Techie IT
×
गृहपृष्ठविचारपर्यावरण संरक्षण : आजको आवश्यकता

पर्यावरण संरक्षण : आजको आवश्यकता


काठमाडौं । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले संसारका सबै क्षेत्र जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजन समेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति, पशुपन्छी र अन्य जीव रहेका हुन्छन् । यो जैविक विविधता हो । वन नासिएमा वा आगो लागेमा अरु जीवहरूलाई असर गर्दछ । यो तिनीहरूबीचको अन्तरसम्बन्ध हो । जैविक विविधता ३ प्रकारका हुन्छन् । पारिस्थिक प्रणाली विविधता, प्रजाति विविधता र वंशानुगत विविधता ।

पारिस्थिक प्रणाली विविधता भन्नाले जीवजन्तुहरूको वासस्थान भन्ने बुझिन्छ । यसले जीवजन्तुहरू र तिनीहरको वातावरणसँगको अन्तरसम्बन्ध समेतलाई जनाउँछ । वनजंगल, घाँसे मैदान, सिमसार, पोखरी, खोलानाला, समुद्र आदि यसका उदाहरण हुन् । प्रजाति विविधता भन्नाले प्राणीहरूको विविधता र वनस्पतिहरूको विविधतालाई बुझिन्छ । विश्वमा रहेका प्राणी र वनस्पतिहरूको फरकपन नै प्रजाति विविधता हो । र वंशानुगत विविधता भनेको प्राणी एवं वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपन हो । बाबुआमाबा गुणहरू छोराछोरीमा भए पनि छोराछोरीको बाबुआमाभन्दा फरक हुन्छन्, यो नै वंशानुगत विविधता हो ।

वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईंहामी सबैलाई ज्ञात नै छ । विभिन्न विद्वान तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण हामी हाम्रैवरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तरक्रियाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एक आपसमा आत्मनिर्भर बनाएको हुन्छ ।

पृथ्वीमा भएका अनेकौँ तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्नचिह्न खडा गर्न सक्दछ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलाप प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । मानव स्वयम्ले पर्यावरणप्रति गरेको बेवास्ताले वर्तमानमा प्रचुर मात्रामा जैविक विविधतामा नास भई करोडौँ धनजन तथा मानवीय सुखसमृद्धिका आधार संरचनाहरू जलवायु परिवर्तनका कारणले नष्ट हुँदै गएका छन् ।

यसै सन्दर्भमा जुलाई २९ गते विश्व बाघ दिवस मनाउने गरिन्छ । यो दिवस बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यो घोषणा गरेको हो । सो मञ्च विश्वको प्रथम बाघ सम्मेलनसम्बन्धी कार्यक्रम थियो । त्यसबेलादेखि जुलाई २९ लाई बाघ संरक्षण कार्यक्रम तथा अन्तर्राष्ट्रिय बाघ दिवसको रूपमा मनाइने गरिन्छ । मुख्यतः बाघको संरक्षण, उनीहरूबो वासस्थानको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे सचेतना वृद्धि गर्नु अन्तर्राष्ट्रिय बाघ दिवसको मुख्य उद्देश्य हो । बीसौँ सताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या एक लाख रहेकोमा यो संख्यामा ९० प्रतिशत ह्रास आई हाल ३२ सयमा झरेको छ । बाघको संख्या कम हुनुको कारण पर्यावरणमा भएको ह्रास हो ।

नेपालको सन्दर्भमा सन् २०१८ को बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा १६ गरी जम्मा दुई सय ३५ वटा पाटे बाघ गणना गरिएको थियो भने अन्य सामुदायिक वन तथा संरक्षित क्षेत्रमा पनि केही बाघ भएको आकलन गरिएको छ । सो गणना भने हुन सकेको छैन । यस वर्षको विश्व बाघ दिवसको नारा ‘बाघको अस्तित्व, मानवको दायित्व’ भन्ने छ ।

विभिन्न १३ मुलुक, भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चिन, लावस, म्यानमार, इन्डोसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षणकार्य अघि सारेको ८औँ वर्ष वितेको छ । सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा यी देश अघि बढेको पाइन्छ । मुख्यतः बाघलाई संसारभर प्रतिकारात्मक प्राणीको रूपमा लिने गरेको पाइन्छ ।

बाघलाई प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको रूपमा लिइन्छ । जैविक प्राणीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पु-याउँछ । बाघलाई संरक्षण गर्दा घरै ठाउँ चाहिने भएकोले ठूलो जंगल संरक्षित गरिनुपर्दछ सोबाट अन्य पशुपन्छीले पनि वासस्थान पाउने हुन्छ । जसले गर्दा पर्यावरण संरक्षण हुन्छ । अबको समयमा पर्यावरण संरक्षणलाई अति महत्वका साथ हेरेर जैविक विविधतामा ह्रास आउन दिनुहुँदैन । योजनाकार र नीति निर्माताहरू पर्यावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्था हुनुपर्दछ ।

यो परिणाम मानिसले पर्यावरणप्रति गरेको बेवास्ताको फलस्वरूप जैविक विविधतामा विभिन्न समस्या आई वन्यजन्तुको संख्यामा ह्रास आएको हो । समयको क्रममा मानवले पर्यावरणमा पारेको नोक्सानी हेर्दा जैविक वस्तुको संरक्षण एवं पर्यावरणको दिगो विकास दीर्घजीवी हुन नसक्ने कुरा प्रस्ट छ । मानव जाति तथा वन्यजन्तुको समुन्नति एवं अस्तित्वकै लागि पनि प्रर्यावरणको महत्व प्रस्ट हुँदै गएको छ । अतः पृथ्वीका सम्पूर्ण जाति तथा पशुपन्छीको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे–जति महत्व छ त्योभन्दा बढी पर्यावरण तथा जैविक विविधताको संरक्षण पनि अपरिहार्य छ ।

विश्वमा बढ्दै गएको पर्यावरणीय विनाशले पृथ्वीमा नै ल्याएको नकारात्मक परिणाम तथा संङ्केतहरूले गर्दा आजको विश्वका हरेक देशमा पर्यावरणलाई महत्व दिन आवश्यक छ । राष्ट्रमा विकास आयोजनाको सञ्चालन गर्दा विद्यालय, विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा वा अन्य महत्वपूर्ण कार्य गर्नका लागि पर्यावरणीय पक्षलाई विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ ।

वर्तमान समयमा मानिसले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेका छन् । यस प्रक्रियामा प्रशस्त मात्रामा जैविक वस्तु नास गर्ने अनेकौं समस्याहरू देखापरेका छन् । जसको फलस्वरूप उत्पादन तथा उपयोगमा नकारात्मक प्रभाव पार्ने हुन्छन् । पर्यावरणको अध्ययन तथा जैविक वस्तु संरक्षणले मानव तथा पशुपन्छीको उच्च तथा चिरस्थायी गुणस्तरीय जीवन बनाउन सहयोग पु¥याउन सकिन्छ ।

हावा, पानी माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएका सानो प्रदूषणको मात्राले पनि व्यापक असर पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस तथा अन्य जीवित प्राणी पनि प्रदूषणको मात्राबाट अलग रहन सक्ने अवस्था हुँदैन । तर कति प्रभाव पार्दछ भन्ने कुरा त्यसप्रतिको निर्भरतामा भर पर्दछ । पर्यावरणको अध्ययनले यस्तो निर्भरता तथा अस्तित्वका लागि आवश्यक पर्ने उपायहरूको खोजीनीतिमा सघाउ पु-याउने हुँदा समग्रमा वातावरणले पर्यावरणलाई प्रदूषणविहीन बनाउनमा सहयोग पुग्दछ ।

मानव तथा पशुपन्छीको अस्तित्वका लागि वन, जंगल, जल आदि प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । पर्यावरणको अध्ययनले हरेक प्राणी तथा वनस्पतिमा के–कस्तो सम्बन्ध रहेको हुन्छ भन्ने जानकारी दिन्छ । वन जङ्गल जल आदिको महत्व संकटमा पर्नु भनेको जैविक विविधता तथा पृथ्वीका सम्पूर्ण जीवित प्राणी नै संकटमा पर्नु पनि हो । मानव तथा पशुपन्छीको अस्तित्वको लागि प्रकृतिबाट प्राप्त धेरै वस्तुहरू ग्रहण गर्दछ । अतः यिनिहरूको सही उपयोग हुनु आवश्यक छ ।

तसर्थ प्राकृतिक सन्तुलन विचलित नबनाई मानवले वर्तमान आवश्यकताहरू पूरा गरी भविष्यका सन्ततीका लागि संरक्षण गर्नुपर्दछ । पृथ्वीलाई सुन्दर बनाउन तथा मानवजातिको समस्तिगत हितका लागि जैविक विविधताको संरक्षण अति आवश्यक सर्त हो । तसर्थ पर्यावरण संरक्षण जैविक विविधता अति आवश्यक एवं महत्वपूर्ण हुन्छ । पर्यावरणको संरक्षणले विभिन्न स्थान, अवस्था तथा परिवेशमा विद्यमान विविधताको संरक्षणको उपायहरू अवलम्बन गर्नुपर्छ । तब मात्र हरेक वर्ष जुलाई २९ मा मनाइने विश्व बाघ दिवसले सार्थकता पाउनेछ । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया