Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाढी पहिरोपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न इन्सेकको माग

बाढी पहिरोपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न इन्सेकको माग


काठमाडौं । वर्षायामको समाप्तिपछि एक्कासि मनसुन सक्रिय भई परेको भीषण वर्षाका कारण सिर्जित विपत्को दुःखद घडीमा मृतकका परिवार तथा पीडित नागरिकको सहायतामा तत्काल जुट्न इन्सेकले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारहरू र सम्पूर्ण सरोकारवाला निकायहरूसँग आग्रह गरेको छ ।

इन्सेकले आइबार जारी गरेको विज्ञप्तिमा पीडितहरूको सहायताका लागि सरकारी निकायको ध्यानाकर्षण गराइएको हो । ‘सामाजिक संस्था, विज्ञ तथा सम्बन्धित सरोकारवालाहरूको परिचालन गरी वर्षैपिच्छे दोहोरिने यस्ता घटना र त्यसको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी तथा प्रतिकार्यको सुनिश्चितताका लागि कार्य गर्न आग्रह गर्दछौँ ।

विपत्को समयमा तीनै तहका सरकारको एकीकृत परिचालन गरी उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ’, इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बालीनाली र पशु चौपायको अनिवार्य बीमाको व्यवस्था मिलाउन इन्सेकले तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ– ‘समय–समयमा हुनसक्ने जुनसुकै प्रकारको विपत्को व्यवस्थापनका लागि तल्लो तहसम्म संयन्त्र निर्माण गर्न र आवश्यक परेका बेला त्यस्ता संयन्त्रलाई तदारूकताका साथ परिचालनको नीति अबलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’

बेमौसमी बाढी पहिरोको प्रकोपका कारण एक सय एक जनाको मृत्यु भएको, ३७ जना बेपत्ता भएको, ७८ वटा घर, १६ वटा गोठ, छवटा पुल, एउटा विद्यालय र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको, एक सय ८६ वटा पशु चौपाय मरेको, एक हजार एक सय ८८ वटा घर परिवार विस्थापित भएको नेपाल प्रहरीले जनाएको छ । यो अवधिमा बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका प्रहरीको प्राम्भिक तथ्यांक छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया