Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआजका महिला र बिचरा पुरुषहरू !

आजका महिला र बिचरा पुरुषहरू !


काठमाडौं । पुरुषले जतिसुकै कमाओस् उसले कमाएको सम्पत्तिमा महिला आफ्नो अधिकार स्थापित गर्छन् । यस्तोसम्म देखिन्छ कि आफैँले आर्जन गरेको सम्पत्ति खर्च गर्न पनि महिलाको आदेश चाहिने भएको छ पुरुषहरूलाई । सहरिया महिलाहरूले पुरुषले कमाइदिएको १० प्रतिशत लिपिस्टिक क्रिम लाली सोह्र शृंगार लुगाफाटो र फजुल खर्चमै सकिदिछन् । अनावश्यक कुरामा खर्च नगर्नु भन्यो भने महिला हक अधिकारका कुरा गर्छन् ।

महिलाको बरबादीको पछाडि पुरुष मात्र जिम्मेवारी छन् त ? के महिला आफैँ पनि जिम्मेवारी छैनन ? पुरुष पात्रचाहिँ महिलाको कारणले के कहिले पनि प्रताडित हुँदैनन् ? सबै दोष पुरुषलाई थुुपारेर महिला आफूचहिँ सधैँ चोखो र पवित्र बनिरहने परम्पराको बारेमा कहिले चासो राखेनौँ हामीले । कानुन पुरुषलाई भन्दा पनि, महिलाको हितमा नै बनेका छन ।

कानुनले महिलालाई अत्यधिक सुरक्षित संरक्षित र संवद्र्धित बनाएको छ । तर महिला असुरक्षित छिन् भनेर झ्याली पिटिन्छ ।

पुरुष असुरक्षित भएको कुराचाहिँ समाजले पत्याउँदैन । पुरुष यातनामा परेको कुरा कसैले परिकल्पना पनि गर्न सक्तैनन्, किनकि आदिम कालदेखि नै स्त्रीलाई पुरुषले नै यो असुरक्षित छे यसलाई हामीले सरक्षण गर्नुपर्छ भन्दै आयो । महिला र पुरुषका लागि बनेका प्रायः सबै कानुनमा पनि स्त्री सुरक्षाका कुरा मात्रै आए पुरुष सुरक्षाका कुराचाहिँ कहिले कतै उल्लेख भएनन् । सहअस्तित्वका कुरामा कानुन निर्माण हुनुपर्ने हो तर महिला सधैँ नै असुरक्षित छे भन्ने कमजोर चिन्तनको पराकाष्ठा हो अहिलेको परिवेश ।

तीन करोड जनसंख्या भएको देशमा बलात्कारका छिटपुट घटनालाई अनर्गल रूपमा प्रचारबाजी गरिन्छ र सिंगो समाजलाई उत्तेजित बनाइन्छ । यसमा सिंगो मिडियाकर्मीको पनि हात छ । बलात्कारका न्युज खोजीखोजी हिँड्ने, हिंसा र उत्तेजित तुल्याउने खबरलाई पहिलो प्राथमिकतामा राखेर सूचना प्रवाह गर्ने पित पत्रकारिताको उपज पनि हो अहिलेको नेपाली समाज । नेपाली युवाले जहाज बनाएको सुखद खबरलाई पत्रिकाको भित्री पृष्ठमा सानो अक्षरमा लेखिन्छ तर बलात्कारको न्युजचाहिँ अगाडि हेडन्युजमा देखाइन्छ ।

यस्ले के देखाउँछ भने हाम्रो समाज बलात्कारको न्युज सुन्न चाहन्छ, हाम्रा युवाहरू यौन र यौनसँग सम्बन्धित खबरलाई महत्वपूर्ण स्थान दिन्छन् भन्ने प्रमाणित हुन्छ, हामी असल कुरामा होइन खराब कुरामा बढी आफ्नो ध्यानाकर्षण गर्छौँ भन्ने कुरा देखाउँछ । स्त्रीका कुराहरूलाई स्त्रीसँग सम्बन्धित परिघटनालाई ज्यादातर रूपमा हामी प्रचारप्रसार गर्छौँ ।

निर्मला पन्तको घटनाबाट पनि हामी यो कुरा बुझ्न सक्छौँ । अपराध र अपराधी नभएको समाजको परिकल्पना गर्नुको साटो हामी झन् अपराध र अपराधीलाई चलचित्रजस्तै प्रचार गर्दै माइक फुक्तै विज्ञापन गर्दै हिँड्छौँ । स्त्रीका कुरा राख्ना साथै पत्रकार ठूलो, एनजीओ, आईएनजीओ र नेताहरू ठूला सम्झिने परम्परागत सोचको विकास भएको छ ।

हामी सधैँ आमाको आँसुको कुरा गर्छौँ तर खेतको आलीमा कोदाली बिसाएर बुबा रोएको कुरा कहिल्यै गर्दैनौँ र बुबालाई कहिले सहानुभूति पनि राखेनौँ । मानौं बुबाको आँसु पानी हो र आमाको आँसु मोति हो । खेत खनेर नसकी भातको भाग लाग्दैन भान्सामा नआउनु भन्छिन् आमाले बुबालाई, मानौं बुबा त्यो घरका एक हली मात्र हुन् । पुरुषले सधैँ ५० डिग्रीको तापक्रममा उसिनिएर घरमा पैसा पठाइरहेका छन् र पत्नीलाई भनिरहेका हुन्छन्– भो तिमी दुःख नगर म छु पैसा पठाउँछु तिमी आनन्दले बस । कति नारीहरू पतिको कमाइमा रमाउँदै बाँचेका छन् र पतिको अनुपस्थितको फाइदा लुटेर परपुरुषसँग सल्किएर हजारौँ घर बरबाद भएको कुरा पनि छन् । महिलालाई बिचरी मात्र बानायौँ हामीले किन ? नेपाली समाजले यदि महिलालाई तल मात्र राख्ने सोच राखेको भए सायद यो देशको शासन बागडोरमा महिलाले हालिमुवाली गर्न सक्थैनथे होलान् । तलका सत्य कुराहरूले अझै पुष्टि गर्छ कि पुरुष पनि कति प्रताडित छन् महिलाहरूबाट भन्ने कुरा बुझिन्छ ।

पोहोर सालको दशैँमा जब राजु घले कतारबाट आफ्नो घर चैनपुर आए ६ वर्ष काम गरेर पठाको पैसा गरगहना लिएर नाबालक दुई सन्तानलाई छोडेर धर्मपत्नी पोइल गइन् । प्रत्येक पटक विदेशबाट फोन गर्दा श्रीमती घरमा छु बच्चालाई बोर्डर गरेकी छु भन्दिरहिछन् तर आउँदा अर्कैको भइसकेकी सामाखुसीमा एक गरिब परिवार बस्थ्यो, तर पछि घर जग्गाको कारोबार गरी धनदौलत जोडी आफ्ना बालबच्चालाई राम्रो स्कुलमा राखेर पत्नीको सबै सोख पूरा गरिदिएका एक इमान्दार पुरुष थिए । उनकी पत्नीले एक आर्मी जवानलाई भाइटिका लगाउथिन् तिहारमा । पछि तिनै टीका लगाएको भाइसँग सबै सम्पत्ति जग्गा जमिन गरगहना बोकेर भागिन् । र पतिको कन्तबिजोक पारिदिइन् ।

हिजोआज सहरमा लिभइन रिलेसनसिप खुब मौलाएको छ । यो पश्चिमी सभ्यताको उपज हो । बिहे गर्नुपूर्व आफूखुशीले दुई जोडी सम्बन्धमा बस्नु । यसको सिकार भएका छन् भैरहवाका किरण बीसी । एक वर्षसम्म आफ्नी केटी साथीको माग पूरा गर्दै आएका थिए तर पछि जब किरणको काम खुस्कियो अनि उनी बेकम्मा भए र आफ्नै केटी साथीले जबर्जस्ती करणीको मुद्दा हालिन् र केटालाई अंश मुद्दा हालिन् ।

मन मिलुन्जेल सहमति र मन बिग्रन थालेपछि जबर्जस्ती ग-यो केटाले भनेर आफ्नै केटी साथीले सामाजिक बेज्जती गरिदिइन् । बिचरो त्यो किरण अहिले जेलमा छन् र केटी अर्कैसँग बिहे गरिसकिन् । यही पिरले उनकी आमाले विष सेवन गरेर आत्महत्या गरिन् ।

केही वर्षअघिको घटना हो गाउँबाट एसएलसी दिन सदरमुकाम आएको एउटा केटो १० दिनको लागि होटेलमा बस्छ र त्यही होटेलमा केही महिला विद्यार्थी पनि बस्छन् । एकै गाउँका त्यो भाइलाई म्याथ राम्रो आउँथ्यो तर तिनैमध्येकी एउटी बैनीलाई म्याथ नआउनी । उनकै अनुरोधमा त्यो बैनी दुई साँझ त्यो भाइसँग म्याथ सिक्न गइन् । त्यो भाइले राम्रो सहयोग ग-यो । जाँच दुवैको राम्रो भयो । ती बैनीले त्यो भाइलाई मन पराइछिन् । बिहेको पर्पोज गरिन् तर केटोले मानेन । पछि तिनै नानीले बेज्जत गरिन् कि यसले मलाई सम्बन्ध राख्यो । मलाई यसले बिहे गर्नुपर्छ भनेर । गाउँलेले केटीको कुरा सुनी जबर्जस्त बिहे गराइदिए । पछि केटोले आत्महत्या ग-यो । पछि थाहा भो एक्लो छोरो धनी देखेर केटीले नै फसाएकी भनेर । र पछि ती बहिनीले अपराध स्वीकार गरिन् ।

पुरुष मात्र खराब महिला सधैँ सोझा निमुखा कोमल कलिली निरीह नारी । उनलाई सधैँ माया सम्मान र सुरक्षा गर्नुपर्छ भनेर भन्नु एक हिसाबले ठीकै होला तर सँगै पुरुषमाथि बज्रेको प्रातडनाको कुरा पनि आउनुपर्थ्यो समाजमा । सधैँ महिला हिंसाका कुराले पुरुषमाथि परेको कयौँ व्यथा नलेखिने कथा बनेका छन् समाजमा ।

पुरुषविना महिला अधुरो अपुरो र महिलाविनाको पुरुष अपुरो फेरि किन महिलाको शत्रु पुरुष र पुरुषको शत्रु महिला ? सधैँ आमा रोएको कुरा गर्नेले, कमाएर पालनपोषण गर्ने बुबाको आँसुको पनि कुरा गरून् । अनि पो समानता आउला समाजमा । अनि पो महिला हिंसा पनि कमी आउला । यी माथिका चार उदाहरण सत्य घटनाका उपज हुन् । पुरुषको पनि झर्ने आँसु हुन पानी होइन । सत पथमा हिँड्ने महिला र सतपथ अपनाउने पुरुषको लागि यो लेख तयार पारेको होइन ।

महिला यौन हिंसाका बारेमा पीडित महिलाहरूले बोल्ने साहस गरिरहेका छन् । पुरुष मित्रका बारेमा विरोधका स्वरहरू उछाडिरहेका छन् महिला मित्रहरूले ।
आफूमाथि घटेको घटना पुरानो हो तर अहिले त्यसलाई उजागर गरेर एउटी साहसी महिलाको परिचय स्थापित गर्न लागेका छन् ती नारीहरू । इन्डियाका महान हस्तीहरू पनि यो विवादमा मुछिएका छन् । जतिबेला त्यो घटना घटित भयो त्यो बेला उनी चुपचापले बसिन् । यो बीचमा तिनै पुरुष मित्रसँग कतिपय कामहरू सहकार्यमा सप्पन्न भए । त्यो हिंसा थियो कि दुवै मिलिजुली गरिएको थियो । तर अहिले महिला अतीतको गर्तमा लुकेर बसेको आफू र आफ्नो केटासाथी मिलेर गरेको यौवनको मधु माधुर्य पललाई दुत्कार्दै पो छिन् कि ? बुझ्न गाह्रो भएको छ ।

त्यो बेला त्यही काम सकारात्मक अहिलेचाहिँ नकारात्मक भयो । अधिकांश महिला हिंसा पहाडमा हुन्छन् । पहाडका महिलालाई मिटु भनेको के हो थाहा नै छैन । यो सहरकेन्द्रित मिटु आन्दोलनले पहाडका सोझा महिलाहरूलाई चाहिँ के फाइदा पुग्छ होला र ?

अरुको देखासिकी र लहैलहैमा लागेर नाउँ कमाउने र मिडियामा छाउने लोभले पनि कतिपय महिलाहरू मिटुमा लागेका छन् । तर यसको परिणाम अन्ततः दुवैलाई नै घातक सिद्ध हुने निश्चित छ ।

होहो र लैलैमा लागेर आफ्नो चरित्रको साबिती बयान दिनुभन्दा पनि अबका दिनहरूमा चाहिँ कसरी महिला सुरक्षित हुन सक्छे यो कुराको चाहिँ बहस हुनु जरुरी छ ।

अहिले हरेक पुरुष महिलादेखि डराउन पर्ने स्थिति सिर्जना भएको छ । पुरुष र स्त्रीसँगको मित्रवत् व्यवहार र प्रेमको इन्द्रेणी नै धमिलो हुँदै जान थालेको छ । अब यदि यही रूपमा यो चर्चा चुलिँदै जाने हो भने मानिसहरूको सामाजिक जीवनमा नै असर पर्न जानेछ । स्त्री र पुरुषबीचको माया र विश्वास संकटापन्न अवस्थामा पुग्नेछ र समाज झनै असुरक्षित हुनेछ । माया लोप हुनेछ । कृत्रिम यौन अंगहरूको विकास हुनेछ । स्त्री र पुरुष दुवैको जिन्दगी कृत्रिमतातिर धकेलिनेछ ।

हो पीडा लुकाउन हुन्न बोल्नुपर्छ । यसको मतलब यो होइनकी प्रेम गर्ने यौन साटासाट गर्ने अनि लेनदेन नमिलेपछि ब्रेकअप अनि ममाथि हिंसा भो भनेर स्त्रीले आफ्नो पुरुष साथीलाई जेल पठाउनु के यो न्यायोचित भयो त ?

मेरो एउटा साथी थियो अभिनव थापा । हामीसँगै कलेज पढेको । ऊ म्हेपीमा कोठा लिएर बस्थ्यो । रहँदा बस्दा उसलाई घरबेटीको छोरीले मन पराइछन् । साथीको आर्थिक अवस्था कमजोर थियो । ऊ कतै निजी स्कुलमा पढाउने काम पनि गर्थ्यो । कोठा अबेर आउँदा ती घरबेटीको छोरी ऊ आउने बाटो कुरी बस्दिरैछिन् । समय दिन सक्तिन मेरो अध्यन बिग्रन्छ मलाई मेरा बाबुआमाले पढ्न भनेर सामल खेपेर सहर पठाको म अहिले लभसबको चक्करमा लाग्दिन भनेर साथीले त्यो नानीलाई सम्झाउँदा केटीले जबरजस्ती गरिछन् र भनिछन् मसँग लभ गरिनस् भने म आमाबाबुलाई भन्दिन्छु कि तिमीले मलाई हातपात ग-यौ भनेर । केटो धर्मसंकटमा प-यो । कोठामै आउन छोडेर बाहिरबाहिर साथीहरूकोमा बस्न थाल्यो । आखिर कतिन्जेल बाहिर बस्नु । एक हप्तापछि आफ्नो कोठामा आउँदा केटीको आमाबाबुले घेरा हाले । निर्दोष केटो अनाहकमा फस्यो । आखिर पढ्न छोडेर गाउँ गयो र खेतीपाती गरेर बस्यो । आज ऊ मसँग कहिलेकाहीँ फोनमा कुरा गर्छ स्त्रीको चरित्रका बारेमा । अझैसम्म उसले त्यो कालो अति तलाउ भुल्न सकेको छैन । स्त्रीले चाहिन भने एक निमेषमा निर्दोष पुरुषलाई सडकछाप बनाइदिन्छिन् । जस्तो हाम्रो समाजमा भइरहेको पनि छ बाहिर आउन नसकेको मात्रै हो । यहाँ स्त्री हिंसालाई मात्रै हिंसाको रूपमा लिइन्छ । पुरुष हिंसाचाहिँ हिंसा र अपराध नै होइन भनिन्छ ।

सरकारी स्कुलमा पढाउँदा छोरीको अंग्रेजी त्यति राम्रो लागेन ट्युसन पढाउने कुरा गरिन् श्रीमतीले फोनमा । उताबाट प्रेमजीले अनुमति दिए । खर्च पनि पठाए । एक जना अंग्रेजी शिक्षक खोजियो । र ती शिक्षक कोठामै पढाउन आउन थाले । छोरीलाई अंग्रेजी पढाउने शिक्षक दैनिक कोठामा आउन थालेपछि हिमचिम भो, चिया पिउने, बिस्तारै खाजा खाने, अनि पछि भोजन नै त्यही हुन थाल्यो । जवान शिक्षकको खाइलाग्दो शरीरमा लोभिइन् उनी । शिक्षक पनि के कम उनी पनि लोभिए । दुवैमा माया पिरिम बस्यो । उता अरबमा काम गर्ने श्रीमान्को वास्ता कम हुन थाल्यो ।

शिक्षक पनि धुर्त थिए । बिहे नै गर्छु भन्न थाले । मायाको कारण पेट बोकिन उनले । बिहे नै गर्ने भन्न थालिन् उनले । आफ्नो नाउँको घढेरी समेत पास गरेर शिक्षकलाई दिइन् । छोरीलाई उतै रामेछाप हजुरबुबा हजुरआमा भएको ठाउँमा छोडेर पोइल गइन् । स्त्री मात्रै हिंसामा पर्छन् भन्ने कुरो यो अवैज्ञानिक भइसक्यो अब ।

हाम्रो कानुन पुरुषका लागि बनेका छैनन् । समाजमा सबै मनुष्य धर्मपरायण हुने हो भने संविधान, कानुन, प्रहरी प्रशासन, जेल, नीति नियम नियन्त्रण किन चाहिन्थ्यो र ? जति पुरुष खराब छन् त्यति नै महिला पनि खराब छन् । स्त्री मात्रै असल सति सावित्री सीता भएको भए तिनले पुरुषलाई पनि असल बनाउन पर्ने हो नि ? पुरुष मात्रै बदमास भन्ने स्त्रीहरू आफैँ बदमास छन् किनभने एक बदमासले नै अर्कोलाई बदमास देख्ने हो । आरक्षणको नाउँमा होइन् योग्यता सक्षमता कार्यकौशलता व्यवस्थापकीय सुझबुझ र नेतृत्वदायी भूमिकालाई मात्रै मान्यता दिनुपर्छ । महिला कमजोर छिन् भनेर जब राज्यले नै ट्याग लगाइदिन्छ अनि महिला कमजोरमै दर्ज हुन्छिन् । स्त्रीजातिलाई कमजोर कोमल बनाइदिने काम स्वयम् पुरुषले नै गर्छ र कमजोर बनाएको फाइदा यो समाजले नै लिन्छ ।

सदियौँदेखि पूर्वेली समाज खुला रूपमा बाहिर आउन सकेन । यौनलाई आनन्दको रूपमा नलिएर यसलाई हिंसाको रूपमा लिँदै आयो र यौन हिंसा भयो । यौन समाज समृद्धिको एउटा महत्वपूर्ण बाटो पनि हो तर यही यौनलाई हाउगुजीको रूपमा स्वीकार्न बाध्य छ हाम्रो समाज । सभामुखजस्ता व्यक्तिलाई पनि अपराधीका रूपमा प्रस्तुत ग-यो र उनी जेल गए । दश वर्षसम्म सम्बन्धमा रहँदा बलात्कार नहुने अनि लेनदेनको कुरा नमिलेपछि बलात्कार ।

यो २१औँ सताब्दीका मानिसहरू दुई चिजका भोका छन् । एक सम्पत्तिका, दोस्रो हो नामका । सम्पन्नता हासिल गरेसी मानिस नाम कसरी कमाउने भन्ने चिन्तामा हुन्छ । नाम अर्थात् पहिचान स्थापनाका लागि मानिसले विविध हर्कत गर्दै छ अहिलेको यो डिजिटल युगमा । तिनै हर्कत र विभिन्न विवादास्पद कामहरू गरेर मानिस अरुको ध्यान आफूतिर खिच्न चाहन्छ । हिजो कृष्ण क्राइस्ट बुद्ध र ओशोहरूले संसारको ध्यान आफूतिर खिचेकै हुन् र आजसम्म खिचिरहेकै छन् । हिजो र आजको प्रस्तुति फरक मात्रै हो । विश्वमा जति पनि आन्दोलन भए र हुनेछन् त्यो केवल ‘मलाई सुन मलाई हेर मलाई बुझ’ भन्ने अहंकार मात्रै हो । र यसै सिलसिलामा उनिएको थप एउटा अर्को आन्दोलन हो सहरकेन्द्रित आन्दोलन ‘मिटु’ । अन्यायमा स्त्री मात्रै होइनन् पुरुष पनि पर्छन् र परेका छन् भन्ने बुझाइको कमी छ हामीमा ।

५० डिग्री तातो अरबको मरुभूमिमा रोजगार गरेर कमाएको पैसाले काठमाडौँमा श्रीमतीका नाउँमा तीन आना घडेरी जोडेका थिए प्रेम खत्रीले । श्रीमतीप्रति यति विश्वास थियो कि आफ्नो ज्यानै बन्धकी राख्न परे पनि तयार थिए उनी त्यो जाबो घडेरी त के हो र ? चार वर्षको कमाइले जग्गा जोडे अब अरु तीन वर्ष खाडी मुलुक बसेर घर निर्माण गर्ने प्लान गरेर उनी पुन विदेश गए । गाउँमा थिइन् श्रीमती राम्रै थियो सुरक्षित थिइन् उनी । तर अलिक पैसा जम्मा गरेपछि सासुससुरासँग मिल्न सकिनन् । गाउँ छोडेर काठमाडौँ आइन् । जुन ठाउँमा घडेरी लिइएको थियो त्यही नजिक भाडामा कोठा लिइदिएका थिए प्रेमजीले । एउटा सानी छोरी थिइन् तिनलाई स्कुल भर्ना गरियो । धेरै महँगो स्कुलमा हाल्न सक्ने हैसियत थिएन । सरकारी स्कुलमा भर्ना गरेको कुरा सेयर गरिन् श्रीमान्लाई विदेशमा ।

जुन देशमा महिला राष्ट्रपति छिन्, जुन देशमा महिला न्यायाधीश भइन्, जुन देशमा माथिल्ला कानुन निर्माणका तहमा महिला पुगेका थिए र छन् त्यो देशमा महिलामाथि नै यति बर्बरता हुन नपर्ने हो तर महिलालाई नै शासनको बागडोर थमाउँदा समेत निर्मला पन्तहरू निस्साएर मरिरहेका छन् ।

एकातिर माथिल्लो तहमा र कानुन निर्माणका हैसियतमा रहेर पनि महिलाहरू आफ्नो कार्यकुशलता प्रदर्शन गर्नबाट चुकेकै हुन् त ? शासनको उपल्लो तहमा पुगेपछि समग्र महिला हकहित र सुरक्षाका समृद्धिका कुरालाई बिर्सिएर आफ्ना सुविधा मात्रै बढाउनतिर लाग्ने हो भने महिलालाई महिलाले नै घृणा गर्न थाल्छन् । पदमा पुगेपछि महल जोड्ने निजी सम्पन्नतातिर स्वार्थ जोड्ने करोडौँका विलासिताका कार जोड्नुमा ध्यान दिने हो भने के काम भयो र ?

महिला हिंसाको कुरा गर्दा किन हाम्रो समाज पुरुष हिंसाको कुरा गर्दैन ? महिला हिंसा अन्त्य गरौँ भन्ने स्लोगानसहितको कोटको खल्तिमाथि ब्याज भिरेर हिँड्ने ती पुरुषहरू आफैँ पनि कति प्रताडित छन् त महिलाबाट तिनले कहिले पनि आवाज उठाउनुसकेका छैनन् । हरेक दिन महिला सुरक्षाको बारेमा नयाँ–नयाँ कानुनको निर्माण र व्याख्या भइरहेको हुन्छ तर पुरुष ऊ आफैँ पनि कति निरीह छ यो कुरो उसले मौन भएर सहिरहेको छ । महिला हिंसाविरुद्धको ब्याच भिर्नु एउटा कुरा, महिलालाई सम्मान माया र सुरक्षा दिनु अर्को कुरा । हामी सधैँ महिलाको सुरक्षाको लागि चिन्तित रह्यौँ र उनीहरूलाई स्वतन्त्र बाँच्ने आधार निर्माणका लागि बाटो बनाइदिरह्यौँ । फलतः पुरुष अब विस्तारै महिला अधिनायकवादमा फस्न थालेको उदाहरण थुप्रै छन् ।

जसरी भए पनि महिला सुरक्षित हुनुपर्छ । जाबो नाथे पुरुष मरोस् कि बाँचोस् भन्ने कानुन ल्याउनुपर्छ भन्ने माग छ महिलावादी समूह र संघ संगठनका ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया