Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रचण्डमाथि चिनियाँबाट गरिएको ५० करोड लगानी कस्तो ?

प्रचण्डमाथि चिनियाँबाट गरिएको ५० करोड लगानी कस्तो ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच सुन र सहकारीमा भएका अपराधकर्म साटासाट गरिँदा आजभन्दा झण्डै १३ वर्षअघि माओवादी नेता कृष्णबहादुर महराको चिनियाँ नागरिकसँग भएको ५० करोडको टेलिफोन संवाद फेरि एक पटक चर्चामा आएको छ ।

महरा र चिनियाँ नागरिकबीच भएको त्यो वार्ताको केन्द्रमा प्रचण्ड नै थिए । संवादले पनि चिनियाँ नागरिकबाट ५० करोडको लगानी प्रचण्डमाथि नै हुनलागेको बुझाउँछ । पहिलो संविधानसभामा प्रचण्ड दोस्रो पटक प्रधानन्त्रीको उम्मेदवार हुँदा सांसद खरिदका लागि भनेर महराले चिनियाँ नागरिकसँग रकम मागेको अडियो नेपाल वान टेलिभिजनले २०६७ भदौ १८ गते सार्वजनिक गरेको थियो ।

त्यो संवादले महरा ‘मार्फतपात्र’ मात्र रहेको बुझाउँछ । चिनियाँ पक्षले रकम लिन प्रचण्ड नै आए हुने भनेर गरिएको अनुरोधमा अध्यक्ष प्रचण्ड पूर्वप्रधानमन्त्री र अहिले प्रधानमन्त्रीको उम्मेदवार समेत रहेका कारण धेरैका आँखा लाग्ने भनेर महराले बताएका छन् । त्यसपछि उनैलाई स्वीकारिएको संवादले बुझाउँछ ।

रकम लिन आजै बेलुका आइपुग्ने भनेर समय तोकिएको छ । त्यो दिन रकम लिन उनी गए/नगएको भने खुल्दैन ।

संवादमा स्वर आफ्नै भएको महराले त्यतिबेला नै स्वीकारेका थिए । त्यसबेला माओवादी सबैभन्दा ठूलो दल भएका कारण यसलाई त्यसै सामसुम पारियो ।

रकम लिन आऊ भनेर बोलाइसकिएको र आजै आउँछु भनेर जवाफ दिइएको अवस्थमा यो रकम भित्रिएन भन्ने आधार छैन । रकम लिन आउँछु भनिएको दिन प्रधानमन्त्रीको निर्वाचन हुन चार दिन बाँकी थियो ।

रकम दिने चिनियाँ पक्षको नाम खुलेको छैन । प्रचण्डमाथि लगानी गर्न चाहेको व्यक्ति त्यतिबेला नै शंकास्पद कारोबारी रहेको कुरा संवादले नै बुझाउँछ ।

सुन तस्करीको अनुसन्धान गरिहेका विज्ञहरूका अनुसार उल्लिखित कारोबार सुन तस्करीसँग जोडिएको हुनुपर्छ । त्यो वर्षदेखि नेपालमा सुन तस्करीले सँस्थागत रुप पाएको देखाउँछ ।

त्यस्तो केही होइन भने पनि सबैभन्दा ठूलो दलका अध्यक्ष प्रधानमन्त्रीको उम्मेदवारमाथि विदेशी व्यवसायीले यतिठूलो लगानी गर्न खोजेको र त्यस्तो रकम प्राप्त गर्न दलका अध्यक्ष र प्रधानमन्त्रीको उम्मेदवारका हैसियतबाट स्वीकृति दिइएको घटाना सामान्य होइन ।

यिनै प्रचण्ड प्रधानमन्त्री नै रहेका बेला बाबुछोरा नै सुनकाण्डमा जेल पर्नुपर्ने स्थिति आएपछि महरा यो पटक मुख खोल्ने पक्षमा थिए । यो कुरा प्रचण्डसम्म पुगेपछि गृहमन्त्रीको सहकारी ठगी काण्डमा यसलाई साटियो । जानकार सूत्रका अनुसार आयोगले नै नाम किटान गरेका व्यक्ति हाजिरी जमानीमा छुट्नु भनेको एकप्रकारले उन्मुक्ति पाउनु नै हो ।

महरा र चिनियाँ नागरिकबीचको त्यो टेलिफोन संवादः
चिनियाँ : चुनाव आउँदै छ भन्ने सुनिन्छ, के हुँदै छ?
महरा : हो, चुनाव निकट आएको छ । तर, कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन ।
चिनियाँ : के माओवादीले राम्रै स्थान ल्याउला भन्ने सोच्नुभएको छ ?
महरा : त्यस्तो सम्भावना छैन । तर, हामीले प्रयास गरिरहेका छौँ । धेरै गाह्रो छ ।
चिनियाँ : केले समस्या बनाएको हो त ?
महरा : हामीसँग १० देखि १५ वटा त पहिल्यै छ। ५० हाराहारी आउँछ होला ।
चिनियाँ : अर्को ५० चाहियो हैन त ?
महरा : हो, पाँचलाई सुन्ना पचास।
चिनियाँ : तपाईँहरूलाई ५० सिट ल्याउन कस्तो खालको सहयोग गर्न सक्छौँ त ?
महरा : योचाहिं अलि गाह्रै काम हो, किनभने दक्षिणले उनीहरूलाई सहयोग गरिरहेको छ । दक्षिणलाई ‘न्यूट्रलाइज’ गर्न र दोस्रो कुरा केही पैसा चाहिन्छ ।
चिनियाँ : कतिजति चाहिन्छ होला ?
महरा : म यसै भन्न सक्दिनँ । मैले यसबारे अध्यक्षसँग कुरा गर्नुपर्छ ।
चिनियाँ : मेरा एक जना साथी छन्, जसले तपाईँलाई सहयोग गर्ने कुरा गरिरहेका छन् । भेटेर कुरा गर्नुपर्छ ।
महरा : भेट्नका लागि तपाईँलाई कहाँ पायक पर्छ ?:चिनियाँ ः हङकङ हुन्छ ?
महरा : उनले कोसँग भेट्न चाहेका हुन् ?
चिनियाँ : तपाईँ र अध्यक्षसँग मात्रै, अरूसँग होइन ।
महरा : तर, हाम्रो अध्यक्षलाई आउजाउ गर्न साह्रै गाह्रो छ । उहाँ हङकङ जानुभयो भने सबैले उछाल्छन् । किनभने उहाँ पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको उम्मेदवार पनि हुनुहुन्छ ।
चिनियाँ : त्यसो भए तपाईँले उहाँको प्रतिनिधित्व गर्दै मेरो साथीलाई भेट्न सक्नुहुन्छ कि !
महरा : हुन्छ, हुन्छ । म जहाँ आउन पनि तयार छु । म यहाँ, त्यहाँ, जहाँ पनि जान सक्छु तर यो सन्देश उहाँकहाँ पु¥याउनै पर्छ । उहाँलाई निम्ता पुग्नुपर्यो र अनि उहाँले मलाई पूर्ण जिम्मेवारी दिनुहुन्छ ।
चिनियाँ : हाम्रो योजना के छ भने पहिला हामी तपाईँसँग भेट्न चाहन्छौँ । हामी सबै कुरा विस्तृतमा गर्नेछौँ । ५० सिट ल्याउन के सहयोग गर्न सकिएला भनेर छलफल गर्नेछौँ ।
महरा : त्यसका लागि महत्वपूर्ण ठाउँ चीन नै हुन्छ होला । चीनको छेन्दुमा । छेन्दु राम्रो ठाउँ हो । कसैलाई थाहा पनि हुँदैन ।
चिनियाँ : तर यो संवेदनशील विषय हो, हामी वर्तमान सरकारसँग कुनै खालको हस्तक्षेप चाहँदैनौँ ।
महरा : त्यसो हो भने सिंगापुर अर्को ठाउँ छ नि !
चिनियाँ : सिंगापुर कि हङकङ ?
महरा : हङकङमा धेरै नेपाली छन् । त्यहाँ उनीहरू हुन्छन् । त्यसैले सिंगापुर नै राम्रो हुन्छ ।
चिनियाँ : ल म आफ्नो साथीसँग कुरा गर्छु ।
महरा : आज साँझ म तपाईँलाई फोन गर्छु, हुन्छ ?
चिनियाँ : हुन्छ, हुन्छ । हङकङमा सम्भव हुन्छ कि भन्ने हेर्नुहोला ।
महरा : हुन्छ, म यही नम्बरमा तपाईँलाई फोन गर्छु ।
चिनियाँ : हुन्छ, ल म तपाईंको फोनको प्रतीक्षामा हुन्छु ।
महरा : हुन्छ, तपाईँले आफ्नो स्रोतबाट अध्यक्षज्यूकोमा पनि सन्देश पुर्याउनुहोला ।
चिनियाँ : के तपाईँले मलाई अध्यक्षसँग पनि कुरा गरोस् भन्न चाहनुभएको हो ?
महरा : हुन्छ, म फोन गर्छु ।
चिनियाँ : हुन्छ, हुन्छ।
०००
चिनियाँ : हेलो महराज्यू !
महरा : हजुर, हजुर । के छ ? सन्चै हुनुहुन्छ ?
चिनियाँ : ठीक छ, ठीक छ । धन्यवाद ! मलाई त तपाईँले हिजो फोन गर्नुहोला भन्ने लागेको थियो ।
महरा : हिजो बेलुका मैले फोन गर्न सकिनँ । त्यही भएर मैले आजै बिहान फोन गरेँ ।
चिनियाँ : ए, ठीक छ ठीक छ ।
महरा : तपाईँको सुझावबारे मैले अध्यक्षज्यूसँग कुरा गरेँ। कोही अर्को व्यक्तिले पनि अध्यक्षज्यूसँग कुरा गरिरहेको छ भन्ने कुरा आयो, के त्यो सही हो ?
चिनियाँ : मेरोतर्फबाट त होइन । मेरो साथी र मैले त तपाईँसँग मात्र कुरा राखेका छौँ ।
महरा : तर त्यो कुरा कुनै ठोसरूपमा गएको छैन । अध्यक्षज्यूसँग कुराकानी गर्दा उहाँले के भन्नुभयो भने अब त चुनावका लागि चार दिन मात्रै बाँकी छ । हामीलाई ५० सदस्य आवश्यक छन् । त्यो हासिल गर्न एक जनालाई कम्तीमा पनि एक करोड नेपाली रुपैयाँ चाहिन्छ ।
चिनियाँ : त्यसो भए नेपाली सय लाख चाहियो, हैन ?
महरा : हो ।
चिनियाँ : तर पहिला भेट्नु नै पर्नेछ, किनभने केही कुरा विस्तृतरूपमा गर्नुपर्ने हुन्छ । त्यसका लागि तपाईँ हङकङ आउन सक्नुहुन्न ?
महरा : तर त्यहाँ धेरै नेपाली छन् । के गर्ने होला ?
चिनियाँ : अर्को देशमा जाँदा मेरो साथीलाई विशेष भिसा लिनुपर्ने हुन्छ, तर हङकङमा उहाँ सजिलै जान सक्नुहुन्छ । कसैले थाहा पनि पाउँदैनन् ।
महरा : कहिले त ?
चिनियाँ : जहिले भए पनि हुन्छ । हामी त खुला नै छौँ त्यसमा । तर, तपाईँ कहिले आउन सक्नुहुन्छ ?
महरा : अब चार दिन मात्रै बाँकी छ । अलि छिटै गर्नुपर्ने हुन्छ । म भोलि आऊँ त ?
चिनियाँ ः हुन्छ ।
महरा : कि आजै गरूँ ?
चिनियाँ : तपाईँ हङकङमा कति बस्नुहुन्छ, एक रात ?
महरा : अँ, एक रातले पुगिहाल्छ ।
चिनियाँ : हुन्छ ।
महरा : ल म तपाईँलाई नेपालको १२ बजे फोन गर्छु है त ! म आजै साँझ पनि आउन सक्छु ।
चिनियाँ : हुन्छ, हुन्छ।
महरा : ल मेरो इमेल हेर्नुहोला १० मिनेटमा ।
चिनियाँ : म एउटा मिटिङमा जाँदै छु । नेपालको १० बजेसम्म म इमेल चेक गर्न पाउँदिनँ होला ।
महरा : हुन्छ, १० बजे इमेल हेर्नुहोला ।
चिनियाँ : तपाईं हङकङमा कहाँ बस्नुहुन्छ, मलाई भन्नुहोला । ता कि तपाईँलाई भेट्न सकूँ ।
महरा : हुन्छ, हुन्छ ।


क्याटेगोरी : राजनिति
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया