Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसामाजिक व्यवहारमा परिवर्तनको खाँचो

सामाजिक व्यवहारमा परिवर्तनको खाँचो


काठमाडौं । एक्काईसौँ शताब्दीको वर्तमान अवस्थामा समेत केही हदसम्म रुढिवादी परम्पराको अज्ञानतामा जकडिएको नेपाली सामाजिक परिवेशभित्र लोकतान्त्रिक यात्राको शुभारम्भको गति हासिल भइसके पनि तात्विक प्रभावसहितको सामाजिक विभेदकारी व्यवहारको अन्त्य भएको फरकपनको महसुस गर्न सकिएको अवस्था भने पक्कै पनि होइन । राज्यको तर्फबाट नागरिक समाजमा विद्यामान रहेको विभेदकारी रणनीतिक व्यवहारहरू न्यूनीकरणका लागि आवश्यक पर्ने नीति नियम एवं त्यससँग सम्बन्धित अन्य कानुनहरू समयसापेक्ष जुन रूपमा परिमार्जित–सशोधित हुनुपर्ने थियो त्यसमा आएको न्यूनताको कारण परिणामजनक नतिजा तथा न्यायपूर्ण समानता प्राप्तिको क्षेत्रमा समेत ढिलाइ हुन गएको मात्र हो ।

प्रस्तुत सन्दर्भमा नेपालको त, कुरै छोडौँ विश्वको मानवअधिकारको क्षेत्रमा अनगिन्ती अभ्यासहरू गर्दै आएका राष्ट्रमा समेत बेलाबखत अपत्यारिलो ढंगबाट विभेदकारी व्यवहारहरू हुनेगरेको तथ्य बाहिरिनुले समस्या सहजै समाधान हुन्छ भन्ने कुरामा आशंका उत्पन्न हुन गई द्विविधा कायम रहन जाने देखिन्छ ।

त्यसो भएको हुँदा सामाजिक व्यवहारको सुधारको नाममा सुरक्षित रणनीतिहरू अवलम्बन गर्दै न्यायपूर्ण समानता एवं सामाजिक विभेद उन्मूलनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरिएको छ भनिए पनि बेला–बखत नागरिक समाजमा बज्ने गरेका अन्यायका घण्टीहरूले पुरातन अहंकारवादी सोचको बाहुल्यता अध्यावधिक कायमै रहेको छ भन्ने कुराको झल्को प्रतिविम्बित हुँदै आएको पाइन्छ ।

नेपाली सामाजिक संरचनाको क्षेत्रमा हरेक दिन नयाँ र नौलो परिवर्तनको शंकघोष गर्न आजका युवापिँढी निरन्तर रूपमा लाग्दै आएका छन् । प्रस्तुत क्रमलाई निरन्तरता दिँदै नेपालजस्तो पितृसत्तात्मक सोचको अत्यधिकता कायम रहेको समाजमा अपवादबाहेक अन्य अवस्थामा श्राद्ध आदि पितृकर्मको लागि विगतदेखि वर्तमानसम्म पुरुष हैकमवादी समुदायको बाहुल्यता कायम रहेको तथ्यसँग हामी अनभिज्ञ रहेका छैनौं।

प्रस्तुत कार्यका लागि नारी समुदायलाई पृथक राख्न चाहने व्यवहारले निसन्देह सम्बद्ध पक्षको आत्मसम्मानमा हीनताभावले अभिप्रेरित हुने प्रबल सम्भावना रहन्छ । शास्त्रसम्मत हिसाबमा कुनै पनि भेदकारी रणनीति अख्तियारी गरिएको भने पाइँदैन । अतः परिवर्तित परिवेशमा नारी समुदायलाई पनि पुरुषसरह अन्य कर्ममा जस्तै पितृकर्मको लागि समेत हौसिने प्रवृत्तिको विकास गर्नसके यस क्षेत्रमा नौलो धार्मिक आन्दोलनको शुभारम्भको अनुभूति गर्न सकिनेछ । परिणामत : पुरुष प्रधानता एवं सामाजिक मूल्य मान्यतालाई चुनौती दिँदै परिष्कृत सामाजिक व्यवहारको चाहनाको कामना आधुनिक नेपाली समाजको रहेको छ भन्ने कुराको दृष्टान्त समेत प्रमाणित हुने अवस्था पैदा हुनेछ ।

नौलो एवं परिर्वर्तित परिवेशमा सूक्ष्म रूपमा भए पनि नारी सम्प्रदायबाट आरम्भ गर्न खोजिएको प्रस्तुत अदम्य साहसिक कार्यलाई प्रतिनिधिमूलक कार्यको रूपमा लिँदै सामाजिक उत्तरदायित्व वहन गर्ने क्षेत्रमा थप हौसला प्रदान गर्नसके नवीनताको अनुभव गर्न सकिनेछ ।

प्रस्तुत घटनाक्रमको विकासले नेपाली मृत्यु संस्कारसम्बन्धी कार्यमा पक्कै पनि प्रश्नचिह्न खडा गर्ने नै छ । अतः यस क्षेत्रमा हालसम्म कायम रहँदै आएको अनुत्तरित प्रश्नलाई पुनः एक पटक विश्लेषण तथा अध्ययन गर्नुपर्ने अवस्था पक्कै पनि सिर्जना हुनेछ । प्रस्तुत अवस्थापश्चात् पुरुष सम्प्रदायमा मात्र एकाधिकार कायम रहेको उक्त कार्यलाई नारी सम्प्रदायमा पनि प्रत्यायोजन गर्दै नेपाली सामाजिक मूल्य एवं मान्यतामा आधारित रहने गरी धार्मिक स्वतन्त्रताको पूर्ण प्रत्याभूतिसहितको सुरक्षाको ग्यारन्टी प्रदान गर्नु आजको सन्दर्भ अति नै आवश्यक भइसकेको छ ।

उक्त कदमप्रति धेरै हदसम्म नारी समुदाय सकारात्मक नै रहन्छन् भन्ने विश्वास लिन सकिन्छ । प्रस्तुत अवस्थापश्चात् यस सन्दर्भमा जोडिएको अनगिन्ती कानुनी प्रश्नहरू आफैँ निरूपरण हुनगई सामाजिक न्यायको कसीमा लैंगिक समानतासहितको परिवर्तनको सुखानुभूति अवश्य पनि प्राप्त हुने नै छ । साथै स्त्रीधन, तथा छोराको चाहनासम्बन्धी विषयलाई लिएर नागरिक समाजमा बेलाबखत उत्पन्न हुने आपराधिक गतिविधिलगायतका महिला हिंसाको क्षेत्रमा समेत अभूतपूर्व सफलता हासिल गर्न सकिनेछ । यसका अतिरिक्त हालसम्म कायम रहँदै आएको पुरातनवादी धार्मिक मूल्यमान्यतालाई एक्काईसौँ शताब्दीको परिवर्तित लोकतान्त्रिक नेपालको सन्दर्भमा पुनरावलोकन गर्नुपर्ने वा नपर्ने भन्ने अर्को महत्वपूर्ण सामाजिक प्रश्नको निरूपरणका लागि सर्वपक्षीय जनमतको अभिमत बुझ्नुपर्ने अवस्था तयार भएको हो कि ?

कायम रहँदै आएको पुरातनवादी धार्मिक मूल्यमान्यतालाई पुनरावलोकन गर्नु नपर्ने भए धर्मको आडमा गरिने अन्याय अत्याचार सहन गर्न आजका शिक्षित नारी बाध्य रहनुपर्ने हो त ? धार्मिक आधिपत्यता आधारमा जारी गरेको पुरातन धार्मिक मूल्य मान्यतालाई आत्मसात् गर्दै सोहीअनुरूप पिल्सिँदै जानु सामाजिक न्यायको कसीमा कतिको जायज छ ? प्रस्तुत यक्ष प्रश्नलाई आत्मसात् गर्दैै विवादरहित अवस्थामा पुरुषसरह महिलावर्गलाई पनि आफ्नो कुल परम्परा तथा धार्मिक आस्थाको आधारमा धार्मिक छुटको व्यवस्थाको लागि सहजीकरणको वातावरण तयार गर्न राज्यपक्ष तथा नागरिक समाज सदैव तयार रहनु आजको वास्तविकता हो ।

कट्टरपन्थी धार्मिक मूल्य मान्यताहरूलाई क्रमशः समयको गतिसँगै परिवर्तन गर्दै धार्मिक प्रजातान्त्रिक विचारको प्रादुर्भाव गर्न समक्ष रहे लिंगीय विभेदयुक्त व्यवहारमा समेत फरकपनको महसुस गर्दै महिलावर्गको आत्मसम्मानलाई सधैँ उचो राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्भव हुने देखिन्छ । जसको प्रत्यक्ष प्रभाव स्वरूप धार्मिक आडमा गरिने विभेदकारी गलत रणनीतिबाट नारी समुदायलाई अलग राख्दै निःशन्देह स्वतन्त्रताको प्रत्याभूति कायम रहन जानेछ ।

यसका अतिरिक्त पुरुष सम्प्रदायवाट गरिएको पितृत्व कर्मबाट मात्र मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक मान्यतामा समयानुकूल परिवर्तन आई महिलावर्गद्वारा गरिने धार्मिक आस्थामा समेत सुधार आउनेछ । जसबाट हालसम्म कायम रहँदै आएको पुरातन सोचाइमा निश्चित रूपमा परिवर्तन हुने अवस्था हुनेछ । प्रस्तुत अवस्थापश्चात् नेपालको लोकतान्त्रिक संविधानले अंगीकार गरेको धर्म निरपेक्षताको वास्तविक अनुभूति सम्पूर्ण नेपाली समाजले अवश्य पनि गर्ने नै छन् ।

सामाजिक व्यवहारको क्षेत्रमा कायम रहदै आएको संकीर्ण सोचको कारण नवीनतम परिवर्तनको अनुभव गराउन कठिनाइ उत्पन्न हुन गएको मात्र हो । परिणामतः सम्बद्ध क्षेत्रमा अघोषित रूपमा द्वन्द्व सिर्जना हुने अवस्था रहन्छ । यद्यपि कानुनी हैसियतमा राज्यले कुनै वर्ण, सम्प्रदाय वा लैंगिक आधारमा विभेदकारी रणनीति अवलम्बन गरेको छैन । अपवादबाहेक व्यावहारिक पक्षमा भने केही भिन्नता कायम रहेको देखिन्छ ।

केही दशक अगाडिको तुलनामा धेरै हदसम्म सामाजिक व्यवहारको क्षेत्रमा सुधार नआएको भने पक्कै पनि होइन । तथापि पूर्णरूपमा अन्त्य नभएको हँँुदा समयसापेक्ष सुधारका अनेकन उपायहरू अपनाउनु अत्यन्त जरुरी भइसकेको छ । जसको प्रत्येक्ष प्रभाव स्वरूप सामाजिक असमानताको अन्त्य हुने विश्वास लिन सकिनेछ । जसले विभेदरहित आदर्श समाज निर्माण गर्ने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ ।

विषेशगरी आम जनसरोकारका विषयसँग प्रत्यक्ष साक्षत्कार रहने प्रस्तुत सामजिक विषयवस्तुहरूमा समयमानुकूल परिवर्तन गरी सचेतता अपनाउन सकिएन भने हिंसात्मकताले प्रश्रय पाई आपराधिक क्रियाकलापको अभिवृद्धि हुने कुरालाई कुनै पनि हालतमा इंकार गर्न मिल्दैन । तसर्थ गलत क्रियाकलापबाट पृथक रहँदै सभ्य समाजको निर्माण गर्ने कार्यमा सकारात्मक सोचसहित अगाडि बढ्ने प्रण गरौँ । जसलाई जनहितकारी कार्यको अनुपम नमूना मान्न सकिनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया