झुम्सा खोला खानेपानी आयोजना काम अघि बढाइने
काठमाडौं, पुस २५
नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरूमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले झुम्सा खोला खानेपानी आयोजनाको काम अघि बढाएको छ । आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजनाको काम अघि बढाइएको हो । आयोजनाको कुल लागत छ अर्ब ३५ करोड ३५ लाख रूपैयाँ रहेको छ ।
संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा इन्टेक निर्माण गरी उक्त खोलाको पानीलाई प्रशोधन (ट्रिटमेन्ट) गरेर बुटवल उप–महानगरपालिकाका सबै वडाहरूमा खानेपानी सेवा विस्तार गर्न लागेको हो । संस्थानले पुरै बुटवल सहरका लागि खानेपानी पु-याउने उद्देश्यले आयोजनाको ठेक्का आह्वान गरेको छ । पहिलो प्याकेजअन्तर्गत १० र २० इन्चको जीआई पाइप खरीद कार्य भइसकेको छ भने दोस्रो प्याकेजअन्तर्गत खोलाको बाँध निर्माण र पाइप जडानको ठेक्का सम्झौता कार्य हुँदै छ । तेस्रो प्याकेजमा पाइप जडान गरी बिछ्याउने र ट्रस पुल बनाउने कार्यको ठेक्का आह्वान भएको छ ।
झुम्सा खोलाबाट प्रतिदिन तीन करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी आयोजना प्रमुख बुद्धरत्न महर्जनले बताए । बुटवल खानेपानी शुद्धीकरण आयोजनाको नामबाट दुईवटा मुख्य कामहरू अघि बढाइएको छ । पहिलो कामअन्तर्गत झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने त्यस्तै दोस्रो आयोजनाको कामअन्तर्गत बुटवल उप महानगरपालिका वडा नं. ३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने, रिजर्भवायर पानी ट्याङ्की बनाउने र पानी वितरणका कामहरू गर्ने रहेको छ ।
बुटवल सहरमा करिब छ सय १२ किलोमिटर जीआई पाइप तथा एचजीपीई पाइप विस्तार गर्ने र नौवटा ओभरहेड ट्याङ्की निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । बुटवल उपमहानगरपालिकाका सबै वडाहरूमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाइन तयार गरिएको छ । करिब तीन लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ । विसं २०५३ सालमा ४ करोड रूपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवल बासीहरूलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजनाअनुसार आयोजना अघि सारिएको थियो ।
बुटवलको खानेपानी समस्या समाधान गर्न भन्दै २२ वर्षअघि झुम्सा खानेपानी आयोजना सुरु गरिएको थियो । पाल्पाको तिनाउ गाउँपालिकाअन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ । २२ वर्षअघि तत्कालीन मेयर सूर्यप्रसाद प्रधानको पालामा यसबारे छलफल सुरु भएको थियो । दुई वर्षअघि झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलोमिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएपछि आयोजनाको काम रोकिएको थियो । सुरुमा १९ करोड ५६ लाख रूपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिइएको थियो ।
बुटवलको मेलम्चीको रूपमा व्याख्या गर्दै आएको झुम्सा खानेपानी आयोजना बुटवल सहरवासीका लागि गौरवको कुरा हो । हाल बुटवलमा दैनिक तीन करोड ५० लाख लिटर पानीको माग रहेको छ । जुन माग यो आयोजनाले पूरा गर्नेछ । संस्थानको बुटवल खानेपानी शुद्धीकरण आयोजना पहिलो ठूलो आयोजना हो भने दोस्रोमा पोखराको मर्दी खोला खानेपानी आयोजना रहेको छ । पोखरामा मर्दी खोला आयोजनाको निर्माण कार्य धमाधम चलिरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया