Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रभावकारिताको कसीमा वैकल्पिक सिकाइ निर्देशिका

प्रभावकारिताको कसीमा वैकल्पिक सिकाइ निर्देशिका


बाबुकाजी कार्की
कोरोना संक्रमणका कारण शिक्षण संस्था अनिश्चितकालीन बन्द रहेको अवस्थामा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । वैकल्पिक सिकाइ आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको तर्जुमा विनाको निर्देशिका कार्यान्वयन हुन कठिन छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ५० लाख विद्यार्थीलाई लक्ष्य गरी सञ्चालन गरिएको वैकल्पिक सिकाइ कार्यक्रम विवादरहित छैन । वैकल्पिक सिकाइको प्रभावकारिताको बारेमा शैक्षिक बहस र चर्चा चुल्लिएको छ ।

कोरोना संक्रमणको गति, आयम र अवस्था हेर्दा विद्यालयलगायतका शिक्षण संस्थाहरूमा तत्कालै पठनपाठन सुचारु हुने छाँट देखिँदैन । कोरोना त्रास अन्य क्षेत्रमा जस्तै शिक्षामा पनि अन्यौलता छाएको जगजाहेर नै छ । कोरोना लकडाउनले शैक्षिक पठनपाठन र परीक्षामा अनिश्चयको माहोल खडा गरिदिएको छ । शिक्षण संस्थाहरूमा पढाइ सुरु हुने दिनको टुंगो छैन । शिक्षण संस्थामा लामो बिदाका कारण विद्यार्थीहरू एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न चल्न रुचाउने बालबालिकालाई घरको चौघेराभित्र २४सैं घन्टा सीमित गर्दा छटपटि र बेचैनी बढ्नु स्वभाविकै हो । यसबाट उनीहरूमा शारीरिक मानसिक तनाव र अन्यौलता आउनु अनौठो होइन । शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रोसँग विकास भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्र नै थेगिराख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ ।

लकडाउनका कारण विश्वका करोडौं बालबालिकाको पठनपाठन ठप्प भएको छ । अहिले झण्डै ३४ हजारभन्दा बढी विद्यालयहरूमा ७० लाखको हाराहारीमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट कसरी अध्यापन गर्न सकिएला चुनौतीको विषय छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार १३ प्रतिशत अर्थात् तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने संभावना छ । बिजुलीको सुविधा भएका विद्यालय ३५ प्रतिशत छ भने १० हजार सामुदायिक विद्यालयमा मात्र कम्प्युटरको व्यवस्था छ । अझ इन्टरनेटलगायत सूचना प्रविधिमा राम्रो ज्ञान र सीप भएका शिक्षकको एकिन अभिलेख सरकारी निकायमा छैन ।

बरालिएका बालबालिकाको अध्ययनलाई सुचारु गर्दै शैक्षिक क्षति न्यूनीकरणका लागि वैकल्पिक अनलाइन सिकाइलाई नै उपयुक्त विधि महसुस गरिएको छ । शिक्षण सिकाइ क्रियाकलाप शिक्षक, विद्यार्थी र पाठ्यवस्तुको त्रिकोणात्मक सन्तुलित संयोजनमा मात्र सफल हुनसक्छ । तथापि आवश्यक स्रोत सामग्रीको यथेष्ट तर्जुमा नगरिकन सञ्चालन गरिने वैकल्पिक सिकाइ कर्मकाण्डी मात्र नबन्ला भन्न सकिन्न ।

वैकल्पिक सिकाइ सञ्चालनका लागि आधारभूत सर्तहरू कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धता र स्तर कस्तो छ ? आम विद्यार्थीमा सहज पहुँच छ कि छैन ? अनलाइन प्रविधिलाई आत्मसात गर्ने दक्ष जनशक्ति पर्याप्त छ वा छैन ? वस्तुपरक लेखाजोखा गर्न अल्छी गरिनु हुन्न । नेपाल दूरसञ्चारले भरखरै प्रकाशित गरेको तथ्यांकअनुसार कुल जनसंख्यामध्ये ७१ द्यशमलव ७६ मा इन्टरनेट पहुँच छ ।

जसमध्ये तारसहितको सेवा १६ दशमलव ११ ताररहित मोबाइल आदीमा ५४ दशमलव ९० प्रतिशतको पहुँच देखिन्छ । पहुँच भएका घरमध्ये व्यक्तिगत सुविधा भएका ८ प्रतिशत मात्रै छ । त्यसमा पनि सहरमा १२ प्रतिशत र पहाडमा २ प्रतिशत मात्रै छ । युनिसेफको पछिल्लो अध्ययनअनुसार कम्प्युटर र इन्टरनेट सुबिधा भएका विद्यार्थी संख्या ८ प्रतिशत, ३७ प्रतिशत बालबालिकाको घरमा टेलिभिजन, ८० प्रतिशतको घरमा मोबाइल फोन र ३० प्रतिशतको घरमा रेडियो रहेको देखिन्छ । दुर्गम तथा सहरी क्षेत्रमा सूचना प्रविधिका सुविधाहरूको विविधता भएको ले अनलाइन कक्षाको योजना पनि सोही अनुसार गरिनु पर्दछ । साथै दक्ष र जाँगरिलो तथा जवाफदेही शिक्षकको अभावमा अनलाइन शिक्षा कागजी घोडा मात्रै नबन्ला भन्न सकिन्न ।

कोरोना लकडाउनको बहनामा भएपनि वैकल्पिक सिकाइ अन्तर्गतको अनलाइन शिक्षणलाई भविष्यमा समेत निरन्तरता दिने गरी नीति तथा रणनीति बनाउनु दूरदर्शिता ठहर्छ । सूचना तथा सञ्चार प्रविधिमा क्षणक्षणमा नयाँ नयाँ आविष्कार भै राखेका ज्ञान र सीप बाट अद्यावधिक हुन पनि अनलाइन शिक्षा अपरिहार्य भैसकेको छ । सरकारी गैरसरकारी निकायहरूले समेत भर्चुअल विधि बाट भिडियो कन्फ्रेन्समार्फत बैठक, अन्तरक्रिया तथा सभासम्मेलनको लहर नै चलेको छ ।

आजको शिक्षाले पनि अनलाइनलगायतका सूचना प्रविधिमा पोख्त जनशक्ति उत्पादन गरे मात्र विश्व श्रमबजारमा खपत हुनेतर्फ हेक्का राख्न जरुरी छ । अहिले सहरबजारमा भएका केही निजी विद्यालयहरूले भर्चुअल तथा अनलाइन कक्षाहरू सुरु गरिसकेका छन् । इन्टरनेट तथा कम्प्युटरमा सहज पहुँच भएका बालबालिका तथा अभिभावकहरू यस कार्यक्रमबाट सन्तुष्ट नै देखिन्छन् । घरमा मोबाइल र टीभीमा झुण्डिरहने छोराछोरी अनलाइनमा पढ्न थालेको देख्दा अभिभावक मक्ख परेका छन् ।
अहिले सूचना प्रविधिमा आधारित शिक्षणको विकल्प अरु देखिँदैन । देशको विभिन्न सुगम र दुर्गम भौगोलिक क्षेत्रमा छरिएर रहेका विद्यार्थीलाई समेट्ने गरी अनलाइन शिक्षण कसरी सञ्चालन गर्न सकिएला ? चिन्ता र चिन्तन विषय हो । अनलाइन शिक्षाको लागि आवश्यक उपकरण तथा नेटको सहज पहुँचको सुनिश्चितता कसरी गर्न सकिएला? राज्य गम्भिर छलफलबाट निष्कर्षमा पुग्नु पर्दछ ।

त्यस्तै परम्परागत अध्यापनमा अभ्यस्त अधिकांश शिक्षकहरूबाट अनलाइन शिक्षण सहज होला त ? मौजुदा पाठ्यक्रम र पाठ्यवस्तुहरूलाई अनलाइन सुहाउँदो परिमार्जन नगरिकन शिक्षण सिकाइ उद्देश्यअनुरूप सार्थक होला र ? यी र यस्तै चुनौतीहरूको रौंचिरा विश्लेषणका आधारमा अनलाइन शिक्षाको तर्जुमा गरिनु पर्दछ । सूचना प्रविधिको प्रयोग गरेर अनलाइन प्रकृतिका शिक्षणको व्यवस्थापन सहज नभए पनि असम्भव छैन । शिक्षामा अनलाइन कक्षा, ई–लर्निङ, भर्चुअल कक्षा आदीको उच्चतम प्रयोग गरी भविष्यमा डिजिटल नेपालमा रूपान्तरण गर्ने अवसरको रूपाम कोरोना महामारीलाई सदुपयोग गर्नु दूरदर्शिता ठहर्छ ।

हाम्रो विद्यमान परिवेश र उपलब्ध स्रोतसधानको प्रयोग गर्दै अनलाइनलगायतका सूचना प्रविधिको उच्चतम प्रयोग गरेर विद्यार्थीलाई नविन ज्ञान र सीपबाट सुसज्जित गर्ने प्रस्थान विन्दुको रूपमा अनलाइन शिक्षाको सदुपयोग गर्न विलम्ब गर्नु हुन्न । लकडाउन अवधिभर देशभरका विद्यार्थीलाई अनलाइन शिक्षामा शरिक गराउन नसके पनि सञ्चारका अन्य उपकरण र माध्यमको योजनाबद्धरूपमा सुरुवात गर्न सकिन्छ ।

अहिले प्रायजसोका हातहातमा मोबाइल भएकोले स्थानीय एफएम रेडियो, टिभीहरूमार्फत विषयगत शिक्षण सामग्री तयार गरेर प्रचारप्रसार गर्दा धेरै बालबालिकालाई समेटन सकिन्छ । त्यस्तै शिक्षकहरूको बसोवास आसपासमा भएका विद्यार्थीहरूलाई सहजीकरण गर्न जिम्मेवारी तोक्न सकिन्छ । उत्कृष्ट काम गर्ने शिक्षकहरूलाई निष्पक्ष मूल्यांकन गरेर पुरस्कार र दण्डको व्यवस्था गर्नाले जवाफदेही बनाउन टेवा पुग्दछ । विगतमा निश्चित भौगोलिक क्षेत्रभित्रका विद्यालयहरूको पठनपाठनलाई नियमित र सहजीकरण गर्ने गरी स्थापित स्रोत केन्द्रहरूलाई सक्रिय बनाएर पनि लकडाउनमा अहिलेको शैक्षिक समस्यालाई सम्बोधन गर्न सहजता हुन्छ ।

संविधानमा संघीय संरचनाअनुसार विद्यालयतहको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएकोले अर्थपूर्ण वैकल्पिक सिकाइ व्यवस्थापनका लागि तीनै तहका सरकारबीच आपसमा सदभाव, सहयोग, सहकार्य र समन्वयको खाँचोलाई नजरअन्दाज गर्न सकिन्न । शिक्षण सिकाइ क्रियाकलाप शिक्षक, विद्यार्थी र पाठ्यवस्तुको त्रिकोणात्मक सन्तुलित संयोजनमा मात्र सफल हुनसक्छ । आवश्यक स्रोतसामग्रीको यथेष्ट तर्जुमा नगरिकन सञ्चालन गरिने वैकल्पिक सिकाइ कर्मकाण्डी मात्र नबन्ला भन्न सकिन्न ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया