Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआन्दोलन स्थगित गर्न चेम्बरको आग्रह

आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलनलाई निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । चेम्बरको जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत संस्था गरेको ब्याजदरवृद्धिविरुद्ध गरिरहेको आन्दोलनलाई चेम्बरले निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा नगर तथा जिल्ला चेम्बरले विरोधका कार्यक्रम गर्दै आएका छन् । चेम्बरले बुधबार एक विज्ञप्ति जारी गरी उक्त कार्यक्रम निर्वाचन अवधिभर रोक्न आग्रह गरेको छ । चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण संघर्षका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ । त्यतिञ्जेलसम्मका लागि संघर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।’

बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन् समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धराशायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदा समेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचनलगत्तै संघर्षमा उत्रनुको विकल्प छैन ।’ चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरूको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न नौ बुँदामा ध्यानाकर्षण गराएको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।’ कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्र्दभिक सेवाशुल्कलाई हटाउन समेत चेम्बर अध्यक्ष मल्लले आग्रह गरे । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x