Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै सगरमाथा आधार शिविरसम्म पैदलयात्रा

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै सगरमाथा आधार शिविरसम्म पैदलयात्रा


काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै सगरमाथा आधारशिविर (५,३०० मि.)सम्मको ११ दिने पैदलयात्रा हुने भएको छ । ‘द बिग क्लाइम्ब नेपाल २०२२’ कार्यक्रमअन्तर्गत पैदलयात्रा हुनलागेको हो । मंगलबारदेखि शुभारम्भ हुनलागेको यस पैदल यात्राको उद्देश्य हिमाली क्षेत्रका आदिवासी समुदायले भोग्दै आएका चुनौतीबारे सचेतना जगाउने र अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको प्रचारप्रसार गर्ने रहेको छ ।

सन् १९७९ युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत भएको सगरमाथा राष्ट्रिय निकुञ्ज दिगो पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो तर जलवायु परिवर्तनका कारण यसले विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ । पैदल यात्राका क्रममा पैदलयात्रीहरूले शेर्पा समुदायका युवा प्रतिनिधि र सरोकारवालाहरूलाई भेटेर कुराकानी गरी सो क्षेत्रका आदिवासी समुदायका धारणा बुझ्नेछन् । युनेस्का काठमाडौं र द बिग क्लाइम्ब नेपालका प्रतिनिधिहरूले विभिन्न व्यक्तिहरूसँग छलफल गरी सगरमाथा क्षेत्रका हिमाली समुदायको जनजीवनबारे थप जानकारी प्राप्त गर्नेछन् । यस यात्रामा द बिग क्लाइम्ब अभियानका संस्थापक टिम च्यालेन, नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्ट, नेपाली महिला धावक मिरा राई (माउन्टेन पार्टनरसीप एम्बासडर, सालोमन एथलेट, र नेसनल जियोग्राफीको सन् २०१७ की साहसी वर्ष व्यक्ति) र मिरा राई अभियानका युवा धावक, युनेस्को नेपाल कार्यालयका कर्मचारी र निजी तथा सरकारी क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्ट सगरमाथा राष्टिय निकुञ्ज विश्व सम्पदा क्षेत्र (सगरमाथा शिखर)लाई विश्वले स्मारक, गन्तव्य, चुनौती, आदि विभिन्न तरिकाले सम्झिएको बताउँछन् । तर, यो एउटा सिंगो घर र संस्कृति पनि रहेको उनको भनाइ छ । द बिग क्लाइम्ब नेपालका चिफ गाइड नोर्बु शेर्पा विश्वको तेस्रो अग्लो चुचुरोको काखमा जन्मिएको हुनाले मेरो मनमा यी भयंकर अग्ला हिमालय पर्वत शृंखलाप्रतिको मोह र सम्मान गहिरो गरी बसेको सुनाउँछन् । ‘म भान्सामा काम गर्ने एउटा केटो पछि गएर हिमाल आरोहण गर्ने शेर्पा बनेँ र छिट्टै यसको सरदार बनेँ अर्थात् आठ हजार मिटर अग्ला चुचुरा चढ्ने शेर्पाहरूको टोलीको नाइके बनेँ । मलाई मेरो जीवनमा नौ पटक सगरमाथा शिखर चढ्ने सौभाग्य प्राप्त भएको छ भने आठ हजार मिटर अग्ला १४ वटा हिमचुचुराहरू चढिसकेको छु’, उनले भने ।

द बिग क्लाइम्ब नेपाल द बिग क्लाइम्ब किलिमन्जारोको अवधारणा र प्रभावलाई थप विस्तार गर्ने उद्देश्यले सन् २०२२ मा स्थापना भएको हो । पृथ्वी र यहाँका मानिसलाई असर पारिरहेका सामाजिक समस्याका विरुद्धमा सचेतना जगाउने हेतुले द बिग क्लाइम्बका संस्थापक टिम च्यालेनले सन् २००६ देखि यता छ सय ५० भन्दा बढी आरोहीहरूको नेतृत्व गरी अफ्रिकाको किलिमन्जारो पहाड (५,८९५ मि.) को चुचुरोमा पुगेका छन् । हरेक वर्ष केन्या र तान्जानियाका सीमान्तकृत समुदायबाट छानिएका युवाहरू निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग सहभागी भई किलिमन्जारो पर्वत आरोहण गर्छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x