Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगउद्योगी जाजुका उत्पादनको यूएईमा प्रदर्शनी

उद्योगी जाजुका उत्पादनको यूएईमा प्रदर्शनी


विराटनगर । संयुक्त अरब इमिरेट्स (यूएई)मा भइरहेको खाद्य तथा पेय प्रदर्शनीमा सुुनसरी मोरङ औद्योगिक करिडोरका तीन उद्योग सहभागी छन् । प्रदर्शनीमा रमपम र टुपीएम चाउचाउको उत्पादक एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी तीन उद्योगले आ–आफ्ना स्टल राखेर सहभागी भएका हुन् ।

गल्फ फुड एक्स्पो–२०२३ दुबईको अलमुस्ताकवाल प्लाजामा भइरहेको छ । यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालले तीनवटै उद्योगका स्टलको उदघाटन गरेको उद्योग सञ्चालक महेश जाजूले जानकारी दिए । राजदूत ढकालले उक्त अवसरमा एसियन थाई फुड्सले उत्पादन गरेको नौलो खाद्यसामग्री नेपालीटाना पास्ता नुडल्सको पनि लन्चिङ गरेको उद्योगी जाजुले बताएका थिए । जाजुुले भने, ‘यो पास्ता र नुडल्सको मिश्रित स्वरूपमा छ, यसको पहिलो लन्चिङ हामीले यूएईमा गरेका हौँ ।’ एक सातापछि नै नेपालमा यसको बजारीकरणलाई आक्रामक स्वरूप प्रस्तुुत गर्ने आफ्नो योजना रहेको उनले जानकारी थिए । उद्योगले नेपालीटाना पास्ताको ब्रान्ड एम्बेस्डरमा नेपाली नायक प्रदीप खड्कालाई नियुक्त गरिसकेको छ ।

जाजूले एक्स्पोमा नेपालीटाना पास्ता नुडल्सका साथ रमपम चाउचाउ, कोरियन रामेन टुपीएम अकबरे, गुडलाइफ ब्रान्डका विभिन्न बिस्कुटहरू, टुपीएम चिजबल, गुडलाइफ जुसलगायतका उत्पादनहरू राखिएको पनि बताएका छन् । उनले आफ्ना उत्पादनलाई बेलायत, अस्ट्रेलिया र मध्यपूर्वका अवलोकनकर्ताले मन पराएको बताए । दुबईबाट जाजूले भने, ‘नेपालका उत्पादन भनेपछि उनीहरूले विशेष आकर्षण, चाख र चासो राखेर हेरिरहेका छन् । नेपाल भन्नेबित्तिकै अवलोकनकर्ताहरू चासोका साथ सोधपुछ गर्छन् ।’

उनले आफ्ना उत्पादन यूएईमा ल्याएर स्टल राख्न उद्योगले ४० लाखभन्दा बढी खर्च गरेको जानकारी दिए । उनले आफ्ना उत्पादनलाई जहाजमा राखेर दुबई पु-याउन दुई लाखभन्दा बढी खर्चिएको बताए । उनले भने, ‘नेपालका उत्पादन पनि अन्तर्राष्ट्रियस्तरका छन् । तर तिनलाई बजारीकरणको खाँचो छ । हरेक महिना कुनै न कुनै मुलुकमा अन्तर्राष्ट्रिय स्तरको खाद्य तथा पेय प्रदर्शनी भइरहेको हुन्छ । त्यहाँसम्म नेपालका उत्पादन पु-याउन र प्रदर्शन गर्न सरकारले सहजीकरण गर्नुपर्छ ।’ हरेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल सरकारको समन्वयमा नेपालको छुट्टै पेभिलियन हुनु आवश्यक रहेको तर्क समेत गरेका छन् ।


क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया