Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारतनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा पनि वैशाख १० गते उपनिर्वाचन हुने

तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा पनि वैशाख १० गते उपनिर्वाचन हुने


काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ । यसअघि आयोगले वैशाख १० गते नै चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन गर्नेगरी मिति तोकेको थियो ।

आयोगलको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्नेगरी मिति तोकेको हो । साथै उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेगरी मतदानको समय समेत निर्धारण गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । तनहुँ १ का सांसद रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।

यस्तै संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट हुने व्यवस्था छ । सोहीबमोजिम आयोगले उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादमा माघ १३ गत सर्वोच्च अदालतले खारेज गरेपछि उक्त स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन हुँदै छ ।

आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने आयोगले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया