Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारउप महानगरबुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने

बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने


लुम्बिनी । बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा शुक्रबार धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । उजेलापुरस्थित भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाले बाजागाजासहित रोपाइँ गरेर दिवस मनाइएको हो ।

वडा नं. १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवर्द्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्ष, महाशाखाका निर्देशकसहित स्थानीयको सहभागिता रहेको थियो ।

नगर प्रमुख पाण्डेयले बुटवलका १२ देखि १९ सम्मका वडामा खेतीयोग्य जमिन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको राससलाई बताए । उनले उपमहानगरलाई चाहिने आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको बताए । उनले बुटवल–१४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको जनाउँदै आगामी वर्षदेखि तरकारी र धान, गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताए ।

उपप्रमुख अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताए । उनले कृषिबाटै मुलुकको उन्नति हुने जनाउँदै किसानले अझै बढी चासो दिनुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि उपमहानगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको बताए । नगर प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष शिव रानाले आफ्नो वडामा धान दिवस मनाएर नगरकै कृषि क्षेत्रको महत्व बढेको र यसले सकारात्मक प्रभाव पर्ने बताए ।


क्याटेगोरी : पालिका समाचार, उप महानगर

तपाईको प्रतिक्रिया