Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना

बागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना


काठमाडौं । बागमती प्रदेशमा ‘बागमती प्रदेश उद्योग परिसंघ’ स्थापना भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेश कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए । उनले औद्योगिक विकास विना अर्थतन्त्रको दिगो विकास असम्भव रहेको बताए ।

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकास गर्न परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको भन्दै उनले यस अभियानलाई सफल बनाउन प्रदेशका सम्पूर्ण उद्योगीहरूलाई आग्रह गरे । परिसंघले सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको भन्दै उनले प्रदेशले पनि अब उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उल्लेख गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले हरेक प्रदेश र औद्योगिक घनत्व धेरै भएका जिल्लाहरूमा परिसंघले आफ्नो उपस्थिति बढाउँदै जाने बताए । बागमती प्रदेश उद्योग परिसंघका निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेले मकवानपुरमा रहेको प्रदेश कार्यालयले बागमती प्रदेशभित्रका जिल्लाहरूमा उपस्थिति बढाउने बताए । यसैगरी प्रदेशमा सहज औद्योगिक वातावरण सिर्जना गर्न प्रदेश कार्यालयले भूमिका खेल्नेछ ।

सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन : बागमती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षहरूमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट चयन भएका छन् ।

प्रदेश उद्योग परिसंघको सदस्यहरूमा शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, श्रृजन कोइराला, स्वागतराज प्याकुरेल, श्रीहरि मास्के, सुयशराज पराजुली र दुर्गाप्रसाद भण्डारी सदस्य चयन भए । यसैगरी डा. प्रमोद लामिछाने, राजेन्द्रप्रसाद रिजाल, धिरजकुमार कार्की, विष्णुप्रसाद पौडेल, दिवस न्यौपाने र बद्रीनाथ शर्मा सदस्य रहेका छन् । साधारणसभामा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले औद्योगिक क्षेत्र विकासको काम अघि बढाउने उल्लेख गरिन् । उनले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानमा प्रदेश सरकारको साथ रहने जानकारी दिइन् ।

मुख्यमन्त्री शाक्यले लघु, घरेलु तथा साना उद्योगको विकासमा प्रदेश सरकारले काम गर्ने पनि बताइन् । साधारणसभामा परिसंघका अध्यक्ष अग्रवालले अहिलेको अवस्थामा बढ्दो ब्याजदर उद्योगीका लागि चुनौतीको विषय भएको उल्लेख गरे । उनले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्न पनि प्रदेश सरकारलाई आग्रह गरे । साधारणसभामा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डेसहितका बागमती प्रदेश सरकारका मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू एवं उद्योगी व्यवसायीको उपस्थिति थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया