Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभारतीय मिडियाको दुष्प्रचार : नेपाली स्वाभिमानमाथि थपिएको चोट

भारतीय मिडियाको दुष्प्रचार : नेपाली स्वाभिमानमाथि थपिएको चोट


नन्दलाल खरेल
शक्तिशाली देश चीन र पाकिस्तानबाट पटक–पटक चोट खाएपछि पछिल्लो समयमा भारतले आफ्नो केही सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिलाई व्यक्तिगतरूपमा जोडेर प्रसारित भइरहेका छन् । जुन प्रसारित सामग्रीहरू एकदमै अतिरञ्जित मात्र होइन अवास्तविक र आपत्तिजनक समेत रहेका छन् । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको लागि यो लज्जाको विषय हो । त्यति मात्र होइन आम नेपालीको दृष्टिमा समग्र भारतीय पत्रकारिताकै बदनाम भएको छ । भारत घुँडा टेकेर ठूला देशहरूलाई चाप्लुसी गर्छ भने साना देशलाई हेपाहा नीति अपनाई आफ्नो अधिनमा राख्न चाहन्छ ।

पछिल्लो पटक नेपालको नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध त्यसमा पनि नेपालका वर्तमान शासक ओली विरुद्धभारतीय सञ्चार माध्यम अनर्गल, स्तरहीन, तथ्यहीन कुराहरू प्रस्तुत भइरहेका छन् । अहिले हेर्दा हाम्रा प्रधानमन्त्रीमाथि प्रहार गरेजस्तो देखिए पनि अन्तर्यचाहिँ नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानमाथिको आक्रमणको हो यो । अहिले मात्रै होइन इतिहासको अनेकौं कालखण्डमा शृंखलाबद्धरूपमा भारतले नेपालको बेइज्जत र अपमान गर्दै आएको छ । हाम्रा शासकहरू जति नै खराब भए पनि राष्ट्रको अनेक समस्याहरूप्रति बेवास्ता गरे पनि, जति नै भ्रष्ट भए पनि, कुनै पनि राष्ट्रले गरेको थिचोमिचोमाथि कुनै पनि नेपालीलाई सह्य हुँदैन । प्रधानमन्त्री ओलीका विषयमा दर्जनौं असहमति भए पनि हाम्रा प्रधानमन्त्रीलाई छिमेकी राष्ट्रले अनेकौँ दुष्प्रचार गर्दा खुच्चिङ प¥यो भन्ने हुँदैन ।

भारतको मिडियाले नेपाललाई मात्र होइन चीनका राष्ट्रपति सी चिनपिङलाई कोरोना नरेश र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई लङ्गडो खान भन्दै अनेक दुष्प्रचार गर्दै आएको छ । लधाखमा भारत चीन दुवैबीचको सीमा विवादमा आफ्नो रवैया देखाउँदा उसका २० जना सैनिकको हत्या भएपछि भारत अहिले घाइते बाघको अवस्थाजस्तो देखिएको छ । नेपाललाई ऊ सिक्किम र कास्मीरलाई आफूमा विलय गराएझैँ गरी व्यवहार गर्दै आएको छ । पत्रकारिताको आफ्नो विश्वव्यापी मान्यता हुन्छ । तर भारतीय मिडिया त्यो मान्यताको धर्मविपरीत प्रधानमन्त्री ओली र सिंगो नेपालमाथि घृणित आरोप लगाइरहेको छ । जो कुनै पनि स्वाभिमानी नेपालीका लागि स्वीकार्य छैन र हुनु पनि हुँदैन । यस्ता कार्यको सबै नेपाली एकजुट भएर प्रतिवाद गर्न अपरिहार्य छ ।

विदेशी टेलिभिजन माध्यमका प्रसारणहरू नेपालमा वितरण गर्ने सेवा प्रदायकहरूले भारतका केही समाचार च्यानलको प्रसारण रोकिदिएका छन् । यसले भारतमा ठूलै खैलाबैला (तरंग) ल्याएको छ । भारतीय न्यूज टिभीका प्रस्तोताहरूले चीनको इसारामा नेपालले यस्तो भारतविरोधी कदम चालेको भन्दै ‘रोइलो’ गरिरहेका छन् । जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर अनर्गल प्रचार गरेको थियो । यस्ता पूर्वाग्राही सामग्रीले नेपालका दर्शकहरू वाक्कदिक्क भएका थिए । त्यति मात्र होइन दर्शकहरू आक्रोशित समेत भइसकेको महसुस गरेर वितरकहरूले यो निर्णय गर्न बाध्य भएको बुझिन्छ । तर सरकारी भनिने दूरदर्शनका समाचार च्यानल रोकिनेमा परेका छैनन् र भारतकै मनोरञ्जन च्यानल पनि असर पारिएको छैन । नेपाललाई अझ अगाडि बढेर सञ्चार माध्यमबाट हेपाहा प्रवृत्ति बढ्दै गए ती नरोकिएका च्यानल पनि बन्द नहोला भन्न सकिन्न ।

भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरू बन्द गरिएलगत्तै जी न्यूजको क्षमायाचना आएको हो । जी न्यूज झारखण्डले भनेको छ ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवश केही सामग्रीले कसैको मानवतामा ठेस पुगेमा हामी गल्ती स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शीर्षकमा प्रसारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुःख व्यक्त गर्न चाहन्छौं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’ उनीहरू गर्ने बेलामा जे पनि गर्छन् तर अहिले उनीहरूको व्यापारमा हानि हुने भएपछि आफ्नो लाजलाई बचाउँदै यस्तो निर्णय गर्छन् । उनीहरूको मक्सत नेपालीहरूले बुझेका छन् ।

ढिलै भए पनि नेपाल सरकारले भारतीय केही सञ्चार माध्यमले गरेको विभिन्न हर्कतमाथि गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपालीविरुद्ध यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गरेको छ । केही भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली राजनीतिक नेतृत्वविरुद्ध अपमानजनक र अनैतिक सामग्री प्रशारण र प्रकाशन भएकोमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रमा भनिएको छ, नक्कली, आधारहीन, न्यूनतम शिष्टता समेत प्रदर्शन नगरिएका यस्ता गलत अभियानले नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वको व्यक्तित्वमा चोट पुगेको छ ।

भारतीय सञ्चार माध्यम र तिनका पत्रकारहरू नेपालबारे अत्यन्त अल्पज्ञान भएर यो कार्य गरिरहेका छैनन् कि उनीहरू भयंकर पूर्वाग्रही भएर यस्ता कार्यहरू गरेका छन् । अझ स्पष्ट भन्नुपर्दा उनीहरू भारतीय मोदी सरकारको इसारामा काम गरिरहेका छन् । यदि मोदी सरकारको इसारामा भएको थिएन भने सरकारले यस्तो समाचार सम्प्रेषण गर्दा कारबाहीसम्म गर्न सक्थ्यो । तर भारत सरकारले त्यसो गरेको छैन । भारतीय मिडियामा खासगरी नेपाली राजनीतिज्ञहरूमाथि गलत आरोप लगाई जथाभावी टिप्पणी गर्ने शैली आफैँमा नौलो होइन । यसप्रति सरकार मौन बस्नु आफैँमा गम्भीर अपराध हो । देश सानो हुँदैमा स्वाभिमान सानो हुँदैन । चाहे ठूलो देश होस् या सानो देश होस् स्वाभिमान बराबरी हुन्छ । अहिलेको घटनामा चुप रहने हो भने यस्तो प्रवृत्ति पुनरावृत्ति झनै झांगिदै जान सक्छ । त्यसैले दुवै देशले कूटनीतिक मर्यादाको ख्याल गर्दै सच्याउन पहल गर्नुको विकल्प छैन ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका शब्दलाई सापटी लिदै भन्नुपर्दा कुरो घुमिफिरी चीनसितको भारतको असहज सम्बन्धमै केन्द्रित हुने गर्छ । चीनसँग भारतको एकातिर व्यापार छ अर्कोतिर सीमाविवाद । तर भारतको सीमाविवाद छ भन्दैमा नेपालले अकारण चीनसँग सम्बन्ध बिगार्न सक्तैन । साँध जोडिएको अर्को बलियो छिमेकीसँग एकाएक वैमनस्य मोल्दा नेपाल आफैँ असुरक्षित हुन पुग्छ । यतिसम्मको समझदारी दिल्लीले राख्नुपर्ने हो । राखेको छैन । उल्टो चाल छ । २०४४–४५ सालमा चीनबाट सैनिक सामग्री झिकाएको बेला पनि दिल्लीका सञ्चार माध्यमको स्वर अहिलेकै जस्तो चर्को भएको थियो । तर पछि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले दिल्ली भ्रमणमा छँदा कुरो स्पष्ट गरिदिनुभयो, नेपालले किन्न चाहेको हातहतियार भारतमा महंगो पर्ने रहेछ, त्यसैले किफायतमा चीनबाट लिइएछ ।

नेपालप्रति अपमान जनाउने ध्येयले भारतका सञ्चारमाध्यमले २०३२–३३ सालतिर पनि दुष्प्रचार अभियान (डिस्इन्फरमेसन क्याम्पेन) चलाएका थिए । त्यसको प्रतिवाद उतिखेरका प्रधानमन्त्री डा. तुलसी गिरीले पत्रकार सम्मेलनमार्फत कडा शब्दमा गरेको अभिलेखले बताउँछ । भारतको विदेश मन्त्रालयले त्यसउपर प्रतिक्रिया जनाउने क्रममा भारतको प्रेस पूर्णरूपेण स्वतन्त्र रहेको दाबी गरेको थियो । यथार्थचाहिँ के थियो भने त्यसबखत भारत संकटकालीन शासनमा परेको थियो र प्रेस स्वतन्त्रता कुण्डित अवस्थामा थियो । निजी क्षेत्रमा अखवार थिए तर रेडियो र टेलिभिजन सरकारी क्षेत्रमा थिए । नेपाल लक्षित ती भारतीय प्रचार सामग्रीका स्रोतबारे भ्रम रहेको भए सायद डा. गिरीको प्रस्तुति खरो हुने थिएन ।

आम भारतीयहरूको बुझाइ के छ भने भारतबिना नेपाल बाँच्न सक्दैन । नेपालीहरूलाई प्रायः हामीले नै रोजगारी दिएका छौं भन्ने उनीहरूको बुझाइ छ । त्यति मात्र होइन उनीहरूले चाहेको व्यक्तिले नेपालमा शासन गर्नु पर्छ । हामीले नै उनीहरूलाई लोकतन्त्र गणतन्त्र दिएको भैmँ गरी प्रस्तुत हुन्छन् उनीहरू । तर यी कुराहरूमा सत्यता छैन । रोजगारीकै कुरा गर्ने हो भने नेपालीले भारतबाट ल्याउने रकमभन्दा यताबाट उता जाने रकम चार गुना बढी छ । विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स गएको थियो भारतले रेमिट्यान्स आउने देशहरूको सूचीमा नेपालमा आठौँ स्थानमा छ । भारतमा रेमिटेन्स आप्रवाहको वृद्धिदर १४ थियो । यस हिसाबले सन् २०१९ मा नेपालबाट भारतमा तीन अर्ब ९१ करोड ९५ लाख रेमिट्यान्स गएको अर्थशास्त्रीहरूको अनुमान छ । यो हिसाबले सन् २०१९ मा चार खर्ब ७० अर्ब नेपाली रूपैयाँ भारत गएको देखिन्छ । यति मात्र होइन व्यापारबाट पनि भारत नेपालसँग अतुलनीय फाइदामा छ । भारतको सबैभन्दा ठूलो १० व्यापारिक साझेदारमध्ये नेपाल एक हो । गत आर्थिक वर्ष २०७५–७६ मा भारतले नेपाललाई नौ खर्ब १८ अर्बको सामान बेचेको थियो । तर उसले नेपालबाट जम्मा ६३ अर्बको सामान किनेको थियो । नेपालजस्तो देशलाई अझ माया गर्नुपर्ने बेलामा भारतले यो रवैया देखाउनु नेपाललाई भन्दा कैयौ हिसावले उसलाई घाटा छ ।

विश्वभरि नै पत्रकारिताका तीन मुख्य तत्वहरू हुन्छन्ः निष्पक्षता, वस्तुनिष्ठता र विश्वासनियता । तर हाम्रो दक्षिणतर्फको छिमेकी मुलुक भारतमा यी लागू छैनन् । उनीहरूले प्रोपोगान्डाको आगो दन्काएर समाचारको निम्नस्तरको भद्दा कुरूप प्रस्तुत गरेर आफ्नो स्वार्थमा खेल्छन् । भारतीय मिडियाहरू सत्ताको दास बन्ने गरेका छन् । राज्यको दमनमा परेका उत्पीडित समुदाय र जातीय अल्पसंख्यकका लागि त्यहाँको मिडियाले कुनै आवाज उठाउँदैनन् । बरु उल्टो तिरस्कार गर्छन् । यति मात्र होइन देशको कूटनीतिक मर्यादाको ख्याल नगरी विभिन्न देशहरूका बारेमा अनर्गल प्रचार गर्छन् । अहिले चीनसँग जारी रहेको तनावमा पनि त्यहाँको मिडियाको शैली उस्तै छ । लद्दाखमा भएको भीडन्तमा भारततर्फ २० जना सैनिकको हताहती भएको भारतले स्वीका-यो । तर उसले हुँदै नभएको ४५ जना चिनियाँ सैनिक मारिएको प्रोपोगन्डा प्रसारण गरेर आत्मरतिमा रमाइरहेको छ । गलत समाचारको व्यापार गर्न भारत माहिर छ । आज नेपालको हकमा पनि यसले विभिन्न समाचारहरू सम्प्रेषण गरेर नेपालीहरूलाई विभाजित गराउनेमा उद्यत छ ।

अन्त्यमा मुलुकमा आज नेकपाभित्र शक्ति संघर्ष उत्कर्षमा छ । कुन व्यक्तिलाई अध्यक्ष बनाउने पार्टीको कुरा हो भने कुन व्यक्तिलाई प्रधानमन्त्री बनाउने संसद्को सार्वभौम अधिकार हो । संसद्को बहुमतले विश्वास कायम गरेको व्यक्ति प्रधानमन्त्री हुन्छ भने विश्वास नभएको व्यक्ति त्यो पदबाट आफैँ हट्छ । यो संसदीय व्यवस्थाको मान्यता हो । तसर्थ हाम्रो राजनीतिक प्रणाली र देशको प्रधानमन्त्रीउपर कुनै पनि देशले गिद्दे नजर लगाउनु कदापि राम्रो हुँदैन । यसतर्फ भारतीय शासकको चेतना भया । नेपाली शासकहरू पनि चर्को राष्ट्रवादको पूरा गरेर सधैंभरि यसलाई दह्रो हतियारको रूपमा प्रयोग नगर्नु नै बेस हुन्छ । यसतर्फ हाम्रा शासकहरूको पनि ध्यान जानु अति जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया