Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपरिश्रममा कमाउने र रमाउने शिक्षाको खाँचो

परिश्रममा कमाउने र रमाउने शिक्षाको खाँचो


बाबुकाजी कार्की
कोरोना कहरका कारण लाखौं नेपाली बेरोजगारी हुने निश्चित छ । वैदेशिक रोजगारमा गएका युवायुवती स्वदेश फर्किने लहर नै चल्दै छ । स्वदेशमा रोजगारीको भविष्य नदेखेर विदेशिएका युवा जनशक्तिलाई उचित रोजगारीको व्यवस्थापन गर्न हम्मे पर्ने टड्कारो देखिन्छ । विगतको हाम्रो शिक्षा नीति र कार्यक्रमले युवा जनशक्तिलाई देशभित्रैको परिश्रममा कमाउने र रमाउने वातावरण दिन राज्य चुकेकै हो । जसको फलस्वरूप विगतमा रोजगारीका लागि विदेशिएका लाखौं श्रमिकहरू विश्वव्यापी कोरोना महामारीका कारण स्वदेश फर्किएपछि बेरोजगारीको भयावह स्थिति नआउला भन्न सकिन्न । सरकारको नीति तथा कार्यक्रममा अल्पकालीन र दीर्घकालीन योजानहरू सावधानीपूर्वक अवलम्बन गर्नु दूरदर्शिता ठहर्छ । समयको मागअनुसार स्वदेश तथा विदेशमा सहजै खपत हुने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने शिक्षा नीति आजको आवश्यकता हो ।

मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र ंसमायानुकूल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्नसक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नु पर्दछ । श्रमप्रति आस्था र विस्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्य केन्द्रित शिक्षाका नीति तथा कार्यक्रम हुनुपर्दछ ।

रोजगारीको लागि नेपालीहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धितविनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिंएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अंगाल्न हिच्किचाउँदै हजारौं, लाखौं रूपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ ।

तर, गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ? त्यो भन्दा तल्लोस्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोविज्ञानलाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटिई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।

शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाईन्छ । गुणस्तर प्राप्तांकको आधारमा निर्क्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुझ्ने तर ड्याड ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदिको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनु पर्दछ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानीव्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ ।

पेपर पेन्सील परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धिस्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकरात्मक परिवर्तनको आधारमा मूल्यांकन गर्ने उपायहरू खोजिनु पर्दछ । उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकी एक सय पूर्णाङ्कका सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुर्नवालोकन गरिनुपर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ ।

अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उतीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनिहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साहित, उर्जाशील सफल नागरिक वनाउने खालको व्यवहारिक पौरखी शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्दछ ।

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्यांकन गरेर सोही अनुसार अधिकतम सम्बोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनु पर्दछ । अतः शिक्षकले सर्वप्रथम बालबालिकालाई पढ्नुपर्छ, अनि मात्र त्यसलाई सम्बोधन गर्ने गरी विषयवस्तु र विधिको छनौट गरिनुपर्दछ । अभिभावकले अंगालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनु पर्दछ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जूमा र सम्पन्न गर्न जिम्मेवारीपुर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनु पर्दछ । विद्यार्थीले सामान्यतया ६ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्दछ ।

घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकासँग निरन्तर सम्पर्क राख्ने नीति लिनु पर्दछ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि र क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भैराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ । उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशालि बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो ।

बालबालिकाभन्दा हामी जान्ने छौं हामीले भनेको मात्र उनीहरूले मान्नु पर्दछ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्त लादने खालको विषयवस्तु र विधिभन्दा पनि उनीहरूको क्षमता र मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादनगर्ने पहिलो शर्तको रूपमा लिन सकिन्छ । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकता अनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठयक्रम निर्माण र कार्यान्यवन गरिनु पर्दछ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास गराउनु पर्दछ ।

मानवीयलगायतका साधन स्रोतको उच्चतम प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । शिक्षाकर्मीहरूको पेशागत दक्षता र समर्पण बढाउने खालका सेवासुविधाको व्यवस्था गरिनुुुपर्दछ । त्यस्तै शिक्षक र त्यससँग आवध शिक्षाकर्मीहरूको पेशागत दक्षताको मूल्याकंन विद्यार्थीको उपलब्धिको आधारमा गरिनु पर्दछ । त्यस्तै बालबालिकाको सक्रिय सहभागिता विद्यालयभित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्षरूपमा बढाउन बाल क्लबलाई स्थापना गरी सक्रिय बनाउनु पर्दछ । उनीहरूमा आत्मबल र आत्मविश्वासको बृद्धि र विकास गर्न सामाजिक परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी हुन प्रोत्साहित गरिनु पर्दछ । किनकी विद्यार्थीहरू भविष्यका कर्णाधार र वर्तमानका साक्षेदार हुन भन्ने मान्यताअनुरूप उनीहरूको सलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्दछ ।

त्यसै गरी विद्यार्थी विद्यालयबाट भागेर घर जानेभन्दा पनि घरबाट भागेर विद्यालय आउने खालको उत्साहजनक स्वस्थ वातावरण विद्यालयमा सिर्जना गर्न सक्यौं भने उनीहरूले आफ्नो क्षमता र चाहनाअनुरूपको व्यावहारिक ज्ञान र सीप अभिवृत्ति हासिल गर्न सक्छन । कक्षाकोठा र क्रियाकलापं लोकतान्त्रिक अभ्यास र अनुभुति दिने हुनु पर्दछ । अनुशासनको नाममा भावना र विचार प्रष्फूटन हुनलाई कुण्ठित गर्ने परम्परालाई निरुत्साहित गरिनु पर्दछ । ठूलो मान्छेभन्दा पनि असल नागरिक बन्न प्रे्ररित अर्थात् आफ्नो खुट्टामा आफैं उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रूपमा विद्यालय बन्नु पर्दछ ।

अतः उच्च प्राप्तांकलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिईने प्रगतिशील शिक्षाभन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको पूजा गर्दै भेदभावरहित भावना र व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछि त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिष्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने गरिखाने शिक्षा आजको खाँचो हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया