Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारकामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ ।

महानगरको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गर्ने तयारी गरेको जानकारी दिइन् ।

प्रमुख पोखरेलका अनुसार उक्त बोर्ड अहिले खरिद प्रक्रियामा छ । केही दिनभित्रमा नै विद्यालयलाई वितरण गर्ने तयारी रहेको उनले बताइन । “अहिले कुनकुन विद्यालयलाई वितरण गर्ने यकीन भने भएको छैन”, उनले भनिन । सकेसम्म धेरै विद्यालयलाई वितरण गर्ने चाहना महानगरको छ । हाल महानगरमा ८९ सामुदायिक विद्यालय छन् ।

स्मार्ट बोर्ड, प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्ययन गराउने एउटा माध्यम हो । “आवश्यकताअनुसार भिडियो देखाउन मिल्नेछ, गुगल सर्च गरी पठन पाठन गर्न मिल्छ, आवश्यकता परे पावर पोइन्टको प्रयोग गरेर अध्ययन गर्न मिल्ने प्रविधि हो”, उनले भनिन ।

बोर्डले शिक्षकलाई अध्यापन गराउन सहजताका लागि ल्यापटपसमेत वितरण गर्ने तयारी रहेको जनाइएको छ । ल्यापटप पनि खरिद प्रक्रियामा रहेको पोखरेलले जानकारी दिइन् । त्यसैगरी कामपाले नेपाल सरकाको मापदण्डअनुसार विद्यार्थीलाई अध्ययन गर्न सहज होस् भन्ने हिसाबले फर्निचरका सामग्री पनि खरिद गर्ने तयारी गरेको महानगरले जानकारी दिएको छ ।

न्यून शुल्कमा विषयगत शिक्षकमार्फत अध्ययन गर्न पाउने भएपछि महानगरका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी बढेका हुन् । कामपाले सामुदायिक विद्यालयलाई सुधारेकै कारण चालु शैक्षिकसत्रमा महानगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

शिक्षा विभागका अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन अध्यापन गर्नका लागि सबै स्रोतसाधनले सम्पन्न प्रविधिमैत्री बनाउने प्रयासमा कामपा रहेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उपयुक्त वातावरण तयार गर्ने काममा नै कामपाको ध्यान केन्द्रित भएको प्रमुख पोखरेलले बताइन् । शिक्षा क्षेत्रको सुधारकै लागि कामपाले चालु आर्थिक वर्षका लागि शिक्षामा एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर

तपाईको प्रतिक्रिया