Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !

नदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !


दोलखा ।
जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटको एउटा सिङ्गो गाउँ नै माझीहरूको बसोबासले भरिएको छ । सो गाउँका प्राय सबै माझीको आम्दानीको मुख्य स्रोत माछा मारेर बेच्ने रहेको छ । माछा मारेर गुजारा गर्ने अधिकांश माझीहरूको पुख्यौली पेसा नै हो । तर पछिल्लो समय तामाकोशी नदिमा माछा पाउन छाडेको माझीहरूले गुनासो छ ।

केही वर्षअघिसम्म अत्यधिक माछा पाइने नदीमा हिजोआज माछा पाउनै छाडेको छ । विकास निर्माणको लागि भन्दै कोशी छेउछाउमा क्रसर उद्योगको स्थापना हुन तथा करेन्ट लगाएर माछा मार्ने गरेको कारणले पनि माछा पाउन छाडिएको स्थानीयको बुझाइ छ । यहाँका स्थानीय दिनेश माझी दिनभर पासो खेल्दा पनि कुनै दिन रित्तो हात फर्किनुपरेको बताउँछन् । पछिल्लो समय खोला तथा नदीमा करेन्ट लगाएर माछा मार्ने गरेकोले पनि आफूहरूको पासोमा माछा पर्न छाडेको तामाकोशी नदीमा पासो खेल्दै गरेका हरि माझीले बताए । नदी छेउमा खुलेका क्रसरले त झन् नदीको आकार नै परिवर्तन गरिदिएको छ ।

नदीबाट गिट्टी तथा बालुवा निकाल्दा पानी धमिलो हुने गरेकोले पनि माछा पाउन छाडेको उनीहरूको भनाइ छ । हरि भन्छन्, ‘एक नासले बग्ने नदीको बीचबीचमा खाल्डाखुल्डी बनेको छ । दिनप्रतिदिन नदीको आकार परिवर्तन भइरहेको छ, विकास निर्माण तथा पुनर्निर्माणका लागि हुने नदी उत्खनन् र चोरी तस्करीले माछाको बासस्थान नास हुँदै गएको छ ।’ आफ्नो पुर्ख्यौउली पेसा नै धरापमा परेको उनले बताए । वर्षौदेखि माछा मारेर गुजारा चलाइरहेका उनीहरू अहिले हातमुख जोड्न पनि धौधौ हुने अवस्थामा पुगेका छन् ।

कोशीभित्र रहेको नदीजन्य पदार्थको उत्खनन् बढ्दा माछाको बासस्थान नै नास हुँदै गएकाले माझीहरूको आर्थिक स्रोत नै बन्द हुने अवस्थामा पुगेको स्थानीय नारायन माझी बताउँछन् । लोकल माछाले प्रख्यात दोलखाको तामाकोशी बजारमा समेत कोशीको माछाले नधान्ने भएपछि बजारका होटल व्यवसायीले काठमाडौँ र तराईबाट माछा ल्याएर बिक्री गर्ने गरेका छन् ।

केही वर्षअघि तामाकोशीबाट दैनिक सयौँ केजी माछा मार्ने माझीलाई अहिले एक केजी माछा मार्न पनि मुस्किल हुने गरेको बैतेश्वर गाउँपालिका बुस्तीका राम माझीले बताए । कोशीमा माछा नपाउँदा बजारमा माछाको मूल्यसमेत वृद्धि भएको छ । अहिले तामाकोशी नदीको लोकल आलो माछाको मूल्य प्रतिकेजी एक हजार तीन सय पचास रूपैयाँ रहेको छ । सुकेको माछा प्रतीकेजी नौ सय ५० रूपैयाँमा बिक्री हुनेगरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया