Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानव सभ्यता र विकासको लहर

मानव सभ्यता र विकासको लहर


काठमाडौं ।
संसारमा अप्रिल २२ लाई पृथ्वी दिवसका रूपमा हेर्ने गरिएको छ । संसारमा दिवस मनाउने आ–आफ्नै पद्धतिहरू छन् । धर्ती वा धरती भन्नु पृथ्वीको अर्को नाम हो । यस धर्तीमा सृष्टिको क्रम चलेको एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार एक सय २२ वर्ष पुगेको छ ।

चार युगमध्ये अहिलेको कलियुगको क्रम पनि यही विसं २०७८ सँगै पाँच हजार उक सय २२ वर्षमा प्रवेश गरिसकेको छ । जम्मा चार लाख ३२ हजार वर्षको समयमा यो प्रारम्भिक अवस्था हो । उद्यपि यस्ता युगहरू २७ पटक परिभ्रमण भइसकेको र अहिलेको कलियुग २८औँ हो ।

द्वापरयुगका अन्त्यमा सबै पुराणको विभाजन, वेदको विभाजन गरी वेदव्यासले भविष्य पुराणसम्मको रचना गर्दा पृथ्वी मात्रै होइन सम्पूर्ण, भूगोल, खगोल भनौँ पूरै ब्रह्माण्डको चर्चा गरेका छन् । मानव सभ्यताको क्रममा हरप्पा सभ्यतालाई लिइन्छ, यो करिब आठ हजार वर्षजति पुरानो हो । सिन्धु नदीको किनाराबाट हरप्पा सभ्यता सुरु हुन्छ ।

भारतीय उपमहाद्वीपमा पर्ने यो हालको पाकिस्तानमा पर्छ । मोहेन्जोदडो, कालिबंगा, राखीगढी, लोथल र हरप्पा मानव सभ्यताका केन्द्रहरू हुन् । आधुनिक सहरझैं विकास भएका यी केन्द्रहरू पछि लोप भए । पछि भारतीय पुरातत्वविद्हरूले खोज, अनुसन्धान गरे ।

बृटिश इन्डियाका पालोमा सन् १८२६ मा पहिलोपल्ट चाल्र्स मासोनले यो सभ्यताको खोज गरेका, सन् १८५६ मा कनिंघमले यसको सर्वेक्षण गरे भन्ने भनाइ छ । सन् १८५६ मा हालको पाकिस्तानको कराँचीबाट लाहोरको मध्य रेल्वे लाइनको निर्माण गर्दा वर्टन बन्धुहरूले हरप्पास्थलको बारेमा सरकारलाई सूचना दिए । सन् १८६१ मा अलेक्जेन्डर कनिंघमको निर्देशनमा भारतीय पुरातत्व विभागको स्थापना भई सिन्धु उपत्यकाको विकास भएको देखिन्छ ।

हाल यसको १४ सयवटा केन्द्रहरूको खोजी भइसकेकोमा नौ सय २५ वटा भारतमै परेका छन् । यीमध्ये ८० प्रतिशत त सरस्वती नदीको किनारमै पर्छन् । वेदव्यासले रचना गरेको भागवत कलियुगको अन्त्यमा राजा परिच्छितलाई परेको श्रापमोचनका लागि सुनाइएको स्थान सरस्वती नदीको किनारा हो भने पुराणमा वर्णित सबैजसो कथानक र ईश्वरको अवतारी कार्य यसै क्षेत्रमा परेका छन् ।

प्राचीन चार धाम नेपालको बाराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिक्षेत्र र रुरुक्षेत्र हो । सत्ययुगमा नेपालको नाम सत्यपुरी, त्रेता युगमा तपोवन, द्वापर युगमा मुक्तिपुर भनिने र हाल यसको नेपाल नाम रहेको स्कन्द पुराणमा उल्लेख छ । न्यायले जनता पालिने र ‘ने’ मुनिको देन भएकाले यसलाई नेपाल भनिएको हो ।

पृथ्वीमा रहने सबैले यसको दोहन गरेर प्रसस्त आर्थिक विकास चाहेको हुन्छ । न्यूनतम आवश्यकतादेखि सम्पन्नता र विलासिताको जीवनशैलीसम्म मानवजीवनमा अर्थको धेरै महत्व हुन्छ । अर्थ, अर्थोपार्जन र अर्थको उपयोगदेखि उपभोगसम्मको अध्ययन र विश्लेषण अथर्ववेदले गर्दछ ।

अथर्ववेदभित्र रहेको वास्तुशास्त्रले वस्तुको ज्ञान र विज्ञानको उपयोगितालाई महत्व दिन्छ । धन, वैभव, उत्पादन र वितरण, रोजगारीको सिर्जना, आर्थिक लगानी, त्यसको प्रतिफल, आर्थिक वृद्धिदर, पदार्थको अत्यधिक प्रयोग, घर, भवनहरूको सजावटमा विभिन्न धातुहरूको प्रयोग र तिनको अवस्थिति, फलाम–काठ–सिसा–माटो–ढुगां आदिको प्रयोगको अध्ययनदेखि तिनको गुणस्तर, भूमिशोधन, भूमिको शल्यक्रियासम्म र त्यसको समय मापनसम्मको अध्ययन कार्य वास्तुशास्त्रले गर्दछ ।

औद्योगिक क्षेत्रको लागि सुहाउँदो वातावरण, त्यसको अनुकूलको भवन निर्माण, आवासीय प्रबन्ध, विद्युतीकरण, अन्य इलेक्ट्रोनिक्स विषयको व्यवस्थापन, एयर कन्डिसन, रेफ्रिजिरेटर, व्यापारिक कार्यक्षेत्र, उद्यमशीलताको वातावरण, रोजगारीको सिर्जना, पर्यटन प्रवर्द्धनदेखि ताल तलैयाको व्यवस्थिति र मठमन्दिर, प्राचीन स्मारकहरूको अनुसन्धान, शिल्पी कार्यसम्म र ती सबै वस्तुहरूको रखाइ, सजावट पद्धति, विधान र प्रक्रियासमेतलाई व्यवस्थित गराउन प्रेरित गर्छ ।

बैंकिङ सेक्टरहरूका लागि सेवा दिने भवनहरू, सेवाग्राहीहरूले सेवा लिनसक्ने वातावरणको पहिचान, आधुनिक पाठशालाहरूको निर्माण, प्रयोगशालादेखि सभागृह, कक्षाकोठा तिनको सजावटका विषयदेखि घर, महलहरूमा हुने आधुनिक शौचालय तिनको आकार प्रकारसम्मको अध्ययन वास्तुशास्त्रले गराउँछ । ग्राम, नगर, नगरोन्मुख स्थितिदेखि आधुनिक सरसफाइसम्म र उच्च राजमार्गहरूको लागि आवश्यक पूर्वतयारीसमेतको सजगता यस शास्त्रले अपनाउँछ ।

आधुनिक ढल, पानी प्रशोधनको विषय, विकासको लहर, समानुपातिक वितरणसम्मको कार्यक्षेत्र अँगालेको अथर्ववेदलाई बिर्सेर हामीले आर्थिक कल्याण गर्न सक्तैनौँ । आर्थिक विकास नहुँदा, आर्थिकस्तर वृद्धि नहुँदा समग्र राष्ट्र विकास र निर्माण कार्य नै पछि पर्न जान्छ ।

अथर्ववेदअन्तर्गतको स्थापत्यवेद वास्तुशास्त्रझैं मानवजीवनमा सामवेदको पनि उत्तिकै महत्व छ । सर्वप्रथम वास्तुअध्ययन र यसको पद्धतिमा रहेर व्यक्तिले जीवन सञ्चालन गर्ने क्रममा उसलाई मनोविनोद पनि आवश्यक हुन्छ । क्रीडा, समयको परिपालन, उत्साह, नवीन ऊर्जा, उत्साह, श्रीवृद्धिका साथमा सङ्गीत, कला, साहित्य, इन्द्रिय भोगको चिन्तन, विषय भोगको चिन्तन, प्यारो वस्तुको परिकल्पना, गतिशील सोचाइ, ठाउँ, परिवेश र समयअनुसारको इच्छा र आकांक्षाहरूको पूर्ति, यी सम्पूर्ण कार्यक्षेत्र सामवदेका हुन् ।

