Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपाँचवटा बैंकले म्याग्दी खोला जलविद्युत्मा आठ अर्ब लगानी गर्ने

पाँचवटा बैंकले म्याग्दी खोला जलविद्युत्मा आठ अर्ब लगानी गर्ने


काठमाडौं । हाइड्रो भिलेज प्रालिले म्याग्दीमा निर्माण गर्न लागेको ५७.३ मेगावाटको जलविद्युत् आयोजनामा पाँचवटा बैंकले करिब आठ अर्ब रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच गतसोमबार लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आयोजनाले ६२६.५० मि. हेड र म्याग्दी खोलाको १२.५० घन मि. प्रतिसेकेण्ड बहाब प्रयोग गरी ५७.३ मे.वा. क्षमता विद्युत् उत्पादन गर्नेछ । कुल १० अर्ब ७४ करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैंकले लगानी गर्नेछन् ।

सम्झौतामा कम्पनीका तर्फबाट रामेश्वर थापा, नेपाल बैंकका तर्फबाट लक्ष्मण पौडेल, मेगा बैंकका तर्फबाट रामकाजी थापा, कृषि विकास बैंकका तर्फबाट सुदिप कुमार दाहाल, कर्मचारी सञ्चय कोषका तर्फबाट ठाकुर जंग थापा र नेपाल एसबीआई बैंकका तर्फबाट मनोज कुमार गौतमले हस्ताक्षर गरेका छन् । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब पाँच करोड ७० लाख रूपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रूपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।

यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीको रूपमा मलेसियन कम्पनी एक्वा भेन्चर्सको तथा स्वदेशी लगानीको रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एन्ड डेभेलपमेन्ट कम्पनी लि. र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेल समेतको स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट स्थानीय निकायहरूसँगकोे सहकार्यमा पहुँचमार्ग र अन्य पूर्वाधार निर्माणकार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक सुशिल पोखरेलले बताए । निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने उनले जानकारी दिए ।

कम्पनीका अध्यक्ष रामेश्वर थापाले आयोजना समयमै निर्माणसम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । आयोजना सम्पन्न भएपछि सुख्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

उत्पादित विद्युत् आयोजनाको विद्युत्गृहदेखि करिब १७ किलोमिटर दूरीमा रहेको विद्युत् प्राधिकरणको म्याग्दी जिल्लामै निर्माणाधीन १३२/३३ केभी डाँडाखेत सबस्टेस्नमा जोडिनेछ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x