Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकपडा बनाउन व्यस्त गार्मेन्ट उद्योग

कपडा बनाउन व्यस्त गार्मेन्ट उद्योग


चौतारा । चौतारामा पहिलो पटक सञ्चालनमा आएको गार्मेन्ट उद्योगले सिन्धुपाल्चोकको बजारमा समेत सामग्री बिक्री गर्न सुरु गरेको छ । चौताराको निजी विद्यालय जुगल बोर्डिङ हाइस्कुलको ड्रेस यही गार्मेन्टबाट तयार गरिएको उद्योगले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल ओम प्रकास उप्रेतीले स्थानीय ठाउँको उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ भनेर विद्यालयका ड्रेसहरू स्वेटर, ट्रयाकसुट, टाइ, बेल्ट बनाउने कामको अर्डर यही उद्योगलाई दिएको बताए । विगतका वर्षमा काठमाडौँमा अर्डर दिँदा ढिलो आउने, बारम्बार धाउनुपर्ने समस्याबाट छुटकारा मिलेको उप्रेती बताउँछन् । यस्तै श्रीकृष्ण रत्न गंगा माविको ट्याकसुट सेट निर्माणको काम पनि यही गार्मेन्टबाट भइरहेको छ । गार्मेन्ट उद्योग नयाँ हो तर उद्योगले दिएको गुणस्तरबाट विद्यालय, क्लबहरू खुसी छन् ।

उद्योगले अहिले जिल्लाको विद्यालय, क्लबहरूको ड्रेस यहाँबाटै उत्पादन गरी बिक्रीवितरण गर्ने थालेकोे छ । सिजनको समयमा यहाँ २० जनाभन्दा बढीले रोजगार पाउने गरेका छन् । मेसिनहरू थप हुँदै गरेको र बजार पनि बढ्दै गरेकाले केही समयमै अन्यले पनि रोजगार पाउनेछन् । यहाँ काठमाडौँबाट कच्चा पदार्थ ल्याई कपडा उत्पादन गर्ने गरिन्छ । रोल सादा कपडा ल्याई डिजाइन यही तयार हुन्छ । अहिले यहाँ टिसर्ट, पाइन्ट, ट्राउजरलगायत उत्पादन हुने गर्दछ ।

विगतका वर्ष राजधानी मात्र बजार केन्द्रित थियो । बजारीकरणको समस्या समाधान हुने हो भने उत्पादन जति पनि दिन सकिने गार्मेन्ट सञ्चालक समितिका संयोजक हरि विश्वकर्माको भनाइ छ । उनका अनुसार पर्याप्त मेसिनरी बजारहरू भएकाले उत्पादन दिन समस्या छैन । गार्मेन्ट उद्योगमा सिलाइ मेसिन, इन्टरलक, फ्याट लक, रिसकटरहरू छन् । ७० लाख रुपैयाँभन्दा बढी लगानी गरेर स्वाभिमानी बहुउद्देश्य सहकारीमार्फत सिन्धुपाल्चोकमा पहिलो पटक गार्मेन्ट उद्योग सञ्चालन आएको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा सञ्चालित यो गार्मेन्ट उद्योगमा आबद्ध सबै सदस्य दलित समुदायका हुन् । गार्मेन्ट उद्योग सञ्चालनका लागि भाडामा लिएको जग्गामा पूर्वाधार निर्माण गरिएको छ । गाउँमै काम पाएपछि बेरोजगार बस्न नपरेको उद्योगका व्यवस्थापक बादलराज नेपाली बताउँछन् । गार्मेन्ट उद्योग सञ्चालनमा आएपछि सीप भएका स्थानीयले दैनिक कामअनुसारको ज्याला पाउने गर्छन् ।

दलित समुदाय आफैँ सहकारीमार्फत उद्यमी बन्न अग्रसर भएपछि उद्योगलाई थप व्यावसायिक बनाउन नगरपालिकाले सहयोग गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले बजारहरू खरिद गर्नका लागि गत वर्षमा २० लाख उपलब्ध गराएको थियो । नगरपालिकालाई आर्थिक अवस्थामा सुधार ल्याउनका लागि युवाहरू एकजुट भएर काम गर्न थालेपछि सहयोग गरिएको नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए । नगरपालिकाको साथसाथै भवन निर्माणलगायतमा घरेलु तथा साना उद्योग समितिको समेत सहयोग रहेको गार्मेन्ट सञ्चालक समितिले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x