अथर्ववेदको विस्वासले सामवेद प्रयोगस्थल– पूजाकोठा, अथर्ववेदको प्रयोगस्थल– बैठककोठा र भान्छाकोठा, ठीक र व्यवस्थित नभए घरभित्र र घरबाहिरको वातावरण ठीक हुँदैन । घर सजावटमा व्यक्तिको आफ्नै चाहना भए पनि पद्धति र परम्परा अनि प्रक्रिया व्यवस्थित नभए सोचेजति ज्ञान र विज्ञानको सदुपयोग हुन सक्तैन ।

मानवजीनमा पुरुषार्थ आवश्यक हुन्छ । शूरता, वीरता, रक्षा, शान्ति र सद्भाव, भाइचारा, स्नेह, दया, करुणा, आत्मबल, पराक्रम, परिपक्वता जीवनका अपरिहार्य आधारहरू हुन् । नेतृत्वको चयन, सक्षमता, कुशल नेतृत्व, मानपदवी, प्रतिष्ठा सारा गौरव यजुर्वेदका कार्यक्षेत्रहरू हुन् । आत्मशान्ति, धर्मको भावनात्मक पक्ष, कर्तव्यपरायणता, उपकारी भावले व्यक्ति, समूह, समुदाय र राष्ट्रसेवामा समर्पित हुनु राष्ट्रनिर्माण र पुनर्निर्माणमा समर्पित हुनु ऋग्वेदका गुणहरू हुन् । यसरी हाम्रा पूर्वज वेदका ज्ञाता पैल, वैशम्पायन, जैमिनी, सुमन्तु आदि मन्त्रद्रष्टा ऋषिहरूको समष्टि वेद र वेदले स्थापना गरेकोे वास्तुपद्धति आजको शताब्दीमा झन् बढी महत्वपूर्ण बनेको छ ।

शयनकक्षको अवस्था सुताइको समुचित व्यवस्थामा पनि ध्यान दिन जरुरी छ । पूर्व दिशाको सिरानीले ज्ञान, विज्ञानमा सम्पन्न हुन सकिने, विद्या, स्मरणशक्ति वृद्धि हुने, दक्षिण दिशाको सिरानीले माथि बताइएका भौतिकसुख, सुविधामा वृद्धि हुने, पश्चिम दिशा सिरानी गरेमा मानसिक दुर्बलता, चिन्ता बढ्नजाने र उत्तर दिशा सिरानी गरे मनमस्तिष्कलाई गहिरो र निको नहुने, चोट पर्नसक्ने हुन्छ । त्यसर्थ आर्थिक विकास तिनको पूर्वाधार र तिनको सदुपयोगदेखि शारीरिक, मानसिक र आत्मबल, प्रतिष्ठासमेतका उपायहरू बताउने वास्तुविधान आजको जीवनशैलीसँग गाँसिन सके व्यक्ति, समूह र समुदाय सबैलाई कल्याण नै हुन्छ ।

औद्योगिक भवन, कलकारखाना, व्यापारिक स्थल सकेसम्म पूर्व, उत्तर वा ईशान कोणतर्फ फर्केको हुनु लाभप्रद छ । औद्योगिक स्थलहरूको वायव्यतर्फको ढोकाबाट तयारी सामान निष्काशन गर्नसके उत्पादित सामानहरूको वितरण छिटो–छिटो हुन्छ ।

औद्योगिक उत्पादनस्थलभन्दा कार्यालय भवन उत्तर या पूर्व दिशामा राख्नुपर्छ । कारखानाको आकार वा उचाइभन्दा प्रशासनिक कार्यालयको आकार उचाइ ठूलो वा अग्लो हुनुहुन्न । आफ्ना सेवाग्राही वा ग्राहकसँग व्यापारिक वा आर्थिक कुराकानी गर्दा उत्तर या उत्तरपूर्व या पूर्व मुख फर्की गर्नुपर्छ । यसो गर्दा बढी लाभ हुन्छ ।

औद्योगिक कारखानाका मेशिन, उपकरणहरू कारखानाको नैऋत्य, पश्चिम या दक्षिणतर्फ राख्नुपर्छ । कच्चा पदार्थलगायत सबै गह्रौँ सामग्रीहरू दक्षिण या पश्चिमदक्षिणतिर राख्नुपर्छ । उत्पादित तयारी सामान भने वायव्यतिर राख्नुपर्छ । बिजुलीका सरसामान, जेनेरेटर, ब्वाइलर, मिटर, ऊर्जासम्बन्धी सरसामान अग्निको दिशा आग्नेयतर्फ राख्नुपर्छ । कुलर भने पश्चिम वायव्यतिर राख्नुपर्छ । चिम्नी भट्टीहरूको व्यवस्था भने आग्नेयतिर गर्नुपर्छ । यसोगर्दा पूर्व आग्नेय अग्लो हुने स्थिति निराकरणका लागि चिम्नीभन्दा अग्लो कुनै सामान पानी ट्यांकी वा लठ्ठा नैऋत्यतर्फ राख्दा वास्तुदोष कम हुन्छ ।

घर, कार्यालय, व्यापारिक महल वा सार्वजनिक निर्माणकार्य गर्दा पूर्वउत्तरतर्फ सकेसम्म बढी खुल्ला गर्नुपर्छ । पानीट्यांकी, धारा, जमिनमुनिको पानी आपूर्तिस्थिति आदि पूर्वउत्तर क्षेत्रमा नै राख्नुपर्छ । बरण्डाहरू पूर्व वा पूर्वउत्तर बढी हुनुपर्छ । तल्लापच्छिे पिउने पानीको प्रबन्ध उत्तरपूर्वतर्फ नै गर्नुपर्छ । पूजाकोठा पनि पूर्वउत्तर नै गर्नुपर्छ । अण्डरग्राउण्ड भवनहरू बनाउँदा पनि पूर्व, उत्तर, ईशानतर्फ नै फर्काउने कोसिस गर्नुपर्छ । सवारी पार्किङ पनि पूर्वउत्तर नै राम्रो हुन्छ ।

अण्डरग्राउण्डमा पनि दक्षिणपश्चिम क्षेत्र अग्लो नै हुनुपर्छ । पश्चिमदक्षिण दिशातर्फ अग्लाई बढी, खुल्ला क्षेत्र कम र पूर्वउत्तरतर्फ होचाइ बढी र खुल्ला क्षेत्र पनि बढी नै हुनुपर्छ । भवनका सिँढीहरू, लिफ्ट दक्षिण वा दक्षिणपश्चिमतिर नै हुनुपर्छ । व्यापारिक पसलहरूमा सरसामान सजाउँदा दक्षिणपश्चिमतिर अग्ला र गह्रौँ सामानहरू राख्नुपर्छ । उत्तरपूर्वतिर होचा र हलुका सामान राख्नुपर्छ ।

पसलमा देवदेवीको मूर्ति राख्दा ईशान दिशामा राख्नुपर्छ । मूर्तिको पीठभाग पूर्व र मुखभाग पश्चिमतिर फर्केको हुनुपर्छ । सटरहरू धेरै भए पूर्वउत्तर मुख फर्केको सटरलाई बढी समय खुल्ला राख्नुपर्छ । पसलको भुइँ पनि उत्तर, ईशान वा पूर्वतिर केही होचो हुनुपर्छ । प्रबन्धक, मालिक वा औद्योगिक, व्यापारिक भवनका मुख्य व्यक्ति निर्देशकको कोठा दक्षिणपश्चिमतिर हुनुपर्छ र मुख भने पूर्वउत्तरतिर फर्कने गरी बस्ने प्रबन्ध मिलाउनुपर्छ । कोठाका ढोकाहरू पनि पूर्वउत्तरतर्फ नै बढी हुनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया