Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमाज सुधारका अग्रज गौतम बुद्ध

समाज सुधारका अग्रज गौतम बुद्ध


काठमाडौं ।
कोरोनाले मरणासन्न पर्ने गरी हामीलाई थला नपारेको भए हामी आज २५६५औँ जन्मजयन्ती राष्ट्रव्यापीरूपमा मनाइरहेका हुन्थ्यौँ । एक दिन मात्रै नभएर साताव्यापी मनाइने गरेको बुद्ध जयन्तीलाई यस वर्ष मात्रै असर पारेको होइन । अघिल्लो वर्षको हालत पनि लगभग यस्तै थियो ।

शाक्यवंशीय राजा शुद्धोधनकी महारानीले राति सपनामा छवटा दाँत भएको सेतो हात्ती र षड्चक्र भएको एक उज्यालो तारा आफ्नो शरीरमा प्रवेश गरेको देखिन् । उनै मायादेवीको कोखबाट इपू ५६३ मा नेपालको लुम्बिनीक्षेत्र कपिलवस्तुबाट मायावतीको माइतीक्षेत्र देवदह जाँदैगर्दा बीचबाटोमा रमणीय साल बगैँचामा वैशाख शुक्ल पूर्णिमा अर्थात् आजैका दिन जन्मिएका बालक जन्मदै राम्रा र आकर्षक चेहराका थिए ।

जन्मको सिद्धि अर्थ प्राप्त गर्नसक्ने ज्योतिषीय भविष्यवाणीअनुसार न्वारान गर्दा उनको नाम सिद्धार्थ नै राखियो । त्रिकालदर्शी विद्वानहरूले भने यो बालक या त प्रतापी राजा हुनेछ या सन्यासी । बालकको जन्म सात दिनपछि माता मायादेवीको अवसान भएकाले अर्की आमा प्रजावती गौतमीले उनको लालनपालन गरिन् । यी बालक जन्मनेबित्तिकै नन्द र उपनन्द नामक नागहरू आएर उनको स्तुति गरेका थिए भने जन्मनेबित्तिकै बालकले ७ पाइला हिँडेको कुरा निकै अनौठो लाग्छ ।

राजा शुद्धोदनले उनका मनमा कत्ति पनि वैराग्य नहोस् भनी सांसारिक सुख भोगका सबै सुविधा उपलब्ध गराएका थिए । १६ वर्ष व्यतीत भएका सिद्धार्थलाई सुप्रबुद्धकी सुपुत्री विलक्षणा यशोधरासँग बिहे भई २९ वर्षको उमेरमा राहुल नामक पुत्र पनि जन्मिएको थियो उनीबाट । घुम्दै हिँड्दा बाटामा वृद्ध, रोगी, मृत शरीर र एक भिक्षु देखेपछि सिद्धार्थलाई वैराग्यले सतायो । उनले आफ्नो जीवन सुधार आफैंले गर्ने निधो गरे । कालान्तरमा उनी सफल पनि भए । समाज सुधार, देशैभरि शान्तिको अभ्यास, विश्व कल्याण हेतु उनले प्राप्त गरेका सिद्धिहरूको व्याख्या गरेरै नसकिने भएको छ, हामीजस्ता सामान्य व्यक्तिहरूका लागि ।

प्राचीन समयमा वाणगंगा अर्थात् भागीरथीको किनारामा एक पर्णकुटी बनाई कपिलमुनि बस्थे । कौशलदेशबाट निकालिएका एक राजकुमार पनि त्यहाँ आए । कपिलमुनिले उनलाई एउटा नगर बसाउन सल्लाह दिए । कपिलमुनिले नगर बसाउन सल्लाह दिई कौशल राजकुमारले स्थापना गराएकाले कपिलवस्तु नामकरण भएको किम्बदन्तीहरू धेरै पाइएकाले कमिलदेवसँग यो सम्बन्ध गाँसिनु नौलो कुरा रहेको देखिन्न । वैदिक धर्ममा अवतार प्रसङ्गले मान्यता राखेको छ । श्रीविष्णुको १० र २४ अवतार मुख्य रहेको चर्चा सर्वत्र गरिएको छ । तर महाभारतमा अवतार चर्चा गर्दा बुद्धको चर्चा भएको देखिन्न । भागवतमा भविष्यत् कालमा बुद्धको अवतार चर्चा गरिएको छ । अन्य पुराणहरूमा पनि यस्तो चर्चा पाइन्छ ।

दशौं शताब्दीका महाकवि जयदेवले भगवान्का १० अवतारको बन्दना गर्दा बुद्धका नाम र काम भगवानका अन्यान्य अवतारझैँ उल्लेख गरेका छन् । भागवतले बुद्धो नाम्न जितसुतः कोकटेषु भविष्यति भने कोकटदेशमा जिनपुत्र भएर बुद्ध जन्मनेछन् भनी उल्लेख गरेकाले तिनै बुद्ध र यी वर्णित बुद्ध एउटै हुन् कि होइनन् योचाहिँ अनुसन्धानकै विषय बन्न पुगेको छ ।

हिन्दु एवं बौद्धधर्मका अष्टाङ्ग योग, अहिंसाजस्ता विषयमा कतिपय कुराहरू समान पाइन्छन् भने स्थानविशेषको पनि संयोग देखिन्छ । आदिम शिवक्षेत्र पशुपतिनाथ, काठमाडौँमा विशाल बौद्धस्तुप एवं स्वयंभुचैत्य र चारुमति बिहार रहनु र पश्चिम गण्डकीको उद्गमस्थल मुक्तिनाथ क्षेत्रमा विश्वका कैयन धर्मावलम्बीहरू पुग्नु, तिनै गण्डकीको अन्त्य नारायणी देवघाट क्षेत्र, परासीको त्रिवेणीधाम र लुम्बिनी क्षेत्रको सामीप्यता नै रहेको देखिन्छ ।

बुद्धले जन्म लिएको क्षेत्र लुम्बिनी, ज्ञान प्राप्त गरेको क्षेत्र बोधगया, दिव्यज्ञान विस्तार गरेको क्षेत्र बनारस नजिक सारनाथ र मोक्ष प्राप्तिको क्षेत्र कुशीनगर भारतको गोरखपुर हो । हिन्दुहरूको पावन तीर्थ गयादेखि करिव ११ किमि पश्चिमोत्तर बोध गया पर्नु, हिन्दु पीठ विश्वेश्वर, बाराणसीबाट झण्डै १० किमि उत्तर सारनाथ क्षेत्र पर्नु, मोक्ष प्राप्ति क्षेत्र गोरखपुरदेखि करिब ५५ किमि पूर्वभागमा कुशीनगर पर्नु भौगोलिक दृष्टिले धेरै नजिक देखिन्छ । हिमालय क्षेत्रदेखि सिन्धु क्षेत्रको भाग हिन्दु क्षेत्र पर्ने र यसै भू–भाग क्षेत्रभित्र श्री विष्णुका अधिकांश लीलाअवतार प्रसङ्गहरू भेटिनुले हिन्दु बुद्ध संयुक्त अध्ययन गर्न हर मानवलाई प्रेरित गर्छ नै । अयोध्यामा रामअवतार, मथुरा एवं बृन्दावनमा कृष्ण अवतारका धेरै प्रसङ्गहरू भेटिनुले यी कुराहरूमा थप पुष्टि हुन्छ ।

बुद्धधर्म मान्ने मुलुकहरू विश्वमा धेरै भए पनि हिन्दु र बुद्ध धर्मको उद्गमस्थल नेपाल भएको कुरा स्पष्ट छ । विश्वमा हालसम्म प्रचलित धर्महरूमध्ये हिन्दु र बौद्धधर्म निकै उदार छ । फ्रान्सका प्रसिद्ध विद्वान् भोल्टेयरको शब्दमा ‘पश्चिमी जगतका लागि पूर्वीय जगतको धर्म र दर्शन, समाजोपयोगी अनुपम उपहार हो’ । बेलायती विद्वान् जर्ज बर्नाड शाका शब्दमा ‘हिन्दुधर्म संसारकै सर्वाधिक र उदार धर्म हो’ । २५ सय वर्षभन्दा धेरै पुरानो इरानी फारसी पोलिस नगरमा इपू ४८६ वर्ष पुरानो दारा हस्तापको स्मारकको शिलालेखमा हिन्दु र हिन्दुश उल्लेख भएको कुरा इन्साइक्लोपेडिया अफ रिलिजन्स एण्ड एथिक्समा उल्लेखित छ ।

मनु महाराजले हिमालयको संपूर्ण तटीय क्षेत्र आर्यावर्त मानेका र प्रयाग क्षेत्रदेखि उत्तर हिमालय क्षेत्र सम्मलाई ब्रह्मर्षिदेश भनी गणना गरेको पाइन्छ । वशिष्ठगुरुले वशिष्ठ उपनिषद्मा उत्तरायणे हिमालयतटे स्वर्णभूमि स्वर्गभूमि भनी व्याख्या गरेका छन् भने कालिदासले कुमार संभवको पहिलो श्लोकमा हिमालयको पूर्वदेखि पश्चिमसम्मलाई आर्यभूमि भनेका छन् ।

आर्यावर्त क्षेत्र वाग्मती नदी किनारामा ने मुनि रहनु, सप्तगण्डकी तटीय किनारामा वाल्मीकि रहनु, सप्त कोशीतटमा कौशिकी अर्थात् विश्वामित्र रहनु, तनहुँ तटमा सबै पुराणका रचयिता वेदव्यास रहनु, जनकपुर क्षेत्रमा तत्वदर्शी राजा जनक, याज्ञवल्क्य, गार्गी, मैत्रेयीजस्ता विद्वान् विदुषी युगपुरुषहरू रहनुले विश्व सभ्यताको पहिचान पूर्वीय चिन्तन धेरै उदार रहेको र यो क्षेत्र सर्वाधिक पवित्र रहेको पुष्टि हुन्छ, र समाज सुधारको अग्रणी भूमिकाको पनि स्पष्ट हुन्छ ।

हिन्दुहरूका लागि अति पावन पशुपतिनाथले प्रत्येक वर्षमा दुई पटक आफ्ना सबै साबिकका गहना र मालाहरू त्यागेर बुद्धको मुकुट लगाउँछन् र बुद्धको रूप लिन्छन् भनिन्छ । महा शिवरात्रिका दिन मत्स्येन्द्रनाथलाई महादेव मानिने हुँदा हिन्दु, बौद्ध संयुक्त अध्ययन गर्न थप प्रेरणा मिल्छ ।

तिब्बतका स्रोङचोङगम्पो र नेपालका अंशुबर्मा पुत्री भृकुटीको वैवाहिक जीवनपछि बुद्धधर्मले दक्षिण मात्र होइन उत्तरतिर फैलिने अवसर पायो र हाल विश्वभर फैलिसकेको देखिन्छ । तिब्बतक्षेत्र धार्मिक दृष्टिले प्रसिद्ध क्षेत्र हो । नेपालकी भृकुटीद्वारा बुद्धधर्मको केन्द्रस्थल बनेको तिब्बत ल्हासा क्षेत्रलाई पावन ब्रह्मपुत्र नदीको उद्गमस्थल मानिन्छ । हिन्दुधर्मीहरू जीवनमा एकपटक कठिन यात्रा नै गरेर पनि मानसरोवर पुग्ने गर्छन् ।

एसियाकै लागि बुद्धको धर्मको अनुसन्धान स्थल रहेको तिब्बतमा भृकुटीका पति स्रोङचोङगम्पोको अवसानपछि त्यहाँ वोनपो धर्म प्रचारमा आउँदा बुद्धधर्म केही ओझेलमा प-यो । नालन्दा महाविहार भारतका बुद्ध धर्मगुरु नेपालको स्वयम्भूमा आएका बखत तिब्बततिर पनि गए तर वोनपो धर्मका अगाडि गुरु शान्त र सितको केही जोड चलेन । पछि तान्त्रिक बज्रयानी पद्यसम्भव तिब्बत गएपछि बोनपो धर्म परास्त भई बौद्ध धर्मी स्तुपा, गुम्वाहरू पुनः निर्माण हुन लागे । सुरुमा कास्मिरी लिपीबाट बौद्धधर्मका ग्रन्थहरू लेखिन थाले भने नेपाल भारतमा विद्वान्हरूले यसलाई तिब्बती भाषामा अनुवाद गर्न थाले ।

बौद्ध धर्म अपेक्षाकृतरूपमा वैज्ञानिक देखिन्छ । हिन्दु धर्म दर्शनमा स्वर्ग, मत्र्य, पातालदेखि लोकालोक, यमलोक, नरक आदिको वर्णन छ भने बौद्ध दर्शनको तारक मन्त्र ‘ओम मणि पद्मे हुम्’ सदा जप्नाले स्वर्गलोक, देवलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक र नरक लोकको बोध हुन्छ । यो पावन मन्त्र जप्दा छवटै लोकका बुद्धका कानमा पुग्छ र मानिसले फेरि जन्मनु पर्दैन भनिएको छ । बौद्ध धर्मले मानव जीवन दर्शनसँग प्रत्यक्ष सरोकार राखेकै कारण विश्वभरि फैलिन सकेको हो ।

हिन्दु धर्म दर्शनमा दया, माया, उपकारको प्राधान्यता पाइन्छ भने बौद्धधर्म दर्शनमा करुणाको खानि नै पाइन्छ । बौद्ध भन्नाले सामान्यत बोध हुनु, व्युँझाउनु, जागृत गराउनु, भन्ने अर्थ लाग्छ । अतः एवं बुद्ध दर्शनले आफ्नो चिन्तन गर्नु जीव र जगत्बारे खोजी गर्नु, आत्मकल्याण गर्नु भन्ने नै बुझिन्छ । सच्चरित्रता र सत्मानवत्व नै यसको मूल ध्येय देखिन्छ । यिनै गुणहरूले समाज सुधार हुने हो, समाज सुधार गरेर आर्थिक विकास गर्नु बढी राम्रो हुन्छ ।

बुद्धधर्म सुरु सुरुमा, शील र आचार प्रधान देखिन्छ भने बुद्धको परिनिर्माणपछि उनका शिक्षा, उपदेशहरू संकलन गरी सूत्रात्मक शैलीमा लिपिबद्ध गर्ने, संहितामा आबद्ध गर्ने बृहत् छलफल र निचोडपछि प्राकृत एवं पाली भाषामा विस्तार लिपिबद्ध हुनथाले । यसै भाषामा लेखिएका सूत्र पिटकमा उनका उपदेशहरू संकलित भएका देखिन्छन् भने विनयपिटकमा चाहिँ आचरणसम्बन्धी कुराहरू भेटिन्छन् । त्रिपिटक ग्रन्थमा चाहिँ पाठ गर्ने स्तोत्रहरू मात्र देखिन्छन् । हिन्दूहरू शरणम प्रपद्ये भन्ने गर्छन् भने बौद्ध धर्मीहरू बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी भन्ने गर्छन् । सबैको अर्थ शरणमा पर्ने अर्थात् शरणागति नै हो ।

सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक एकाग्रता र सम्यक समाधि बुद्ध धर्म दर्शनका आदर्श मार्गहरू हुन् । अध्यात्मज्ञानको खोजी हिन्दु, बौद्ध दुवै दर्शनमा पाइन्छ । हिन्दुधर्ममा देवदेवी, मूर्तिपूजा, मन्दिर आदिलाई उपासनाको स्थल मानिन्छ भने बौद्ध धर्ममा विहार, मठ, गुम्बा, स्तुपलाई उपासनास्थल मानिन्छ । ज्ञान, अहिंसा, सत्यलाई धर्म मान्ने बौद्ध धर्मीहरू हिन्दुहरूझैँ जातिप्रथा र अश्पृश्यतालाई भने स्वीकार गर्दैनन् । हिन्दुहरूमा भएका कट्टरपना जातिप्रथा र अश्पृश्यताचाहिँ युगसापेक्ष ढंगले हालका केही समयदेखि परिवर्तन पनि हुँदै आएका छन् ।

बुद्धको मानव उपयोगी सन्देश युगयुगसम्मका जीवन्त हुने देखिन्छ । नेपाल, भारत, तिब्बत चीनतिर सुरुमा अस्तित्वमा रहेको बौद्धधर्मदर्शन कास्मिर हुँदै अफ्गानस्थानसम्म फैलिएको पाइन्छ भने तेस्रो शताब्दीतिर श्रीलंकासम्म पुगेको देखिन्छ । हाल पनि श्रीलंकामा बुद्धको दाँतको अवशेष छ भनिन्छ । बाह्रौँ, तेह्रौँ शताब्दीदेखि अझ चर्चामा आएको बौद्धधर्म दर्शन बीसौ शताब्दीमा आइपुुग्दा युरोपदेखि अमेरिकासम्म फैलिसकेको पाइन्छ । थाइलेण्ड, सिंगापुरमा पङ्क्तिकारले बौद्धधर्म दर्शनका अपार भण्डार देख्ने अवसर प्राप्त गरेको छ ।

सन् १९३२ को संविधानपछि धार्मिक स्वतन्त्रता बोकेका थाइलेण्डवासीहरू ९४ प्रतिशत जनता बौद्धमार्गी छन् । मुलुकभित्र झण्डै ३१ हजार बढी बौद्ध स्तुपहरू रहेका छन् । कर्म र धर्मलाई साझा मान्ने थाइहरू बुद्धको शिक्षालाई अनुसरण गर्छन् । राज्यले धर्ममा प्रसस्त पहल गरेको छ । प्रेम र सद्भावले मुक्ति मिल्छ भन्दै पुनर्जन्ममा विश्वास राख्ने थाइहरू बौद्धमार्गी हुन् । शान्ति र अहिंसाका हिमायती हुन् । अरूप्रति कलुषित भाव नराख्ने, कसैलाई चित्त नदुखाउने, मनलाई नियन्त्रण गरी आफूभित्र र बाहिर शान्तिको स्थापना गराउने सन्देश दिने बौद्धधर्मले हिंसामा विश्वास गर्दैन ।

हिजोआज जताततै तनाव भएको स्थितिमा अणुवमको विरोधी बौद्धधर्मले खासगरी जापानको हिरोसिमा र नागासाकीको बमवार भएको नरसंहारपछि विश्वभर फैलिने अवसर पाएको छ । शान्तिको प्रार्थना गर्दै स्थापना भएको संयुक्त राष्ट्र संघको उदयपछि यस धर्मले झन् व्यापकता पाएको छ । सत्य, प्रेम र अहिंसाका पुजारी बुद्ध आफू मात्रै जीवित होइन विश्वका सारा प्राणीलाई सदैव जीवन्त राख्न सफल देखिन्छन् । बुद्धका मूलभूत तीन सन्देश शील, प्रज्ञा र समाधि हो । शील भन्नाले नैतिकता बुझिन्छ भने प्रज्ञा भन्नु आफू हिँड्ने सफा बाटो हो र समाधि भन्नु त्यो बाटोबाट पुग्ने लक्ष्य हो, ध्येय हो । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया