Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचरीकोट–जिरी सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा, मुडे–चरीकोट अझै अलपत्र

चरीकोट–जिरी सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा, मुडे–चरीकोट अझै अलपत्र


दोलखा । जिल्लाको लाइफलाइनको रूपमा रहेको मुख्य सडक लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको चरीकोट–जिरी सडकखण्डको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यस्तै मुडे–चरीकोट सडकखण्ड भने विगत छ वर्षदेखि अलपत्र छ । करिब तीन वर्षको अन्तरमा सरकारले लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत मुडे–चरीकोट ३० किलोमिटर र चरीकोट–जिरी ५५ किलोमिटर सडक स्तरोन्नति गर्न दुईवटा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।

मुडे–चरीकोट ३० किलोमिटर सडकको काम २०७२ सालमा दुई वर्षमा कालोपत्रे सक्ने भन्दै ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी सकिल हैदर—शंकरमालि—सुनौलो खिम्ती जेभीले छ वर्ष बितिसक्दा पनि सडक निर्माणको काम गर्न सकेको छैन । उक्त सडकको काम हुन नसक्दा जिल्लाका नागरिक कष्टकर यात्रा गर्दै आएका छन् । त्यसको ठीक तीन वर्षपछि ठेक्का सम्झौता भएको चरीकोट–जिरी ५५ किलोमिटर सडक निर्माणको काम सकिन लाग्दा समेत मुडे–चरीकोटको काम अलपत्र परेको छ । उक्त सडक निर्माण गर्न दबाब दिने भन्दै स्थानीय नागरिकले पटक–पटक आन्दोलन समेत गर्दै आएका छन् ।

मुडे–चरीकोट सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी हाल सम्पर्कविहीन बनेको छ । निर्माण कम्पनीले पटक–पटक काम नगरेर हर्जना समेत तिर्दै आएको छ । एक्जिम बैंक अफ इन्डियाको सहयोगमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सडक विभागले उक्त सडक २०७२ सालमा ठेक्का लगाएको थियो । जिल्लाका नागरिकले यस सडक निर्माणको माग गर्दै संघर्ष समिति नै बनाएर आन्दोलन समेत थालेका छन् । स्थानीयले मन्त्रीदेखि आयोजनाप्रमुख र ठेकेदारको फोटो टाँस्नेदेखि शंख फुक्ने, एक रूपैयाँ चन्दा उठाएर सरकारलाई पठाउनेजस्ता थुप्रै सांकेतिक विरोधका गतिविधि गरिसकेको छन् । तर पनि सडक विभागले भने निर्माण कम्पनीलाई कुनै कारबाही अघि बढाएको छैन । सडक विभागले आफ्नो मागको सम्बोधन नगरेको भन्दै संघर्ष समितिले आन्दोलनलाई थप मजबुत बनाएर लैजाने निर्णय गरेको छ । आइतबार आन्दोलनमा निस्केका संघर्स समितिका ७ जनालाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।

यता चरीकोट–जिरी सडकखण्ड विस्तारको जिम्मा पाएको लामा कन्स्ट्रक्सनले भने काम सक्न लागेको छ । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा २०७५ सालमा निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सनले दुई अर्ब २८ करोडमा निर्माण सम्झौता गरि चरीकोट–जिरी सडक निर्माण सुरु गरेको थियो । लामा कन्स्ट्रक्सनलले चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको ४७ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ भने बाँकी आठ किलोमिटर सडकमा कालोपत्रे हाल्ने तयारी गरिरहेको छ । सडक निर्माणको सम्पूर्ण काम फागुनभित्र सकिने निर्माण कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया