Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनागरिकतासम्बन्धी विधेयक अघि बढाउन माग

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन माग


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई तत्काल अगाडि बढाउन सरकारसँग माग गरेको छ । चेक रिपब्लिकमा सम्पन्न संघको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गर्दै संघले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको हो ।

नयाँ संविधानले गैरआवासीय नेपालीका लागि पनि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेकाले तत्काल नागरिकता उपलब्ध गराउन सम्मेलनले आग्रह छ । यस्तै सम्मेलनले विदेशमा रहेका नेपालीको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलसँग अनुरोध गरेको छ ।

विदेशमा बसोबास गर्ने नेपाली नागरिकले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेका सन्दर्भमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

युवा तथा महिलाको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाको सहभागिता सुनिश्चित गराउन सम्मेलनले पुनः प्रतिबद्धता व्यक्त गरेको छ । मेगा प्रोजेक्टलाई सफलतापूर्वक अघि बढाउनका लागि सडक बालबालिका, पढ्दै कमाउँदैजस्ता कार्यक्रम लक्षित समुदायमा शीघ्र सुरु गर्ने प्रतिबद्धता संघले जनाएको छ । सम्मेलनले एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई १० अर्बबाट ५० अर्ब रुपैयाँ बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पु¥याउन आह्वान गरेको छ । सो फन्डमा जोडिन चाहने गैरआवासीय नेपालीका लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सीमा घटाएर दुई सय ५० डलर मात्र कायम गरिएको छ ।

यस्तै पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लिकलगायत देशमा नेपाली राजदूतावास स्थापना गर्न सम्मेलनले आग्रह गरको छ । विभिन्न माध्यमबाट गैरकानुनीरुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोसिया, सर्भियालगायत मुलुकमा भइरहेको अवैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न सम्मेलन राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गरेको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्ने गरी कार्यान्वयनमा ल्याएको कार्यक्रमप्रति सम्मेलनले धन्यवाद दिँदै सम्पूर्ण गैरआवासीय नेपालीलाई कोषमा आबद्ध हुन आह्वान गरेको छ ।

संघको दशौँ महाधिवेशनपश्चात् समानान्तर गतिविधि गरिरहेका एनआरएनलाई हाल भइरहेको वार्ताका माध्यमबाट मूलधारमा समाहित भई एकताको एघारौँ महाधिवेशनमा सहभागी हुन पनि अपिल गरेको छ । संघको १५औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा यही मे ५, ६ र ७ सम्म चलेको थियो ।

तीन दिनसम्म चलेको सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा (माओवादी केन्द्र)का नेता खिमलाल देवकोटालगायतको उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्बीचको सञ्जालका बारेमा छलफल भएको थियो । सम्मेलनमा ३९ देशका करिब तीन सय प्रतिनिधिको सहभागिता रहेको संघले जनाएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया