Techie IT
×
गृहपृष्ठविचारकोरोना कहरबीच बढेको सगरमाथाको कमाइ

कोरोना कहरबीच बढेको सगरमाथाको कमाइ


काठमाडौं । हाम्रो देश नेपालले यो वर्षको वसन्त याममा कोरोना महामारीको बीचमै पनि हिमाल आरोहणबाट धेरै राम्रो आमदानी गर्न सफल भएको छ । जस्तो विश्वको अग्लो हिमशिखर सगरमाथा अर्थात् ‘चोमोलुङमाबाट मात्रै सरकारले विभिन्न देशका पर्वतारोहीहरूलाई अनुमति दिएबापत लिने गरेको सलामी दस्तुर मात्रै ६६ करोड नेपाली रुपैयाँबराबरको कमाइ गरेको छ ।

त्यसबाहेक नेपालका अन्य हिमालहरूबाट पनि नेपाल सरकारले विभिन्न देशका पर्वतारोहीहरूलाई अनुमति दिएबापत लिनेगरेको सलामी दस्तुरबाट लगभग छ करोड नेपाली रुपैयाँबराबरको आमदानी गरेको छ । यसरी हेर्दा नेपालमा यो वर्षको वसन्त याममा नेपालका विभिन्न १६ हिमाल आरोहणका लागि विभिन्न देशका ८५ वटा आरोहण दलका सात सय ४२ जना सदस्यहरूले हिमाल आरोहणका लागि नेपाल सरकारबाट परमिट अर्थात् अनुमतिपत्र लिएको छ । त्यसो त जतिबेला पर्वतारोहीहरू नेपालको विभिन्न हिमाल आरोहणका लागि जाँदै थिए, त्यो बेला नेपालको सहरबजारमा कोरोना कहरको दोस्रो लहर चलिरहेको थियो । अहिले त दोस्रो लहर चलिरहेको मात्रै होइन कि, यसले देशलाई कस्तो गम्भीर अवस्थामा पु-याएर पनि रोकिने हो कि भन्ने अवस्थामा पुगेको देखिन्छ ।

यो वर्ष सगरमाथा अर्थात् चोमोलुङ्माको आधार शिविरमा इतिहासकै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा तीन सय ८२ जनाले सगरमाथा चढ्नका लागि मनुमति लिएका थिए) धेरै पर्वतारोहीहरू सगरमाथा सफलतापूर्वक चढ्नका लागि व्यग्रताका साथ प्रतिक्षारत छन् । अर्थात् विश्वका विभिन्न देशका ४३ वटा आरोहण दलका चार सय आठ जना आरोहीहरूले सगरमाथा चढ्ने प्रयास छन् । तर, अब यो वर्षको सिजन लगभग सकिन लागेकोले गर्दा सगरमाथा चढ्ने सपना साँचेका लगभग २०/२५ प्रतिशत आरोहीहरूले मात्रै सगरमाथा चढ्न सफल भए होलान् । यसबारेमा अबको केही दिनपछि नै वास्तविकता थाहा हुने छ ।

‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरू अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितिगुती’, ‘चापोलुङ्मा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काइ’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५औँ चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरू अड्ल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरू अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो ।

त्यसो त अझै पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरैजसो विदेशी लेखकहरू)ले ‘चोमोलुङ्मा’ भनी लेखेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, त्यो बेला सर जर्ज एभरेस्ट आफ्नो सेवा अवधि सकेर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग प्रमुख भएर काम गरेका थिए ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमन्ड पर्सिभल हिलारीले प्रथम मानवका रूपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । हुन त त्यसअघि पनि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङ्ला (भोजपुर) तेङबोचे हुँदै नेपालतर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् । त्यस्तै फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालबाटै एकै वर्षमा दुई पटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरू वर्षात्अघिको प्रयासमा आठ हजार पाँच सय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा आठ हजार १६ मिटरको उचाइसम्म पुग्न भने सफल भएका थिए । सम्भवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोहीहरू नै थिए ।

हुन त केही समयअघि भारतीय टेलिभिजन च्यानल जी टीभीका सम्पादकले सगरमाथा क्षेत्रको कालापत्थर गएर ए नामक दृश्य छायांकन गरेर सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्ने, परापूर्व कालदेखि भन्दै आएको ‘चोमोलुङमा’, ‘एभरेस्ट’ र ‘सगरमाथा’को सट्टा राधानाथ सिक्दर/सिकन्दरको नाममा नयाँ नाम ‘राधानाथ सिक्दर/सिकन्दर’ राख्नुपर्ने माग राखेका थिए ।

अन्त्यमा भन्नै पर्दा गएको वैसाख २३ गतेका दिन विश्व विख्यात पर्वतारोही तथा हिमाल आरोहण क्षेत्रका सफल गाइडहरूमध्ये एक कामीरिता शेर्पाले विश्वकै अग्लो हिम चुचुरो सगरमाथा/एभरेस्ट अर्थात् ‘चोमोलुङ’को शिरमा २५औँ पटक मानव पाइला राख्न सफल हुनुभएको छ ।

स्मरणीय छ उहाँलगायत ११ जनाको शेर्पाहरूको टेक्निकल टिमले यो वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोही टोलीको रूपमा सगरमाथा आरोहण गर्नुभएको थियो । तर, यसै सिजनमा २६औं पटक सगरमाथा चढ्ने विचारमा रहनुभएका कामीरिता शेर्पाले सपना नराम्रो देखेको र मौसम पनि प्रतिकूल भइरहेकोले गर्दा २६औं पटक सगरमाथा आरोहण गर्ने योजना नै त्यागेर गत जेठ ११ गते काठमाडौँ फर्किसक्नुभएको छ । हुन पनि तेस्रो क्याम्पमा मौसमको अनुकूलता पर्खेर बस्नुभएका कामीरिता शेर्पा सपना बिग्रेसँगै मौसम पनि प्रतिकूल भएपछि आरोहण त्यागेर फर्किनुभएको हो । त्यसअघि डोरी टाँग्ने र भ-याङ राख्ने क्लाइम्बिङ शेर्पाहरूको टोलीको नेतृत्व गर्दै गत वैसाख २४ गते २५औँ पटक सगरमाथा चढेर त्यसअघि आफैँले नै राखेको २४औँ पटक सगरमाथा चढेर बनाएको विश्व कीर्तिमान आफैँले भंग गर्नुभएको छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया