Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन हुने

सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन हुने


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरिने बताएका छन् ।

मन्त्रालयमा आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरिने बताएका हुन् ।

परिमार्जित कार्यविधि राजपत्रमा प्रकाशन गरी पूर्णरूपमा कार्यान्वयन गर्ने उनको भनाइ थियो । सरोकार राख्ने सङ्घ/संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनले बताए ।

यस्तै उनले सुनचाँदीको नेपालमै उत्खनन गर्नसक्ने सम्भावना रहेको बताए । अब नेपालमै उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु-याउनुपर्ने उनको भनाइ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपालमा दैनिक २० किलो मात्रै सुन आयात हुने तर माग ३० किलोभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको बताए । नेपालको जनसङ्ख्या र बढ्दो सहरीकरण, अर्थतन्त्रको विकासका कारणले पनि दैनिक २० किलो सुनको आयातले माग पूरा गर्न नसकिने उनको तर्क छ ।

उनले सुनचाँदीलाई चल सम्पत्तिका रूपमा मान्यता दिनुपर्ने, व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्ने, खरिदबिक्री मापदण्ड बनाउनुपर्ने, ओसारपसार तथा तस्करीमा कडाइ गर्नुपर्ने र ज्याला तथा जर्ती बढाउनुपर्ने माग गरे । सुनचाँदी व्यवसायमा देखिएका समग्र समस्याको दीर्घकालीन समाधानको निम्ति ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा समेत उनले जोड दिए ।

सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा बस्ने नेपालीले नेपालमा बनेको नेपाली सुनका गहना लगाउन माग गरे पनि आफूहरुसँग विदेशमा पु-याउने सुन नभएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया