Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमतदाता नामावली संकलनका लागि गाउँ जाँदै निर्वाचन आयोग

मतदाता नामावली संकलनका लागि गाउँ जाँदै निर्वाचन आयोग


दोलखा । जिल्लाका ग्रामीण भेगमा रहेका स्थानीय तहमा पुगेर जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन कार्य सुरु गर्न लागेको हो ।

नौ स्थानीय तहमध्ये भीमेश्वर नगरपालिकाबाहेकका आठ स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले जनाएको छ । जिल्लाभित्र रहेका मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य भएका र यसअघि नाम दर्ता गर्न छुटेका नागरिकको नाम दर्ता गर्ने कार्य यसअघि जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय दोलखामा सञ्चालन हुँदै आएको थियो । जिल्लाका ग्रामीण भेगका नागरिकहरूलाई गाउँमै सेवा दिने उद्देश्यले आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न स्थानीय तहमा नै पुग्ने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख विशाल केसीका अनुसार कार्यालयले आगामी मंसिर १७ गतेदेखि पहिलो चरणको नामावली संकलन कार्य जिल्लाको गौरीशंकर गाउँपालिका, बिगु र शैलुङ गाउँपालिकामा १० दिन सञ्चालन गर्नेछ । १० दिनको अवधिमा सम्बन्धित पालिकाभित्र बसोबास गर्ने १८ वर्ष उमेर पूरा भएका र बसाइँसराइ गरी आएका नागरिकको तथ्यांक संकलन गरेर निर्वाचन आयोग नाम दर्ता गराउने कार्य सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणको मतदाता नामावली संकलन कार्य मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन गर्ने निर्णय जिल्ला निर्वाचन कार्यालय दोलखाले गरेको छ ।

दोस्रो चरणमा जिल्लाको जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोशी र मेलुङ गाउँपालिका १० दिन नामावली संकलन गरिनेछ । त्यस्तै जिल्लाको भीमेश्वर नगरपालिकाभित्र बसोबास गर्ने र बाहिरी जिल्लाबाट विवाह तथा बसाइँसराइ गरी आएका नागरिकले जुनसुकै दिन जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय दोलखामा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । १८ वर्ष उमेर पुगेर नेपाली नागरिकता लिएका महिला तथा पुरुषले आफ्नो गाउँपालिका तथा नगरपालिकामा गएर निर्वाचन कार्यालयले खटाएका अधिकारीलाई आफ्नो सक्कली परिचय दिएर नाम दर्ता गर्न सक्नेछन् ।

जिल्ला निर्वाचन आयोग दोलखाले मतदाता नामावलीमा नाम समावेश गराउन दोलखाभित्र बसोबास गर्ने नागरिकको हकमा सक्कल नेपाली नागरिकता र सोको फोटोकपी र स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने जनाएको छ । त्यस्तै विवाह तथा बसाइँसराइ गरी आएका नागरिकले विवाहदर्ता प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र र नेपाली नागरिकताको साथमा निर्वाचन आयोग गएर व्यक्ति आफैँ नाम दर्ता गराउन सक्नेछन् । जिल्लामा अघिल्लो पटकको भन्दा यस पटक मतदाता संख्या वृद्धि हुने आकलन जिल्ला निर्वाचन कार्यालय दोलखाको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया