Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबीमा गर्नेहरुको संख्या बढ्दो

बीमा गर्नेहरुको संख्या बढ्दो


काठमाडौं । पछिल्लो समय स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पाईएको छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी देशैभरि गरेको सर्भेले दवावमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गएको देखाएको हो ।

कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे गरेको थियो । पचास जना सहयोगि कर्मचारीहरुलाई सहभागि गराइएको सर्भेको तथ्यांकहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको पाईएको कम्पनीले उल्लेख गरेको छ । बीमा समितिले दिएको तथ्यांकमा बीमाको कभरेज १० वर्ष भित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको कम्पनीको भनाई छ ।

कभरेज बढे अनुसार दवावमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार सर्भेमा संलग्न व्यक्तिहरुलाई बीमा किन गरेको भन्ने प्रश्नमा ८९ प्रतिशतले आवश्यकता बुझेर गरेको, ८ प्रतिशतले अभिकर्ताको दवावमा बीमा गरेको र ३ प्रतिशतले देखासिखिमा गरेको जवाफ दिएका थिए । बीमा कसरी गरेको भन्ने प्रश्नमा ३७ प्रतिशतले आफैले सम्पर्क गरेर गरेको, ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरि बुझाएपछि गरेको र ३ प्रतिशतले अरुले गरेको देखेर गरेको जवाफ दिए ।

खरिद गरेको बीमा पोलिसीको छनोट कसरी गर्नु भयो भन्ने प्रश्नमा ८० प्रतिशतले आफैले पोलिसी विषयमा बुझेर गरेको, १८ प्रतिशतले अभिकर्ताले भने अनुसार खरिद गरेको र २ प्रतिशतले पोलिसी विषयमा केही थाहा नभएको बताएका थिए । त्यसैगरी बीमा गर्ने कम्पनीको बारेमा गरेको प्रश्नमा ७९ प्रतिशतले थाहा भएको, २७ प्रतिशतले अलि अलि थाहा भएको र ३ प्रतिशतले केही थाहा नभएको जानकारी दिएका छन ।

यस्तै बीमितले खरिद गरेको पोलिसीको छनौट विषयमा सोधेको प्रश्नमा ६७ प्रतिशतले सावधिक, १५ प्रतिशतले मनिव्याक, १२ प्रतिशतले आजिवन, ४ प्रतिशतले एकल भुक्तानी र २ प्रतिशतले म्यादी बीमा खरिद गरेको जानकारी दिएका छन । बीमा पोलिसी बिक्रीपछि अभिकर्ता सम्पर्कमा रहे नरहेको बारेको प्रश्नमा ८० प्रतिशतले सम्पर्कमा रहेको, १२ प्रतिशतले किस्ता तिर्ने बेला मात्र सम्पर्क गर्ने गरेको र ८ प्रतिशतले पोलिसी विक्रि पछि कुनै सम्पर्कमा नरहेको बताएका छन ।

त्यसैगरी बीमा विक्रिपछि कम्पनीले आवश्यक सुचना सम्प्रेषण बारेमा प्रश्न गर्दा ७० प्रतिशतले एस एम एस र फोन आउने गरेको, २८ प्रतिशतले एस एम एस मात्र आउने गरेको र २ प्रतिशतले कुनै सूचना नआएको जानकारी दिएको कम्पनीले जनाएको छ । बीमाको आवश्यकता बारेमा ८५ प्रतिशतले अति आवश्यक, १४ प्रतिशतले बचत छ भने गर्दा हुने र १ प्रतिशतले खासै जरुरी नरहेको बताएका छन ।

कम्पनीले जीवन बीमा गरिसकेका ४ सय ९२ जना विमितसंग गरेको सर्भेमा १९० जना महिला र ३०२ जना पुरुष सहभागि थिए । प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्भेमा समावेश गरिएको कम्पनीले जनाएको छ । सर्भेमा बीमालाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनुपर्ने, ५ प्रतिशतले गरिवको लागि सरकारले केही राहत (सवसिडी) दिनुपर्ने र १९ प्रतिशतले राम्रो प्रोडक्ट र गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताएका थिए ।

समग्रमा हेर्दा जीवन बीमा क्षेत्रमा आवश्यकता भन्दा कम्पनीहरु बढी भई अस्वस्थ प्रतिस्पर्धाको कारण केही विकृति आएको पाईएको कम्पनीले जनाएको छ । यदपी बीमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिबृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको पाइएको कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया