानी लैजाने र आकासे पानी संकलन गरेर वितरण गर्ने कार्य गरिएको जानकारी दिइन् ।

त्यस्तै सिरहाको धनगढी नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले युनिसेफको सहयोगमा नगरमा खानेपानीको दीर्घकालीन योजना बनाउने कार्य सम्पन्न भएको बताए । दिगो विकास कार्यक्रमले राखेका लक्ष्यहरू पूरा गर्न नगरपालिकालाई सन् २०३० सम्म थप डेढ अर्ब रूपैयाँ आवश्यकता हुने बताउँदै उनले यसका लागि नगरपालिकाले खानेपानी तथा सरसफाई कोष नै स्थापना गरेको बताए ।

कार्यक्रममा स्मार्ट बासका प्रमुख कार्यकारी अधिकृत ई. हरिप्रसाद शर्माले हालसम्म जम्मा साढे २४ प्रतिशत नेपालीले मात्र शुद्ध खानेपानी पाएको बताए । बाँकी साढे ७५ प्रतिशतलाई १० वर्षमा शुद्ध पानी पु-याउने कार्य निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । साथै उनले ढल निकास र प्रशोधनको सुविधा अहिले नगण्य सरह भएकोले २० प्रतिशत ढलको प्रशोधन हुने अवस्थामा पु-याउन लगानी पनि ठूलो चाहिने बताए ।

स्मार्ट बास सोलुसन्सका पूर्वसचिव ई. सुमन शर्माले दिगो विकास लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको कार्यक्रम र त्यसैसँग तादात्म्य रहने गरी निर्माण भएको बास कार्यक्रमले आयोजनाहरूमा एकरूपता ल्याउँदै सन् २०३० सम्म सबै नेपालीलाई पर्याप्त सुरक्षित स्वच्छ खानेपानी र सरसफाइ सेवा पु-याउन सघाउने बताए । कार्यक्रम खानेपानी तथा ढल निकास निकास विभाग, नेपाल नगरपालिका संघ, परिवर्तनका मुद्दाहरू (एजेण्डा फर चेञ्ज)का नेपालका सदस्यहरू हेल्भेटास, वाटर एड, केयर तथा वेल्थुङजेरहाइलफ संस्थाको सहयोगमा आयोजना भएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया