Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थल धार्चे गाउँपालिका

ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थल धार्चे गाउँपालिका


(विश्वकै नवीन मौलिक संस्कृति : मकै विवाह) गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर–पूर्वी भागमा अवस्थित यो गाउँपालिका सदरमुकाम गोरखाबाट करिब ७२ किलोमिटर उत्तर–पश्चिममा पर्दछ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वशासित क्षेत्रसँग जोडिएको यो गाउँपालिका दक्षिणतर्फ आरुघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुम्ब्री गाउँपालिका र पश्चिममा बारपाकसुलिकोट गाउँपालिकासँग सिमाना जोडिएको छ । यो गाउँपालिका राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत् आयोजना तथा मनास्लु हिमाल र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारको रूपमा रहेको छ । साबिकका केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गरी छवटा गाविस मिलाएर सातवटा वडामा विभाजित यो गाउँपालिका छ सय ५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिको केन्द्र वडा नम्बर ५ माछिखोलामा रहेका छ ।

यस गाउँपालिकामा प्रकृतिका पुजारी आदिवासी जनजातिहरूको बाहुल्यता रहेको छ । यहाँका बासिन्दाले आफ्नो घरबाट बाहिर कतै प्रस्थान गर्ने बेलामा आफ्नो रक्षा एवं कार्यसिद्धिका लागि खोलानाला एवं डाँडाकाँडाको पूजा गर्ने चलन छ । यसरी पूजा गर्दा धर्च (कपडाको टुक्रा) ढुंगको देउरालीमा चढाउने वा काठको लठ्ठीमा बाँधेर गाड्ने प्रचलन रहेको छ । स्थानीय गुरूङ भाषामा ध्वजालाई धर्च र डाँडाकाँडालाई गाङ भनिन्छ । बोल्दै जाने क्रममा यही शब्द अपभ्रमित भई धार्चे डाँडा भन्ने प्रचलन रहेको भनाइ पाइन्छ । गोरखाका साबिकका १ नं इलाकाका छवटा गाविसहरू समायोजन गरी पुनर्संरचना गरिएको यस गाउँपालिका धार्चे डाँडाको नामबाट नामकरण गरिएको हो ।

सामुद्री सतहबाट तीन हजार चार सय ५० मिटर उचाइमा रहेको रुबीनाला ग्लेसियर, धार्चे गाउँपालिका, बारपाक सुलिकोट, गाउँपालिका र चुमनुम्ब्री गाउँपालिकाहरूको मात्र होइन समग्र नेपालकै पर्यटकीय स्थल हो । कम उचाइमा रहेको यो ग्लेसियर विश्वमै जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । त्यसैगरी यसै गाउँपालिका भएर पुगिने नेटुंगोमा रहेको एक सय आठ प्राकृतिक धारा सौन्दर्यताको दृष्टिले मात्र होइन पौराणिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । जिउँदै स्वर्ग जान हिँडेका पाण्डवहरूले यहाँ रहेको धारामा नुहाँएर नजिकै रहेको नेटुंगो गुफामा ध्यान गरेका थिए भन्न जनविश्वास प्रचलित छ ।

धार्चे गाउँपालिकाको विभिन्न स्थानहरूमा तातोपानीको मूलहरू रहेका छन् । विशेषगरी स्थानीय माछाखोला बजारसँगै बुढिगण्डकीको वारिपारि तथा माछाखोला बजारबाट २ घण्टाको दूरीमा रहेको तातोपानी कुण्ड धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहँदै आएको छ । यहाँ रहेका तातोपानीमा नुहाउँदा शारीरिक स्वास्थ सबल बन्छ भन्ने जनविश्वास पाइन्छ । धार्चे गाउँपालिका स्थित लापुबेँसीमा रहेको नौलेखोला झरनाको शिरमा रहेको नौलेखाला चिंगारलाई स्थानीयहरूले परम्परागत रूपमा दैविक शक्ति मानेर पूजाअर्चना गर्दै आएका छन् । विशाल प्रस्तरको यस चिंगर आफैँमा अद्भूत र रमणीय छ । यसलाई धार्चे गाउँपालिकाले शिवलिंगको रूपमा धार्मिक पहिचान प्रदान गरी एक तीर्थस्थलको रूपमा विकास गर्ने लक्ष्य आवश्यक छ । धार्चे गाउँपालिकाको धार्चेडाँडा यस भेगकै रमणीय स्थल हो ।

धार्चे गाउँपालिकाको शिरको रूपमा रहेको धार्चेडाँडा यस गाउँपालिकाको पहिचान मात्र होइन गरिमा र शोभा पनि हो । यो डाडाँसँगै आड लिएर कयौँ पानीका मूलहरू फुटेका छन् । चरिचरणको खर्क रहेको यो डाँडा सुन्दर मात्र छैन योसँग जोडिएर समग्र बस्तीहरूको जीवनचर्या धानिएको छ । प्राकृतिक र जैविक विविधताको केन्द्र धार्चेडाँडामा तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् । समथल पाटन र हरियाली जंगलहरू रहेको धार्चेडाँडा गुफाको दृष्टिले समेत महत्वपूर्ण छ । मनास्लु ट्रेकिङ, रुवीनाला ट्रेकिंग र गणेशमान ट्रेकिङको प्रवेशमार्ग रहेको धार्चेमा गाउँपालिकाले ट्रेकिङ रुटहरूको समेत विस्तार गर्न आवश्यक छ ।

प्राकृतिक सौन्दर्यता र विविधतासँगै परम्परागत संस्कृति पुरातात्वविक सम्पदा विभिन्न संरचनाले पनि धार्चे गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउनु पर्दछ । विनाशकारी भूकम्पपश्चात्को पुनर्निर्माणमा धार्चे गाउँपालिकास्थित लापुवेशीँको प्रभातकिरण माविको निर्माणमा बेलायती राजकुमार ह्यारीले २१ दिनसम्म बसेर श्रमदान गरेको स्थानीयहरू बताउँछन् । राजकुमारले देखाएको उच्च मानवीय गरिमा र सदासहायतालाई मनन गरी स्थानीयहरूले स्थानीय तम्बु डाँडालाई ह्यारी हिलको रूपमा नामकरण गरेको पाइन्छ । जसले विश्वबन्धुत्ता र भाइचारालाई जीवन्त बनाएको छ । यसले पर्यटकीय व्यवसायमा पनि ठूलो भूमिका खेलेको पाइन्छ ।

बाइसे चौबीसे राजाको पालामा राजकाज सञ्चालन हुने हालको धार्चे गाउँपालिकास्थित गुम्दा र लापुको सिमानामा रहेको भीरकोट, चार सय वर्षअगाडि मगर राजाहरूको दरबार रहेको काम्लाकोट, घले राजाहरूले राज्य गरेको भनिएको कुम्पाकोट तथा आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको एकीकरणभन्दा अगाडिसम्म छुट्टै राज्यको रूपमा रहेको खोर्लाकोटजस्ता पुरातात्वविक तथा ऐतिहासिक सम्पदाहरूले समेत धार्चे गाउँपालिका सम्पन्न छ ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राक गाउँको पुनर्निर्माणअन्तर्गत प्रवासी नेपालीहरूको संगठन एनआरएनले निर्माण गरेको नमूना गाउँ, दोस्रो विश्वयुद्धमा बेलायती सेनाको रूपमा युद्ध गर्दा वीरगति प्राप्त गरेका थमन गुरुङको सम्झानामा स्थापना गरिएको भीसी हिल पार्क, पश्चिमाञ्जलको पहिलो सगरमाथा आरोही इमान गुरुङको सम्झनामा निर्माण गरिएको इमान गुरुङ स्मृति पार्क, केरौँजाको यारु बगरको पहरामा पेजकिलाको साहाराले झुण्डिरहेको क्यान्टिलिवर पुल, खोर्लाबेँसीको पहरोमा खोपिएको बुद्धको मुर्तिलगायतका मानवनिर्मित सम्पदाहरूले पनि धार्चेको पृथकता र मौलिकतालाई प्रतिविम्बित गरिरहेको छ ।

सांस्कृतिक रूपमा पनि धार्चे गाउँपालिका महत्वपूर्ण छ । यहाँ मनाइने मकै विवाहले विश्वकै नवीन मौलिक संस्कृतिसँगै कृषिकर्मप्रति श्रद्धा र सम्मानलाई पनि अभिव्यक्त गर्दछ । मकै रोप्ने समय माघ र फाल्गुण महिनामा मनाइने मकै विवाहमा मकैको बीउ रोप्नुअगाडि धर्ति पूजालागायतका अन्य पूजाआजा र सांस्कृतिक कर्म गर्ने गरिन्छ । नेपाली समाजमा परिचित राम जानकी विवाहको जस्तो स्वरूप र प्रक्रिया देख्न पाइने मकै विवाहको आफ्नै मौलिक र धार्मिक मान्यता रहेको छ । चण्डी पूर्णिमा, दशैँ, तिहार, माघे संक्रान्ति, ह्लोसारलगायतका चाडपर्वहरू प्रमुख रूपमा मनाइने यहाँका समुदायहरूमा मारुनीलगायतका नाचहरू पनि प्रचलित छन् ।

यो गाउँपालिका २८ दशमलमव १३ सय ५७ डिग्री उत्तरी अक्षांश र ८४ दशमलव ५२ सय २८ डिग्री पूर्वी देशान्तरमा फैलिएको छ भने क्षेत्रफल छ सय ५२ किमि रहेको छ । समुन्द्र सतहदेखि छ सय ३० देखि सात हजार नौ मिटर उचाइमा रहेको छ । सातवटा वडा रहेको यो गाउँपालिका साबिकका १२ नं. इलाकाका केरौँजा उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गरी ६ वडा गाविस मिलेर पुनर्सरचना भएको हो । हालको घरधुरी सर्वेक्षणअनुसार घरधुरी तीन हजार नौ सय ३२ र जनसंख्या १८ हजार सात सय २४ रहेको छ । तथापि यस गाउँपालिकाको २ दशमलव १८ प्रतिशतको दरले जनसंख्या वृद्धि भएको देखिन्छ । यस गापामा वोन, बौद्ध, हिन्दु त्यसपछि क्रिश्चियन धर्मालम्बीहरू बसोबास गर्दछन् । बसोबासको हिसाबले हेर्दा ८३ दशमलव ९ प्रतिशत गुरुङ, ११ प्रतिशत घले, ४ दशमलव ९ प्रतिशत विश्वकर्मा र बाँकी शून्य दशमलज २ प्रतिशत अन्य जनजातिका मानिसहरू बसोबास गर्दछन् ।

पेसागत हिसाबले लगभग ४०, कृषि, २३ ज्याला मजदुरी, २२ दशमलव ५ प्रतिशत विद्यार्थी, ७ दशमलव ५ प्रतिशत वैदेशिक रोजगारी र बाँकी अन्य पेसामा संलग्न देखिन्छ । भू–उपयोगको स्थिति हेर्दा कृषि जमिन ९ दशमलव ८३ प्रतिशत, वनले ढाकिएको क्षेत्रफल ३६ दशमलव ६७ प्रतिशत, घाँसे तथा झाडी २० प्रतिशत, बाँझो तथा चटानयुक्त जमिन ३० दशमलव ३८ प्रतिशत, हिउँले ढाकिएको क्षेत्रफल २ दशमलव ५३ प्रतिशत र बाँकी तालतलैया आदि रहेको छ । यस गाउँपालिकामा जडिबुटी संंकलन तथा बिक्री जनजीविकाको आधार रहँदै आएको छ । यहाँ कुट्की, चिराइतो, जटामसी, सुतुवा, निर्मसी, पदमचाल, वनलसुन, यार्सागुम्बा, पाँचऔँले, सिलाजितजस्ता जडीबुटी पाइन्छ । धार्चे गाउँपालिका प्रकृति र संस्कृतिको सुन्दर संगमस्थल हो । प्रकृति र संस्कृतिको यो सामथ्र्यलाई स्थापित गर्न प्रकृति र संस्कृतिको खुला संग्रहालय धार्चे भन्ने पर्यटन ब्रान्ड नै तय गरिएको पाइन्छ ।

विश्वमा सूचना र संचारको जगतमा एक्काईसौँ शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकाशोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको क्षेत्र हिन्दु तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्रामस्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुुदायको साझा फूलबारी हो ।

यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण धार्चे गाउँपालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवंं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू गाउँपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, धार्चे गाउँपालिका क्षेत्रको लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरगाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । धार्चे गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस धार्चे गाउँपालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि एवं धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विषयमा लामो अध्ययन अनुसन्धान कर्ता हुन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया