Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहोल्डिङ सेन्टर निर्माणमा ढिलाइ

होल्डिङ सेन्टर निर्माणमा ढिलाइ


कञ्चनपुर । छिमेकी मुलुक भारतमा दैनिक कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन बढिरहेका बेला पश्चिमी नाका गड्डाचौकी नाका भएर नेपाल भित्रिने यात्रुहरुमा समेत कोरोना संक्रमण देखिन थालेको छ ।

पछिल्लो समय भारतबाट दैनिकजसो सयौँको संख्यामा मानिस गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरिरहेका छन् । तर, कोरोना संक्रमितलाई राख्नका लागि भीमदत्त नगरपालिका १८ भगतपुरमा निर्माण हुनलागेको होल्डिङ सेन्टर निर्माणमा भने ढिलाइ भएको छ । भारतबाट स्वदेश फर्किएका कोरोना पोजेटिभलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । नाकामा एन्टिजिनबाटै पोजेभिट देखिएकाको महाकाली अस्पतालमा पीसीआर गर्ने र पीसीआरबाट पोजेभिट देखिए ओमिक्रोनका लागि नमूना संकलन गरेर काठमाडौँ पठाउन लागिएको छ । भारतबाट दैनिक नेपाल फर्किनेको संख्यामा समेत वृद्धि भइरहेको छ । एकै साताको अवधिमा गड्डाचौकी नाका भएर पाँच हजारभन्दा बढीले प्रवेश गरेका छन् ।

कोरोना महामारी रोकथामका लागि गत आर्थिक वर्षमा सरकारले नेपाली सेनामार्फत कञ्चनपुरसहित देशभरिका आठ सीमावर्ती जिल्लामा मेडिकल बेडसहितको एक हजार मानिस हट्ने क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न निर्णय गरेको थियो । तर, कञ्चनपुरमा सेनाले जिम्मा पाएको होल्डिङ सेन्टर निर्माणमा भने ढिलाइ भइरहेको छ ।

सम्झौताको पहिलो म्याद सकिएर दोस्रो पटक थपिँदा समेत निर्माण कार्य पूरा भएको छैन । भारतसँग सीमा जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा सरकारले सेनामार्फत होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । सेनाबाट हनुमान कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको थियो । सेना र निर्माण कम्पनीबीच छोटो समय राखेर दुई महिनाभित्रै होल्डिङ सेन्टर निर्माणको सम्झौता गरिएको थियो । ०७८ असार ३ मा सम्झौता गरी ०७८ भदौ २ मा निर्माण कार्यसम्पन्न गर्ने गरी कुल २९ करोड २४ लाख ९९ हजार आठ सय १५ रुपैयाँमा मूल्य अभिवृद्धिकरसहित निर्माण सम्झौता भएको थियो । हालसम्म १५ करोड ४३ लाख भुक्तानी भइसकेको छ ।

सम्झौताअनुरुप काम हुन नसकेपछि पहिलो पटक पुस मसान्तसम्ममा म्याद थप गरिएको थियो । तर निर्माण कम्पनीले थपिएको समय समेत बितिसक्दा पनि निर्माणसम्पन्न गर्न सकेको छैन । निर्माण कम्पनीले १५ असारदेखि निर्माणको काम सुरु गरेको थियो । निरन्तर काम गरे पनि विभिन्न कारण अवरोधले ढिलाइ भइरहेको हनुमान कन्स्ट्रक्सन प्रालिका म्यानेजर लक्ष्मण सापकोटाले बताए । यद्यपि ९२ प्रतिशत काम पूरा भएको उनको दाबी छ । ‘ठेक्कामा उल्लेख गरिएभन्दा अतिरिक्त काम भएकाले थपिएको म्यादभित्र समेत काम पूरा भएन,’ उनले भने, ‘हामीले भेरिएसनका लागि सेनालाई पत्र पठाएका छौँ ।’ निर्माण कार्य सुरु भएदेखि नै स्थानीय सुकुमबासीले जमिन ओगटेर विवाद गरेको, वर्षात्, चाडबाडलगायतका काणबाट ढिलाइ भएको उनले बताए । ‘सुकुमबासीको अवरोध सुरुवातदेखि नै थियो’, उनले भने, ‘अहिले पनि छ, एक शौचालय निर्माणमा जमिन छाड्न मानेका छैनन् ।’

निर्माण कम्पनीका म्यानेजर सापकोटाले ०७८ असोज २४ मा १५ करोड ४३ लाख मात्रै भुक्तानी पाएको बताए । ‘माथिबाटै बजेट आएको छैन’, उनले भने, ‘त्यही भएर दोस्रो रनिङबिल पेस गरेको छैन ।’ कामअनुरुप दोस्रो बिलको भुक्तानीको समय भए पनि केन्द्रबाट बजेट आएकाले बिल पेस नगरेको उनले बताए । उनले निर्माणकार्य तीव्र रुपमा भइरहेको र अन्तिम चरणमा पुगेको समेत दाबी गरे । उनका अनुसार अब रंग रोगन, घेरबार, केही शौचालयको काम निर्माण गर्न र फिनिसिङ गर्न मात्रै बाँकी छ ।

हालै पनि तीन सय जना बस्नेगरी बेड तयार भएको उनको भनाइ छ । करिब चार बिघा क्षेत्रफलमा निर्माण भएका हरेक ट्रस्टमा ५० जना क्षमताका दरले २० ट्रस्टमा एक हजार र दुई ट्रस्टमा चिकित्सक, स्वास्थ्यकर्मी एव स्वास्थ्य उपकरण राखिनेछ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले भारतमा महामारी फैलिरहेका बेला नेपालमा समेत फैलिन नदिन होल्डिङ सेन्टरको निर्माण कार्य शीघ्ररुपमा सम्पन्न गर्नका लागि सम्बन्धित निकायसँग पहल गरिने बताए । ‘हामीले पनि बेलाबेलामा अनुगमन गरेर सम्बन्धित पक्षसँग समयमै निर्माण गर्न आग्रह गर्दै आएका छौँ, ‘उनले भने, ‘महामारीका बढिरहेका बेला सबै पक्षले गम्भीर हुनुपर्छ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया