Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविनाशमा विकाशको प्रयास गरौं

विनाशमा विकाशको प्रयास गरौं


प्रदीप उप्रेती
मुलुकको आर्थिक विकासको परिदृष्यले यस क्षेत्रमा रहेको ऋणात्मकता औंल्याउँदै विकास एवं समृद्धिको गतिलाई क्रमशः अगाडि बढाउन प्रेरित गर्नेछ । यसै सन्दर्भमा प्राकृतिक प्रकोपको रूपमा रहेको भूकम्पको पीडा, बाढीपहिरो, रोगजन्य संक्रमणको महामारीका अतिरिक्त आन्तरिक घरेलु द्वन्द्वको अत्यधिकताले मुलुकको आर्थिक विकासमा अवरोध सिर्जना हुन गएको तथ्यलाई हामीले हाम्रै जीवन कालमा निकै नजीकबाट नियाल्दै अनुभूत गर्न पाएका छौँ । जसका कारण केही हदसम्म समृद्धिको पथमा पछौटेपनलाई आत्मसात गर्दै वैदेशिक ऋणको भारी बोक्न आम नेपाली जनसमुदाय बाध्य भएको वर्तमान अवस्था हो ।

एकातिर हामी आत्मनिर्भताको कुरा गरिराखेका छौँ भने, अर्कोतर्फ विकास निर्माणका लागि छिमेकी राष्ट्र एवं दातृराष्ट्रसँग सहयोगको भीख माग्दै आएका छौँ । यसप्रकारका प्राकृतिक प्रकोप तथा संक्रमणको पीडालाई क्रमशः भुल्दै प्राप्त हुन आएका घाउहरूमा समृद्धिको मलम लगाउने चेष्टा गर्ने हो द्रुत आर्थिक विकासको सम्भावना जीवन्त रहन्छ ।

यसको मूर्तरूप हासिल गर्न वर्तमान परिपेक्षमा चालू रहेका ठूला आयोजनाका लागि विनियोजन गरीएका रकम वितरण गरेर मात्र आर्थिक विकासको चाहना पूरा हुन सक्दैन । किनकी विनियोजित रकमअनुसारको लक्ष्य प्राप्ति भयो वा भएन भन्ने तथ्यले यस क्षेत्रमा निर्णायक भूमिका निर्वाह गर्नेछ ।

तोकिएको समयावधिभित्र आयोजनाहरू सम्पन्न नगरी बीचमै अलपत्र पार्ने संस्कृतिको विकासले यस क्षेत्रमा दीर्घकालीन असर पार्नेछ । जसका कारण सम्भावित विकास आयोजनाहरूलाई निश्चित समयमा पूरा गर्न कठिनाइ उत्पन्न हुनगई मुलुकको आर्थिक विकाशमा प्रतिकुल असर पार्दै आएको विगतका व्यवहारले देखाएको छ । त्यसो भएको हुँदा समयमा नै कार्य सम्पन्न गर्ने समूह वा व्यक्तिविषेशलाई पुरस्कारको व्यवस्था तथा ढिलासुस्ती गर्नेलाई लागत खर्चको अनुपातमा दोब्बर जरिवानाको व्यवस्थापन गर्न सके विकास आयोजनाले निर्धारित समयमा नै लक्ष्यअनुसारको प्रगति हासिल गर्न सम्भव रहन्छ ।

यसका अतिरिक्त चालू आर्थिक वर्षको विनियोजित रकम सोही आवमा नै सिध्याउनु पर्छ भन्ने गलत मानसिकताको उपजले यस क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भएको हुदाँ आर्थिकविकास र समृद्धिविरोधी यसप्रकारका प्रवृतिलाई सदाका लागि अन्त्य गर्नु आर्थिक विकासलाई सहयोग गर्नु सरहको व्यवहार हो ।

तसर्थः अति आवश्यक योजनाबाहेकका अन्य विकास निमार्णका कार्यलाई चालू आवको अन्त्यमा स्वीकृत नै नदिने रणनीतिलाई अपनाउनुपर्ने हुन्छ । किनकी आवको अन्त्यमा रकमको निकासा गर्ने संस्कृतिले आयोजनाको हितलाई भन्दा पनि भष्ट्राचारजन्य कार्यलाई बढवा दिनेछ । साथै स्थानीयस्तरमा वित्तीय सेवाको अभिवृद्धि गर्नसके दुर्गमभन्दा दुर्गम बस्तीहरूमा विकास निमार्णका लागि आवश्यक पर्ने रकमको स्थानान्तरणका साथै जनस्तरमा वित्तीय पहुँच अभिवृद्धि गर्न सहयोगीको भूमिका निर्वाह हुने थियो भन्दा फरक नपर्ला ।

जसका कारण जनसहभागिताको वृद्धि भई निर्धारित समयमा नै विकास आयोजनाको लक्ष्य पूरा हुने अवस्था पैदा हुनेछ । तर, यसका लागि अति आवश्यक मानिएको सञ्चार, सडक तथा खानेपानीजस्ता आयोजनाको विकासलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्नुपर्ने हुन्छ ।

यसप्रकारका जनसहभागिता मूलक कार्यको प्रतिफल सम्बद्ध क्षेत्रका नागरिक समुदायले पनि प्रत्यक्षरूपमा प्राप्त गरुन् भन्ने उद्देश्य राख्ने हो भने त्यस प्रवृतिका दीर्घकालीन महत्वका महत्वाकाक्षी आयोजनाको सेयर सहभागीतामा स्थायीय समुदायलाई नै पहिलो प्राथमिकताको सूचिमा राखी कार्य गर्नुपर्ने हुन्छ । किनकी जसको प्रत्यक्ष लाभहानीमा सम्बद्ध समुदाय पनि आबद्ध रहने हुँदा कार्य सम्पन्नताको क्षेत्रमा संवेदनशील रहन सर्वपक्षीय जागरुक रहने अवस्था पैदा हुनेछ ।

जसको प्रत्यक्ष वा परोक्ष लाभ भन्नु नै अनुत्पादक शीर्षकमा मितव्ययी रहन गई बाँकी हुन आएको विनियोजित रकमलाई उत्पादनशील शीर्षकअन्तर्गत अन्य शीर्षकहरूमा रकमान्तरण गर्दैै मुलुकको आर्थिक समृद्धिको क्षेत्रमा लगाउने हो भने, आशातित सफलता हासिल हुने कुरामा कुनै प्रकारको द्विविधा रहने छैन । आजको सन्दर्भमा भन्नुपर्दा रोजगारी विनाको आर्थिक विकासले मात्र मुलुकको सम्मुन्नतिको लक्ष्य प्राप्त हुन नसक्ने भएको हुदाँ नयाँ, नौलो एवं एक्काइसौँ शताब्दी अनुरूपको प्रविधिले अनुबन्धित रहेको उत्पानशील रोजगारीको श्रीवृद्धि गर्ने कार्यमा यस प्रकारका महत्वाकाक्षी आयोजनाले सकारात्मक भूमिका निर्वाह गर्न सक्नुपर्नेछ । जसका लागि सरोकारवाला पक्षको महत्वपूर्ण भूमिकालाई अन्यथा लिन मिल्दैन । किनकि सरकारी सहयोगको अभावमा निजी क्षेत्रको एक्लो प्रयासबाट मात्र लक्ष्यअनुसारको प्रगति प्राप्त गर्न सकिँदैन ।

यसका अतिरिक्त भूकम्प तथा आजको कोरोना संक्रमणजन्य अवस्था, बढ्दो बेरोजगारी एवं प्रकारले मुलुकको प्रमुख आयस्रोतको रूपमा रहेको विपे्रषणको न्यूनता रहेको वर्तमान परिस्थितिमा अन्य समुदायको तुलनामा विशेष गरी विपन्न समूह धेरै नै मारमा परेको पाइयो । आजको विषम परिवेशमा विकाशका नाममा नेपाली जनमतलाई कोरा सपना मात्र बाड्ने कार्य कुनै पनि पक्षले गर्नु युक्तिसंगत कदम मान्न सकिँदैन । आर्थिक विकाशले गति लिन निश्चितरूपमा केही समय अवश्य पनि लाग्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । त्यसो भएको हुँदा विनाश र विपत्तिमा अल्मलिएर बस्नुभन्दा भावि नेपालको सुन्दर आर्थिक विकाशको चाहना राख्ने कार्यलाई संक्रमणको असहज परिस्थितिमा पनि निरन्तरता राख्ने प्रयास गरौँ । जसले सानो आकारको अर्थतन्त्र भएको नेपालको आर्थिक विकासलाई माथि उचाल्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

यसका साथै मुलुकको आन्तरिक तथा बाह्य व्यापारको क्षेत्रमा कोरोनाले पारेको प्रभावलाई आगामी आर्थिक वर्षदेखि नै सकारात्मक उन्मुख पथमा अगाडि ल्याउने प्रयास गर्नुपर्छ । किनकी हाल कायम रहन आएको मुलुकको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदरलाई निश्चितरूपमा संक्रमणले प्रभाव पारेको देखिन्छ । यसको न्यून गति रहने कुरामा हामी कसैको पनि बिमती रहन सक्दैन । यस प्रकारका असामान्य विपत्हरूले मानवीय पुँजीका साथै भौतिक पुँजीलाई पनि घोषित अघोषित नराम्ररी प्रभावित पारेकै हुन्छन् ।

यसका अतिरिक्त मानव जीवनका अन्य आर्थिक सरोकारका पक्षलाई पनि असर पारेको वर्तमान अवस्था हो । यसको दुष्प्रभाव कतिसम्म रह्यो भन्ने कुराको मूल्याकंन हाल कायम रहन आएको लकडाउनको अन्त्यपश्चात् नेपाललगायत विश्व समुदायले अवश्य पनि गर्नेछन् । त्यसो भएको हुँदा के–कस्ता रितले ऋणात्मक रहन आएको मुलुकको अर्थब्यवस्थालाई माथि उकास्ने हो त्यतातिर सर्वपक्षीय ध्यान केन्द्रित रहनु जरुरी भइसकेको छ ।

यहाँनेर विशेष ध्यान पु-याउनु पर्ने तथ्य के रहेको छ भने विपन्न र सम्पन्न दुवै समूहलाई आर्थिक समृद्धिको पहुँचमा समान अवसर दिलाउन सकिने अवस्था तयार पार्नुपर्ने हुन्छ । किनकी आर्थिक मूल्यांकनको क्षेत्रमा कोरोना संक्रमण पूर्व र सोपश्चात् भन्दै दुई आधारविन्दु तयार गरी त्यसैको आधारमा कुनै पनि मुलुकको आर्थिक विकासको मापन गरिने परिपाटीलाई अबका दिनमा सम्पूर्ण विश्वसमुदायले अख्तियार गर्ने प्रवल सम्भावना रहेको छ ।

यसप्रकारका व्यवहारबाट निश्चितरूपमा हाल कायम रहँदै आएको आर्थिक असमानताको दूरीलाई क्रमशः न्यून गर्दै धनी–गरिव दुवै वर्गलाई आर्थिक समानताको समान अवसरको सुनिश्चिता दिलाउनु पर्ने हुन्छ । जसका लागि एक आपसमा रहेको मतभेदलाई बिर्संर्दै मिहिनेत र हौसलाका साथ हातेमालो गर्दै क्रमशः अगाडि बढ्दै जाऔँ । जसबाट जस्तोसुकै असहजतालाई पनि चिर्दै सफलता प्राप्ति हुने कुरामा कुनै द्विविधा रहने छैन भन्दा फरक नपर्ला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया