Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसुकुमेल आयातकर्ता र भन्सारबीच विवाद

सुकुमेल आयातकर्ता र भन्सारबीच विवाद

आईसीपीमै थन्कियो २० हजार मेट्रिक टन सुकुमेल


विराटनगर । भन्सार मूल्यांकनलाई लिएर सुकुमेल आयातकर्ता व्यवसायी र भन्सार कर्मचारीबीच विवाद बढेको छ । सुकुमेल व्यवसायी र भन्सार कार्यालयका बीच कारोबार मूल्यको कुरा नमिल्दा विराटनगरको आईसीपीमा २० टनभन्दा बढी सुकुमेल आएर थन्किएको बसेको छ ।

वीरगञ्जको सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले डाबर नेपालले आयात गरेको सुकुमेलमा प्रतिकिलो साढे पाँच डलरको मूल्यांकनलाई मान्यता दिएपछि विराटनगर भन्सारले भने साँढे १२ डलर लिने गरेको भन्दै भन्सार र व्यवसायीबीच विवाद उत्पन्न भएको हो । सुकुमेल आयातकर्ताहरूले भन्सारले आफूहरूमाथि विभेद र पक्षपात गरेको आरोप लगाएका छन् । भन्सारले अन्य व्यवसायीलाई भने साढे १२ डलरको भन्सार मूल्यांकन गर्नेगरेको छ । तर डाबर नेपाललाई साढे पाँच डलरको मूल्यांकन गरी सुकुमेल छोडेपछि आयातकर्ताहरू आक्रोशित भएका हुुन् । वीरगञ्ज भन्सार कार्यालयले गत माघ १९ गते १० टन सुकुमेल प्रतिकिलो साढे पाँच डलरमा आयात गरेको कागजात दर्ता गरेको थियो । उक्त मूल्यांकनलाई मान्यता दिँदै कार्यालयले गत माघ २२ गते सुकुमेलको जाँचपास गरेको सुकुमेल आयातकर्ताले बताएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले पनि डाबर नेपालले प्रतिकिलो साढे पाँच डलरको मूल्यांकनमा १० टन सुकुमेल जाँचपास गरेको जनाएको छ । तर वीरगञ्ज र विराटनगर भन्सारस्थित भन्सार कार्यालयले यसअघि ती नाकाबाट आयात गरिएको सुकुमेलमा आयातकर्ताले न्यून बिजकीकरण गरेको ठह¥याउँदै प्रतिकिलो साढे १२ डलरको मूल्यांकन राखेर मात्र जाँचपास गर्ने गरेको थियो । ट्रेडिङ्ग कारोबारी एक व्यवसायीले आफूहरूले सुकुमेल आयात गर्दा नै प्रतिकिलो साढे पाँचदेखि साढे आठ डलरको मूल्यमा आयात गरिरहेको बताए ।

सुकुमेल आयातकर्ताले दिएको जानकारीअनुुसार पहिले त कारोबार–मूल्यलाई नै मान्यता दिएको थियो । ‘हामीले कारोबार–मूल्यमै राजस्व तिरेर माल छुटाएका थियौँ । तर पछि फेरि कार्यालयले हामीलाई विभागको निर्देशन भन्दै प्रतिकिलो साढे १२ डलरका दरले राजस्व र जरिबानासमेत तिर्न पत्र पठाएपछि तेस्रो मुुलुुकबाट आयात गरिएको सुकुमेल अहिले भन्सारमै थन्किएको छ’, उनले भने । भन्सार विभागले तयार पारेको सन्दर्भ मूल्यसूची (डाटा बेस)मा सुकुमेलको मूल्यांकन प्रतिकिलो साढे १२ डलर तोकिएको छ । विभागले यसैलाई आधार बनाएर कारोबार मूल्यलाई मान्यता नदिई व्यवसायीलाई थप आर्थिक भारमा पारेको व्यवसायीको आरोप छ ।

विराटनगरका सुकुमेल आयातकर्ता व्यवसायीले भन्सार विभाग र कार्यालयले मालवस्तुको जाँचपासमा दोहोरो मापदण्ड कायम गरेर भन्सार ऐनको ठाडो उल्लंघन गरेको आरोप समेत लगाएका छन् । भन्सार ऐनको दफा १३ ले भन्सार कार्यालयले आयातित मालवस्तुको कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उनीहरूको दाबी छ । आयातकर्ताले न्यून बिजकीकरण गरेको लागेमा भन्सार कार्यालयले त्यसलाई खरिद गर्नसक्नेसम्मको प्रावधान ऐनमा छ तर, सुकुमेलको जाँचपासका सन्दर्भमा विभाग र कार्यालयले उक्त कानुनी व्यवस्थाको ठाडै अटेर गरेर व्यावसायिक दृष्टिले आयात गर्ने व्यवसायीलाई विभेद र पक्षपात गरेको उनीहरूको आरोप छ ।

पछिल्लो समय तेस्रो मुलुक ग्वाटेमाला र दुबईमा सुकुमेलको मूल्य प्रतिकिलो साढे पाँच डलर रहेको छ । डाबर नेपालले घोषणा गरेको यही मूल्यलाई वीरगञ्जको सुक्खा बन्दरगाह भन्सारले मान्यता दिइरहँदा साढे पाँचदेखि साढे आठ डलरको मूल्यमा आयात गर्ने व्यवसायीलाई चाहिँ किन न्यून बिजकीकरणको आरोप लगाइयो ? भन्ने सुकुमेल आयातकर्ताको प्रश्न छ । व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा हरेक मालवस्तुको मूल्यमा थपघट भइरहने भन्दै वर्षौँसम्म एउटै मूल्यांकनमा मालवस्तुको जाँचपास गर्नु अवैज्ञानिक र अव्यावहारिक भएको टिप्पणी समेत गरेका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया