Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘जुन गाउँमा डोजर चल्यो, त्यही गाउँमा पहिरो’

‘जुन गाउँमा डोजर चल्यो, त्यही गाउँमा पहिरो’


बझाङ । गत असोज ३१ देखि कात्तिक ४ सम्मको बेमौसमी वर्षासँगै आएको बाढी पहिरोले बझाङमा अत्यधिक क्षति पुगेको छ । पहिरोले स्वर्गजस्तो सुदूरपश्चिमको स्वरूप बदेलेर कुरूपमा परिणत भएको छ ।

स्थानीय निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले सडक विस्तारको लागि गाउँ–गाउँमा डोजर पु-याउन होडबाजी नै गरेका थिए । यसको असर बेमौसमी वर्षाले देखाएको छ, जुन गाउँमा डोजर चले, सोही गाँउमा पहिलोले क्षति पु¥याएको छ । यतिबेला सुदूरपश्चिमको भूमि चिरा मात्र परेको छैन, मानव बस्ती नै धरापमा परेको छ । जिल्लाका १२ ओटा स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा मात्र डोजर पुगेको छैन, र त्यहाँ पहिरो पनि गएको छैन । अन्य ११ वटा स्थानीय तहको सबै वडामा डोजर पनि पुगेको छ । यस्तै पहिरो पनि नगएको ठाउँ नै छैन । जयपृथ्वी नगरपालिका वडा न १ का ८७ वर्षीय बिर्जन सिंहलाई यसअघि यस्तो बाढी पहिरो गएको सम्झना छैन । अहिले बाजे बराजुको पालादेखि बसोवास गर्दै आएको घर समेत भत्किँदा उनी अच्चममा परेका छन् । विनाअध्ययन जथाभावी सडक खन्नको लागि डोजरको प्रयोग गर्दा जमिन हल्लिएर पहिरोको जोखिम बढेको उनको भनाइ छ ।

खप्तड छान्ना गाउँपालिकाको तमैलदेखि खोला नदीको किनारा हुँदै बाजुराको थामलेखसम्म सडक सञ्जाल जोडिएको छ । तीनवटै तहका सरकारले उक्त सडक निर्माणका लागि बजेट छुट्ट्याएका थिए । पहिरोले अहिले उक्त सडक आसपासका करिब दुई सयभन्दा बढी घरमा क्षति पु-याएको छ । गाउँपालिका अध्यक्ष बर्क रोकायाका अनुसार एक/डेढ हजार परिवारको धानखेत बगाएको छ, सडक, पुल, स्वास्थ्यचौकी, विद्यालय, विद्युत्, खानेपानी, सिँचाइ क्षेत्र पनि तहसनहस भएको छ । हिँड्ने बाटो समेत बचेको छैन । जताबाट सडक गयो, त्यतै जमिन छियाछिया भई पहिरो गएको खप्तड छान्नाका स्थानीय पुष्पलाल रोकायाले बताए ।

बझाङ जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढी पहिरोले जिल्लाभर १२ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । यस्तै आठ सय ८६ परिवार विस्थापित, एक सय ५८ घरमा पूर्ण क्षति, र दुई सय ४० घर जोखिममा छन् । छ पुल, १० सरकारी कार्यालय र सात सडक पनि क्षतिग्रस्त बनेको कार्यालयले जानकारी दिएको छ । जिल्लाका १२ वटै स्थानीय तह र प्रहरीको टोली विपत्ले निम्त्याएको क्षतिको तथ्यांक लिन गाउँ–गाउँमा परिचालन गरिएको विपत् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

यस्तै जयपृथ्वी नगरपालिकाको कैलाश, बाझगाउँ, पडेस, गोलाई, बस्टी, ढिल, सुबेडा नौरा, डुङरी, चैनपुरको वसपार्क क्षेत्र एकदमै जोखिममा रहेको जयपृथ्वी नगरपालिकाका प्रमुख बिरेन्द्र खढ्काले बताए । छबिस पाथिभेरा गाउँपालिकाको मटेला, जालेबगर मालुमेलालगायतका क्षेत्रमा पनि पहिरोले निकै क्षति गरेको गाउँपालिकका अध्यक्ष अंकल धामीको भनाइ छ । यस्तै केदारस्यु गाउँपालिकको रायल, झोता, बागथला, देउराका बस्तीहरू जोखिममा परेका गाउँपालिकाका अध्यक्ष इन्द्र भन्डारीले बताए । सुर्मा गाउँपालिकामा पनि २० घर पूर्ण क्षति भएका छन् भने अन्य ठाउँ–ठाउँमा पहिरो गई बस्ती नै जोखिमा परेको स्थानीय दिपक बोहराले बताए । मँटा गाउँपालिकाको पनि कोटदेवल, भातेखोलालगायतका बस्ती नै जोखिममा रहेको स्थानीयले जानकारी दिए । बुङल नगरपालिका दुर्गाथली गाउँपालिका तल्कोट गाउँपालिकामा पनि जुन ठाउँमा सडक पुगेको त्यही ठाउँमा सबैभन्दा बढी पहिरो गएको स्थानीयले बताएका छन् ।

बाढी पहिरोका कारण बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग दर्जनौँ ठाउँमा भासिएको छ, कहीँ सडकको नामोनिसान छैन । तमैल–जाल्याबगर खण्ड सेती नदीले बगाएको छ । यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्न महिनौँ लाग्न सक्ने प्राविधिकहरू बताउँछन् । नदीले धार परिर्वतन गरेर सडक बगाएकोले जलस्तर घटेपछि मात्रै मर्मतको काम अघि बढ्ने पूर्वाधार विकास कार्यालय बझाङका प्रमुख धीरेन्द्र भट्टले बताए । यस्तै दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको विद्युत्गृह, बाँध, प्रसारण लाइनलगायत संरचनामा क्षति पुगेकाले जिल्लाका सबैजसो गाउँ अन्धकारमा छन् । सबै स्थानीय तहमा गरेर एक अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको सामाजिक विकास कार्यालयका प्रमुख बिर बहादुर धामीले बताए । प्रारम्भिक तथ्यांकअनुसार ६ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको छ भने २७ लाखबराबर धान बाली नष्ट गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया