Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना कहर : पाँच लाख जीवन बीमा एजेन्टहरूको भविष्य !

कोरोना कहर : पाँच लाख जीवन बीमा एजेन्टहरूको भविष्य !


काठमाडौं ।
लगभग डेढ वर्षअघिको तथ्यांकअनुसार नेपालमा पाँच लाख ४७ हजार दुई सय ७६ जना मानिसहरूले ‘जीवन बीमा’को एजेन्ट बन्नका तालिम लिएका छन् । यसरी हेर्दा नेपालमा हाल चालू रहेका १९ वटा जीवन बीमा कम्पनीमा पाँच लाख ४७ हजार दुई सय ७६ जना मानिसहरूले जीवन बीमाको एजेन्ट बनेर अर्धरोजगार वा भनौँ रोजगार भएर काम गर्नका लागि तालिम र लाइसेन्स लिएका छन् ।

हुन त ‘जीवन बीमा’लाई न पेसा बनाएर जीविका चलाउँछु वा अतिरिक्त आम्दानी गर्छु भनेर तालिम र लाइसेन्स लिएर जीवन बीमा एजेन्ट बनेका मानिसहरूमध्ये कति जनाले आफ्नो स्वयम् जीवन बीमा गरेका छन् ?, कति जनाले आफ्नो परिवारभित्रकै मानिसहरूको गराएका छन् ? अनि कति जनाले आफन्त र नातागोताहरूको बीमा गराएका छन् ? अहिले नै त्यतातिर नजाऔँ । अझ माथि उल्लेख गरिएको जीवन बीमा एजेन्ट बनेका मानिसहरूको संख्याको जुन तथ्यांक छ, सो तथ्यांक लगभग डेढ वर्षअघिको भएको हुनाले डेढ वर्षको अवधिमा एजेन्ट बनेका मानिसहरूको संख्या बढेर साढे छ लाखदेखि सात लाखसम्म पुगिसकेको अनुमान गर्न सकिन्छ ।

किनभने, पछिल्लो समय जीवन बीमा कम्पनीहरूले तीव्र गतिमा एजन्टहरू बढाउने र नयाँलाई तालिम दिएर आफ्नो कम्पनीको व्यापार बढाउनेतर्फ अघि बढिरहेकै छन् । भलै कोभिड १९ महामारीको असरले गर्दा सबै क्षेत्रमा डाँमाडोल अवस्था छ । यसरी हेर्दा अहिलेको अवस्थामा हाम्रो देश नेपालमा जीवन बीमा एजेन्ट बनेका मानिसहरूको संख्या कति पुग्यो ? अहिलेसम्म पछिल्लो तथ्यांक बाहिर नआएकोले गर्दा किटेरै भन्न सक्ने अवस्था भने छैन ।

तर, पनि एउटा प्रश्न के गर्न सकिन्छ भने, नेपालमा मानिसहरूलाई ‘जीवन बीमा’ गराएर जीविकोपार्जन गर्छु भनी एजेन्ट बनेका पाँच लाख ४७ हजार दुई सय ७६ मध्ये कति जना जीवन बीमा एजेन्टहरूले आफ्नो पेसा सुचारुरूपमा अपनाएका छन् त ? यसको भरपर्दो तथ्यांक प्रस्तुत गर्ने कुनै निकाय छैन । त्यसैले हचुवाकै भरमा भन्नुपर्दा पाँच लाख ४७ हजार दुई सय ७६ एजेन्टहरूमध्ये सम्भवतः मुस्किलले १०/१२ प्रतिशत जीवन बीमा एजेन्टहरूले मात्रै आफ्नो पेसा सुचारु गर्न सकेका होलान् भनी अनुमान गर्न सकिन्छ ।

अझ गत एक वर्षको अविधमा धेरैजसो मानिसहरूले कोरोना महामारीलाई निहुँ बनाएर बीमा गर्नदेखि परपर भइरहेको वा बहाना बनाएर सजिलै पन्छिने गरेको स्थिति पनि छ । फेरि बीचमा नेपाल सरकारले गरेको लकडाउन र निषेधाज्ञाले पनि जीवन बीमा व्यवसायमा केही हदसम्म धक्का लागेको थियो । सो समयमा मुस्किलले ४/५ प्रतिशत ‘जीवन बीमा’ एजेन्टहरू मात्रै सक्रिय भएका थिए भन्ने भनाइ छ ।

माथिको लामो भूमिकापछि खास विषयतिर लागौँ । नेपालमा हाल २० वटा ‘निर्जीवन बीमा कम्पनी’, १९ वटा ‘जीवन बीमा’ कम्पनी र एउटा ‘पुनर्जीवन बीमा’ कम्पनीहरू गरी जम्मा ४० वटा बीमा कम्पनीहरू चालू रहेका छन् । तीमध्ये पनि यहाँ खास चर्चा गर्न लागिएको चाहिँ कोरोनाको कहरबीच नेपालका ‘जीवन बीमा’ एजेन्टहरू कसरी बाँचिरहेका छन् ? उनीहरूले कसरी आफ्नो व्यवसाय सुचारु गरेका होलान् ? अनि यस्तो विषम र आर्थिक संकटले मानिसहरू धर्मरको अवस्थामा बाँचिरहेका बेलामा जीवन बीमा कम्पनीहरूले कम्पनीको मेरुदण्डको रूपमा रहेका आफ्ना एजेन्टहरूलाई केही सहुलियत वा केही न केही राहत दिएका छन् त भन्नेतर्फ पनि चर्चा गर्न उपयक्त होला कि ? भन्ने यो पङ्क्तिकारको बुझाइ हो ।

निश्चय नै त्यसो भन्दैमा सबै (तालिम र लाइसेन्स लिएका तर, एउटा पनि पोलिसी बिक्री नगरेका) एजेन्टलाई जीवन बीमा कम्पनीहरूले आफ्नो मेरुदण्डको रूपमा रहेका आफ्ना एजेन्टहरूलाई केही सहुलियत वा केही न केही राहत दिनुपर्छ भन्नु मनासिव देखिदैन/हुँदैन । तर, केही न केही व्यवसाय गरेका र गरिरहेका अनि आर्थिकलगायत शारीरिक अवस्था कमजोर भएका जीवन बीमा एजेन्टहरूलाई उनीहरूको अवस्था हेरेर बीमा कम्पनीहरूले आर्थिक सहयोग हुनेगरी प्याकेज ल्याए राम्रो हुन्थ्यो कि ? तर, हालसम्म कुनै पनि बीमा कम्पनीहरूले आफ्ना एजेन्टहरूलाई केही सहुलियत वा केही न केही राहत दिने कार्यक्रम ल्याएको समाचार सुन्न पाइएको छैन ।

हुनसक्छ, यस्तो कार्यक्रम जीवन बीमा कम्पनीहरूले ल्याइसकेका छन् । तर, त्यस्तो समाचार मैले नसन्नु/नहेर्नु/नपढ्नु मेरो कमजोरी हो । तर, माथि भनिएझैं कार्यक्रम हालसम्म नेपालका कुनै पनि जीवन बीमा कम्पनीहरूले आफ्ना एजेन्टहरूलाई भरथेग हुनेगरी आर्थिक प्याकेज ल्याएका छैनन् भने त यस विषयमा जीवन बीमा कम्पनीका मालिकहरूले एकपटक सोचविचार गर्ने पो हो कि ? यसो गर्न सके जीवन बीमा कम्पनी र एजेन्ट दुवै पक्षलाई धेरै राम्रो हुन्थ्यो भन्ने लाग्छ ।

त्यसो त अझै पनि जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरूले नोभेल कोरोना भाइरस (कोभिड–१९) जस्तै भविष्यमा आइपर्नसक्ने अन्य आपत्विपत्हरूलाई ध्यानमा राखेर आफ्ना एजेन्टहरूको आर्थिक अवस्थालाई केही हदसम्म भरथेग गर्ने/आर्थिकरूपमा उद्धार गर्न मिल्ने गरी अलग्गै कोष खडा गर्नुपर्ने देखिन्छ ।

हुन त अहिले पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ८७ अर्ब रुपैयाँभन्दा बढी रकम छ, जुन सधैँभरि कुहिएर बस्छ ।, त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, एलआईसीलगायत अन्य केही जीवन बीमा कम्पनीहरूसँग पनि सधैँभरि कुहिएर बस्ने अर्बौं पैसा (जीवन बीमा कोष) छ । तर, कोषको त्यस्तो रकम ती कम्पनीहरूले कतिखेर, कहाँ र कसरी प्रयोग गर्न मिल्ने हो स्पष्ट छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया