Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र चाँगुनारायण

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र चाँगुनारायण


काठमाडौं ।
नेपालकै अति ख्यातिप्राप्त देवस्थलहरूमध्ये चाँगुनारायण पनि एक हो । यहाँको नगरपालिकाको यसै देवस्थलको नामबाट चाँगुनारायण नगरपालिका नामाकरण गरिएको छ । साथै यस क्षेत्रलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश समेत गरिएको छ । नेपालको सबैभन्दा पुरानो भाष वंशावली, गोपाल राज वंशावलीले पनि यस्तो स्थानको बारेमा चर्चा गरेको पाइन्छ । स्कन्द पुराणअन्तर्गतको नेपाल महात्म्य हिमवत खण्ड, प्राचीन इतिहासबाट पनि यस क्षेत्रको बारेमा चिनारी गराएको पाइन्छ ।

यस्ता ग्रन्थले चिनारी गराउँदा यो ठाउँलाई चाँगु डोलागिरीबाट चिनाएको पाइन्छ । भगवान् नारायणलाई चम्पकनारायण, चाँगुनारायण तथा चापान्नारायण भन्ने गरको पाइन्छ । कुनै चाँप जातीको वृक्षको ठुटोबाट उद्भव भएकोले यसको नाम चम्पकनारायण रहन गएको बुझिन्छ । माथि उल्लिखित वंशावलीहरूमा पनि चाँगुनारायणकै उल्लेख हुनुले चम्पकनारायण चम्पक शब्द अपभ्रंश हुनगई चाँगुनारायण भएको बुझिन्छ ।

यस स्थानमा निवास गरेका नारायणको आसपासको क्षेत्रलाई दोलाद्री पर्वत भनेर भन्ने गरिन्छ । आजकल डोलागिरी नाम चलनमा आएको छ । दोलाद्री शब्दले हल्लिनु तथा चलायमान हुने कुरा बुझाउँछ । दोलाद्री शब्दको अपभ्रंशरूप नै डोलागिरी बन्न पुगेको देखिन्छ । लिच्छवीकालका अति प्रख्यात राजा मानदेवको विजय स्तम्भ जुन मन्दिरको पश्चिमतर्फको शिलामा गाडिएको छ, त्यस स्तम्भबाट बुझ्न सकिन्छ । मानदेवद्वारा आफ्नो विजय यात्राको वर्णन गरिएको शिलामा लिखित अभिलेखबाट बुझ्न सकिन्छ ।

राजा मानदेवको विजयस्तम्भमा प्रयोग भएको शब्दहरूबाट यो कुराको अनुमान गर्न सकिन्छ कि राजा मानदेवभन्दा धेरै अगाडि नै यस स्थानको नाम र यहाँस्थित नाराययाको स्थापना भइसकेको रहेछ भन्ने कुरा निःसन्देह छ । नेपालको पुरातात्विक इतिहासमा सबैभन्दा जेठो प्रामाणिक अभिलेखहरू पाइनु यहाँको विशेषता हो । यस क्षेत्रभित्र अन्य धर्म र सम्प्रदायका यत्रतत्र छरिएका मूर्तिहरू पाइनुले पनि यसको पुष्टि हुन्छ । कला कौशलहरू पनि आजसम्म बेजोडरूपमा रहिरहेको कारणबाट पनि यस स्थानलाई नेपालकै प्रतिविम्बको रूपमा लिन सकिन्छ ।

चाँगुनारायणमा रहेको राजा मानदेवको विजय स्तम्भस्थित प्रस्तुत अभिलेखमा अंकित समय संवत ३८६ देखिन्छ । यो सम्वतमा ३८६ जेष्ठमास शुक्लपक्ष प्रतिपदा भनी उल्लेख गरिएको छ । चाँगुनारायणको उत्पत्तिलाई जोड्ने सन्दर्भमा, कतै केही स्थानमा हरिदत्त वर्मालाई जस दिएको पाइन्छ । हरिदत्त वर्मा मानदेवभन्दा अगाडिका शासक मानिन्छन् । यिनैले उपत्यकाभित्र पर्ने चार नारायण स्थापना गरेका हुन् भनिन्छ । तर आजसम्म यसको कुनै ऐतिहासिक प्रमाण पाइएको छैन ।

चाँगुनारायण मन्दिर परिसरमा भगवान् शिवको सानो तर कलाले युक्त मन्दिर देख्न पाइन्छ । यसलाई किलेश्वर महादेव भनिन्छ । यसै परिसरमा दश महाविद्याको समूहभित्र पर्ने छिन्नमस्ता देवीको मन्दिर पनि रहेको छ । यीबाहेक वैकुण्ठ विष्णु, महाविश्णु, गरुडनारायण, श्रीधर विष्णु, त्रिविक्रम (वामन) विश्वरूप, नरसिंह, गणेश, भैरव, संखचक्र आदिका प्रसिद्ध कलात्मक मूर्तिहरू, नारायणका शिरच्छेदन भएका मूर्तिहरू यत्रतत्र पाइन्छन् ।

ख्यातिप्राप्त मन्दिरहरूमा, भगवान् शिवको मुखलिंग मूर्ति पनि एक हो जसलाई किलेश्वर महादेव भनिन्छ । अर्काे छिन्नमस्ता देवीको प्रतीकारत्मक स्वरूप भएको मन्दिर पनि हो । सत्रुहरूको घमण्डलाई तोड्ने, हतियार चलाउन र रोक्ने काममा प्रवीण भएका, सच्चा पराक्रमी देखिने, राम्रो हात, चहकिलो सुनजस्तै सुन्दर शान्त अनुहार भएका, पुष्ठ काँध भएका, नीकलमजस्ता आँखा भएका, साक्षात रती पति कामदेवजस्ता स्वरूप भएका भनी वर्णन गरिएको छ । कतै मानदेवद्वारा स्थापित गरुडको सुन्दर मूर्तिलाई आफ्नो प्रतीमा (सालिक) राख्ने बनाउने चलन थिएन । त्यसैले चाँगुनारायण मन्दिरमा गरुड चढाउने मानदेवले स्थापना गरेको गरुडलाई प्रतीकको रूपमा समर्पण गरेको भन्न पनि सकिन्छ ।

नेपाल माहात्मयको वर्णनको पनि चाँगुनारायणको बारेमा यस्तो कुरा व्यक्त गरेको देखिन्छ । यो क्षेत्रमा बस्ने तपस्वी ब्राह्मण सुदर्शनको कथासँग पनि जोडिएको पाइन्छ । यिनको कपिला नाम गरेको गाई दिनानुदिन चम्पक वृक्षको फेदमा जाने र आफ्नो सबै दुध त्यहीँ झार्ने गर्थिन् । कुनै सुन्दर पुरुष चम्पक वृक्षबाट प्रकट भई गाईको दुध खाने त्यसपछि अलप हुने क्रम सात दिनसम्म चल्यो । आफ्नो घरमा गाईद्वारा दुध नदिएपछि सुदर्शन ब्राह्मणले चियो गर्ने क्रममा देखे । त्यो देख्नासाथ क्रोधित बनेका ब्राह्मणले त्यस पुरुषको शिर छेदन गरिदिए । सिरोच्छेदित पुरुषलाई शङ्ख, चक्र गधापद्य स्वरूपमा प्रकट भएको देखेर सुदर्शन ब्राह्मण साह्रै भयभित भए । भगवान्द्वारा ब्राह्मणलाई अभयदान दिँदै आफू त्यही चम्पक वृक्षमा स्थापित भई डोलागिरी पर्वतमा विराजमान हुने कुराको वर्णन भएको पाइन्छ । चम्पक वृक्षमा स्थापित भएका चारायणले ब्राह्मण सुदर्शनलाई नै पुजारी भई काम गर्न भनिएको पाइन्छ । जसअनुसार चाँगुनारायण प्रथम पुजारी सुदर्शन ब्राह्मण भएको बुझिन्छ ।

नेपाल महात्म्यअनुसार चाँगुको ठुटोबाट प्रकट भई चाँपको ठुटोमा निवास गरेका नारायणलाई चाँपा नारायण, चम्पक नारायण भन्ने गरिएको बुझिन्छ । आजकल यहाँको नारायणलाई चाँगुनारायण र यो क्षेत्रलाई डोलागिरी भन्ने गरिन्छ । यस्ता डोलागिरीका स्वामी हरि भनिने नारायणको दर्शन पूजा, द्वादसी, पूर्णिमा र बुधबार गर्नाले भक्तहरूको उद्धार भइ बैकुण्ठ बास हुने किम्बदन्ती छ ।

कुनै समय इन्द्रादी देवताहरू दुर्लभ भएको वखत शिवको वरले मदमत्त कुनै दानवले यो क्षेत्रका प्राणीहरूलाई दुःख दिन थाल्यो । सबैतिर हाहाकार मच्चन गयो । डोलागिरी पर्वत समेतलाई दैत्यले हल्लाउन थाल्यो । देवताहरू नारायणको शरण लिन पुगे । नारायण तथा दैत्यबीच ठूलो युद्ध भयो परन्तु नारायणले दैत्यमाथि विजय प्राप्त गर्न सकेनन् । शिवको सल्लाहअनुसार श्री हरिले सर्वस्वरूपा देवीको आराधना गर्नुभयो । नारायण यसै क्षेत्रमा लुकेर बस्नुभएको थियो । नारायणलाई नदेखेको दैत्यले दोलाद्री नै हल्लाएको थियो । त्यही बखत भगवान् शिव हल्लिएको डाँडामा किल्ला गाडेर बस्नुभयो । चाँगुनारायणको पश्चिम दक्षिणतिर किलेश्वर महादेवको कलात्मक मन्दिर अवस्थित छ । भगवान् शिव किल्ला गाडेर बस्नुभएकोले यसको नाम किलेश्वर महादेव भएको पाइन्छ ।

जुन बेला भगवान् नारायण लुकेर बस्नुभएको थियो, असुर नारायण खोज्दै आएको थिए । असुरवध गर्न भगवान्द्वारा आफ्नो शिरच्छेदन गरी आफ्नो रक्त धारा देवीमा अर्पण गरेको देखिन्छ । देवी प्रत्यक्ष प्रकट भई दुष्ट दानवको वध गरेको भन्ने प्रचलित कथाबाट बुझिन्छ । देवी पनि छिन्नमस्ता भवानीको रूपमा यहाँ स्थापित भएको देखिन्छ । यो मन्दिरलाई छिन्नमस्ता देवी मन्दिर भनिन्छ । मन्दिरको आसपासका क्षेत्रमा नारायणको शिरच्छेदन भएका मूर्तिहरू देख्न सकिन्छ । यसरी, नेपाल महात्म्य, वंशावली र जनश्रुतिहरूबाट पनि एकै साथ श्रृष्टिको प्रतिफल श्रीहरि, संहारकर्ता महादेव र शक्तिस्वरूपा बसोबास भएको भन्ने देखिन्छ । जनश्रुति तथा लोकोक्तिहरूलाई पूर्णरूपले सत्यताको निकट पु-याउन भने सकिन्न ।

अतः चाँगुनारायणको उत्पत्तिपछि मात्रै किलेश्वर महादेव, दशमहाविद्या समूहभित्र पर्ने रिक्तेश्वरी छिन्नमस्ता देवीको उद्भव प्रसङ्गलाई लिनुपर्ने हुन्छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुर जिल्लादेखि दुई माइल उत्तरतर्फ करिब पाँच सय फिट अग्लो ढिस्कोमा चम्पकनारायणको विशाल मन्दिर अवस्थित छ । यसको पूर्व, पश्चिम तथा उत्तरबाट प्रवेश गर्नुभन्दा दक्षिण तर्फबाट प्रवेश गर्दा अझै बढी कुराहरू जान्ने र देख्ने अवसर मिल्दछ ।

दक्षिण फेदीमा रहेको भण्डार लिच्छविकाल हुँदै शाहकालसम्मका संरचनाहरू देखा पर्दछन् । कला कौशलताको दृष्टिबाट पनि यहाँ अद्वितीय कलाकृतिहरू रहेको देख्न सकिन्छ । विभिन्न लोक कथा तथा जनश्रुति बोकेको चाँगुनारायण तथा यसको आस–पास क्षेत्रको अझै संरक्षण गरी हाम्रो पुरातन संस्कृतिको जगेर्नाको आवश्यकता छ । यस्ता अपूर्व कला कौशल र संस्कृति बोकेको क्षेत्रको विकासमा ध्यान जानु पनि उत्तिकै आवश्यक भएको छ ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।

यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाई, दिदिबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । चाँगुनारायण क्षेत्र प्राचीन कलाकौशलहरू ऐतिहासिक संरचनाहरू हस्तकला एवं शिल्पकलाहरूका वस्तुहरू प्राचीन सुन्दर मन्दिरहरू, सांस्कृतिक उत्सवहरूको लागि प्रसिद्ध र अद्वितीय छ ।

यहाँ प्राचीन तथा अर्वाचीन संरचनासँग साक्षतकार गर्न पर्यटकहरू यो स्थान प्रवेश गर्न लालायित हुन्छन् । तेलकोट भन्ज्याङ–तेलकोट डाँडा–चाँगुनारायण आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको टे«किङ गर्न तथा काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिसँगै मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

नेपाल भगवान् गौतम बुद्धको जन्मस्थान, पशुपतिनाथ विराजमान, विश्वको सर्वोच्च शिखर सगरमाथा र विर गोर्खालीको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलश्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मङ्गोल संस्कृतिको सङ्गम स्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुुदायको साझा फूलबारी हो ।

यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचे अनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन ।

व्यापारिक, औद्योगिक तथा सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण चाँगुनारायण क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । आन्तरिक पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र सम्वर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा यस क्षेत्रमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू विभिन्न क्षेत्रमा छरिएर रहेका छन् ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस यस क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ ।

चाँगुनारायणजस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने छ । यसको लागि स्थानीय निकाय, चाँगुनारायण नगरपालिकाले विशेष ध्यान दिनु आवश्यक छ ।

लेखक परिचयः श्री मोहन प्रसाद आचार्य – ऐतिहासविद् एवं सोसम्बन्धी अध्ययन अनुसन्धान
डा. माधव अधिकारी – गुणस्तरीय जीवन विषयमा विद्यावारिधि एवं अध्ययन अनुसन्धान


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया