Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपुँजीबजारमाथि बेला–बेलामा हुने प्रहार र यसको असर

पुँजीबजारमाथि बेला–बेलामा हुने प्रहार र यसको असर


काठमाडौं । नेपालको सेयरबजारमा बेला–बेलामा विभिन्न निकायहरूले प्रहार गर्ने गरेका छन् । यस कारणले पनि नेपालको सेयरबजार बेला–बेलामा तरंगित हुन्छ । त्यसो त सेयरबजारमा प्रहार गर्ने भनेको नै नियामक निकायहरू, राज्य, सरकार, राजनीतिक दलहरूले नै हो भन्दा पनि फरक नपर्ला । कहिलेकाहीँ सेयरबजारले हल्लाको प्रहार पनि सहन पर्ने हुन्छ । कहिले देशमा भएको द्वन्द्व, कहिले राजनीतिक गठबन्धनले, कहिले अर्थमन्त्रीको विवादास्पद तर्कले, कहिले लाभकरले, कहिले नियामक निकायहरूको नीति नियमले सेयरबजारमाथि प्रहार गर्नेगरेका छन् ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको चार र १२ करोडको कुराले तर्साइदियो । नेपाल राष्ट्र बैंकको २०७८/७९ को मौद्रिक नीतिमा सेयर कर्जामा चार करोड र १२ करोडको ट्याग लगाइदिएको थियो । यसले गर्दा सेयरबजार ओरालो लागेको भनाइ लगानीकर्ताहरूको धारणा छ । त्यसो त पछिल्लो समयमा चार र १२ करोडको त्यागलाई लगानीकर्ताहरूले पचाइसकेका थिए । तर पनि कतिपय लगानीकर्ताहरू मौद्रिक नीतिको त्रैमासिक समीक्षामा यो ट्यागलाई हटाउँछ कि भन्ने आशमा रहेका थिए । तर त्यसो भने हुन सकेन । ४ र १२ करोडको ट्याग यथावत नै रोखेको छ नेपाल राष्ट्र बैंकले । तर यसले सेयरबजारलाई केही असर नगर्ने र बजार आफ्नो लयमा फकर्ने र त्यो ट्यागमा अलमलिरहन नहुने सरोकारवालाहरू बताउँछन् ।

सेयरबजारमा पहिरो जाने भनेकै नियामक निकायहरूको नीति नियम, सरकार, राज्य र राजनीतिक कारणले हो भन्दा पनि फरक नपर्ला । विगतमा पनि त्यसबेलाको माओवादीले जनयुद्धको नाममा गरेको द्वन्द्वको कारणले सेयरबजार लगभग ध्वस्तजस्तै ने भइसकेको थियो । त्यसपछि त्यसबेलाको नेकपा माओवादीको सरकारको पालामा त्यसबेलाका विद्वान् अर्थमन्त्री बाबुराम भट्टराईले सेयरबजारलाई जुवा भनेपछि सेयरबजारमा पहिरो नै गएको थियो । त्यसपछि सेयरबजार ट्र्याकमा आउन पाँच वर्षभन्दा बढीको समय लागेको थियो । त्यसैगरी नेकपाको केपी ओली नेतृत्वको सरकारको पालामा अर्थमन्त्री बनेका विद्वान् अर्थविद् डा. युवराज खतिवडाले सेयरबजारलाई अनुत्पादक क्षेत्र भनेकोले सेयरबजार ओरालो लागेको थियो  ।

सेयरबजारलाई सेयरबजारको रुपमा मात्र सरकारले लिन हुँदैन । नेपालको सेयरबजारमा ४६ लाखभन्दा बढी लगगानीकर्ताहरूको भविष्य र सपना जोडिएको छ । पछिल्लो समयमा ४६ लाखभन्दा बढी लगानीकर्ताहरू डिम्याटमा आइसकेका छन् भने अनलाइनबाट सेयर कारोबार गर्नेहरू नै ११ लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् । यसमा सम्पन्न वर्ग मात्र हुने होइन दुर्गमका विपन्न वर्गहरूदेखि मध्यम वर्गका लगानीकर्ताहरूले आफूले मिहिनेतले जोडेको कमाइले सेयर किनेका छन् ।

सेयरबजार भनेको देशको अर्थतन्त्रको एउटा पाटो हो । सरकार र नियामक निकायहरूले कुनै पनि निर्णय गर्दा नीति नियमहरू बनाउँदा हचुवाको भरमा लाद्न भएन । सेयरबजारलाई विकास, विस्तार र गतिशील बनाउने दायित्व राज्य सरकार र नियामक निकाययहरूको पनि हो । पछिल्लो समयमा सेयरबजार निरन्तर ओरालो लाग्ने क्रममा छ  । ३२ सय अंक पार गरिसकेको नेप्से घट्दो क्रममा छ ।

त्यसो त सेयरबजारका कतिपय लगानीकर्ताहरू डराउने आत्तिने गर्र्छन् । नेप्से अलिकति घट्दैमा भोलि फेरि घट्छ कि भनेर डराएर घटेको मूल्यमा पनि सेयर बिक्री गर्न हतारिन्छ । सेयरबजार भनेको सधैँ एकनासले जाँदैन । नेप्से घटेपछि बढ्छ पनि बढेपछि घट्छ पनि । सेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरू सेयरबजारप्रति जानकार हुन आवश्यक छ ।

सेयरबजारसम्बन्धी आधारभूत ज्ञान हुन जरुरी छ । सेयरबजारका सबै लगानीकर्ताहरू सचेत हुन जरुरी छ । त्यस्तै कतिपय लगानीकर्ताहरू हल्लाको पछि अरुको लहलहैमा नै सेयर खरिदबिक्री गर्ने गरिरहेका पनि छन् । त्यसो त सेयर कारोबारले सधैँ फाइदा मात्र पनि दिने होइन । कहिलेकाहीँ घाटा पनि व्यहोर्नु पर्ने हुन्छ । यसमा लाग्नेहरूले सुझबुझका साथ सही समयमा सही भाउमा सही कम्पनीहरूको सेयरहरू खरिदबिक्री गरेमा बढी फाइदा लिन सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया